सुत्केरीको मृत्युु

उपचार नपाउँदा एक जना सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–५ की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बेहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी आउनेवित्तिकै आफूहरूले हवाई उद्धारका लागि सुरुमा मौखिक र पछि लिखित जानकारी गराएको बताए ।

‘तत्काल हेलिकोप्टर नपुग्दा उद्धार गर्न सकिएन । उपचार नपाएर उहाँको मृत्यु भयो,’ प्रजिअ शिवाकोटीले भने । सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र हेलिकोप्टर आउन ढिलाइ हुनुले पनि उद्धारमा समस्या भएको उनले जनाए ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार ०६:००