‘कर्णाली चिन्ने र चिनाउने उत्सव’
कुराकानी
ऋति फाउण्डेसनको आयोजनामा यही फागुन २६ देखि २९ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव हुँदैछ । यो उत्सवको दोस्रो संस्करण हो । गत वर्ष पहिलो संस्करण पनि सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले उद्यानमा सम्पन्न भएको थियो । विभिन्न विषयमा सार्वजनिक छलफल र विमर्श गर्ने उत्सवको तयारी र यसको उद्देश्यलगायतका विषयमा हाम्रा सहकर्मी सीता वलीले उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालसँग गरिएको कुराकानीः

- कर्णाली उत्सवको मिति नजिकिँदैछ, तयारी कस्तो भइरहेको छ ?
केही महत्वपूर्ण कामहरू सम्पन्न भइसकेका छन्, केही बाँकी छन् । अहिले बाँकी रहेका कामहरूमै हामी लागिरहेका छौं । छलफलका लागि तय गरिएका १४ वटा सेसनका वक्ताहरू छनौटको काम अन्तिम चरणमा पुगेको छ । यसबाहेक अन्य व्यवस्थापनका कामहरू पनि धमाधम भइरहेका छन् ।
- उत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
सामान्यतया उत्सव आयोजना गर्नुको दुईवटा उद्देश्य छन् । एउटा कर्णालीलाई आफूले चिन्ने, अर्को अरुलाई चिनाउने । कर्णालीलाई सधंै दरिद्रताको दृष्टिकोणबाट हेरिएको थियो । हामीसँग भएको सम्भावनालाई पहिचान नगरी मागीखानेका रूपमा कर्णालीलाई चिनाइएको अवस्थामा कर्णाली वास्तवमा के हो ? यहाँको सम्भावना के छ त ? भन्ने विषयमा जान्नु जरुरी छ । कर्णाली उत्सव बौद्धिक सम्मेलन भएको कारण यसले कर्णालीलाई चिन्ने र चिनाउने काम गर्नेछ ।
कर्णालीको आफ्नै वैभव छ । नेपाली भाषाको उद्गमस्थल हो, थुप्रै प्राचीन सभ्यताहरू यहाँ छन् र स्रोतसाधनले धनी प्रदेश कर्णाली हो भनेर चिनाउनु छ । काठमाडौंको आँखाले हेर्दा कर्णाली कमजोर देखिएको हो । जब हामी कर्णालीकै आँखाले कर्णालीलाई हेर्छौं तब यहाँ सभ्यताको खानी छ । सम्भावना नै सम्भावनाले भरिएको छ । कर्णालीलाई कर्णालीकै आँखाले हेर्ने बौद्धिक व्यक्तिहरूको जमघट र बहस उत्सवको उद्देश्य हो । पहिला कर्णालीलाई आफूले चिनौं र अरुलाई चिनाउ भन्ने उद्देश्य उत्सवको हो ।
- गतवर्ष पहिलो संस्करण गर्नुभएको थियो, त्यसबाट अपेक्षित उद्देश्य हासिल भयो ?
गतवर्ष हाम्रो पहिलो संस्करण भएको कारण केही चुनौती थिए । कार्यक्रमको उद्देश्य हासिल भन्दा पनि सफल भइने हो कि होइन, आर्थिक व्यवस्थापन र वक्ता ल्याउने कुरा प्रमुख चुनौतीका रूपमा रहे । हामी उद्देश्य हासिल गर्ने भन्दा पनि कार्यक्रम सम्पन्न गर्नेतर्फ केन्द्रित भयौं । गतवर्ष कर्णाली उत्सव सबैका लागि नौलो थियो । यो बौद्धिक सम्मेलन हो । यो बुझाउने चुनौती पनि थियो । त्यसैले कार्यक्रमबाट अपेक्षित उद्देश्य हासिल गर्ने कुरा सम्पन्न भएपछि विश्लेषण गर्दा उद्देश्य पुरा भएको देखियो । हामीहरूले ‘खसका खासखुस’ भन्ने सेसन गरेका थियौं । कर्णाली प्रदेश सरकारले यो वर्षदेखि खस भाषाको शब्दकोश तयार गर्दैछ । त्यस्तै कर्णाली डिजिटल प्रदेशको कुरा पनि हामीहरूले गरेका थियौं जसलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यको थालनी गर्दैछ । यी कुराहरूलाई मूल्याङ्कन गरी हामीहरूले उपलब्धीको केही अंश मानेका छौं । अब दोस्रो संस्करणमा हामीहरूले बहस गरेका विषय र प्राप्त भएका उपलब्धिको विषयमा मूल्याङ्कन गर्नेछौं । सबैभन्दा महŒवपूर्ण कुरा त कर्णाली प्रदेश सरकारले कर्णाली उत्सवलाई चिन्यो र यसको महŒव बुझ्यो ।
- दोस्रो संस्करणमा पहिलेभन्दा के नयाँ गर्दै हुनुहुन्छ ?
