संसद् विघटनको विरोधमा प्रदर्शन

प्रतिनिधिसभा (संसद्) विघटनको विरोधमा कर्णालीका पत्रकारहरूले विरोध र्‍याली गरेका छन् । प्रदेशका विभिन्न ८ वटा पेसागत संगठनहरूले आइतवार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो । ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्डसमेत प्रर्दशन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै त्यसको विरोधमा संयुक्त र्‍याली गरिएको जनाइएको छ ।

कोणसभालाई प्रेस संगठनका ध्रुवविक्रम बुढाथोकी, सइन्द्र राई, बलराम थापा, प्रेस युनियनका शिव लम्साल, कमल पन