यस पटक एक दिन कार्यक्रम उद्घाटन मात्रै राखेका छौं । जसले गर्दा अन्य तीन दिन निरन्तर छलफलहरू सञ्चालन गर्न सहज हुनेछ । फागुन २६ गते बिहान साइकल ¥याली गरेर दिउँसो दुई बजे कर्णाली उत्सवको उद्घाटन गर्ने तयारी गरेका छौं । त्यसको भोलिपल्ट २७ गतेदेखि २९ गतेसम्म लगातार हाम्रा विभिन्न सेसनहरू सञ्चालन हुनेछन् ।
विषयवस्तुहरू त लगभग पहिलेकै जस्तै हुन् । तर हामीहरूले यस पटक उत्सवलाई वर्षैभरी सञ्चालन गर्न सकिन्छ कि भनेर भू–उपग्रह सत्र अर्थात् प्रत्येक जिल्लाहरूमा गई कर्णाली उत्सवका सेसनहरू सञ्चालन गर्ने कि भन्ने सोचेका छौं । अर्को कुरा ‘पैकालोको कथा’ अर्थात् जसले कर्णालीका लागि राम्रो काम गरेको छ र उसको कुरा बाहिर आएको छैन भने उसको कथा समेत समेट्ने तयारी गरेका छौं । संघीयताको अनुभव साट्ने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश नं. २ का मुख्यमन्त्रीसमेत रहनुहुनेछ । यो वर्ष महामारीको एउटा सेसन समेत हुनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष केही फरक त हुन्छ नै किनभने यो पटक हामीहरू अलि पहिलेदेखि नै कार्यक्रमको तयारीमा जुटेका छौं । पहिलो वर्ष कर्णाली उत्सव नौलो थियो । यो वर्ष धेरैले उत्सवको विषयमा बुझिसक्नुभएको छ ।
- कर्णालीबारे विमर्श गर्नैपर्ने त्यस्ता कुन–कुन विषय छन्, जुन उत्सवमा छलफल हुनेछन् ?
कर्णालीबारे विमर्श गर्नैपर्ने थुप्रै विषयहरू छन् । जसलाई हामीहरूले कर्णालीको अभिव्यक्तिका रूपमा बुझेका छौं । कर्णालीको सम्भावना र चुनौतीका विषय छलफलमा समेटिनेछन् । कर्णालीलाई अरुले हेर्ने नजर र वास्तवमै कर्णाली के हो ? कर्णालीको सम्भावना के छ ? भन्ने विषयमा समेत छलफल हुनेछ । जसमा हामीहरूले १४ वटा विषयलाई समेटेका छौं, राजनीति, आर्थिक, सामाजिक, पर्यटन, आर्थिक, महिला र बालबालिका, भाषा, साहित्य, लगानी, सुशासन, स्वास्थ्य, शिक्षा सबै विषयहरू विमर्श हुनेछन् ।
- यस्ता सार्वजनिक विमर्शका कार्यक्रमले समाज वा नीति निर्माणको तहमा के प्रभाव पार्छ ?
विशेषतः सार्वजनिक विचार निर्माणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्छन् । कर्णाली उत्सव एउटा बौद्धिक सम्मेलन हो, विचारको उत्सव हो । जबसम्म सार्वजनिक विचार निर्माण हुँदैन तबसम्म कसैको ध्यान जाँदैन । विचार निर्माण भएपछि आलोचनाहरू जन्मन्छन् र नीति निर्माण तहको ध्यान जान्छ । सार्वजनिक विचार जन्मिएकै आधारमा नीतिको निर्माण हुन्छ । समस्याको पहिचान र समाधानको उपायको खोजीमा यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्दछन् ।
- अन्तमा केही भन्न चाहनुहुन्छ ?
कर्णालीलाई चिन्ने र चिनाउने कुरामा हामी सबै जुटेका छौं । विशेषतः कर्णाली प्रदेश सरकारले ठूलो सहयोग पु¥याएको छ । कर्णाली बाहिर बसेर पनि कर्णालीलाई माया गर्ने अन्य धेरै साथीहरू यसमा जोडिनुभएको छ । यो समग्र कर्णालीकै कार्यक्रम हो । त्यसैले सबैलाई यसमा जोडिन, सहभागी हुन हार्दिक अपिल गर्दछु ।
यो खुल्ला छलफल भएकोले सबैलाई खुल्ला निमन्त्रणा छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका यो कार्यक्रमको प्रवद्र्धक पनि हुन् । वास्तवमा यस्ता कार्यक्रमहरू सरकारले नै गर्नुपर्ने हो । यो कुनै गैरसरकारी संस्थाले आयोजना गरेको भन्दा पनि कर्णालीबासीको साझा कार्यक्रम हो ।
प्रकाशित मितिः १५ फाल्गुन २०७७, शनिबार ११:०८
साझा बिसौनी ।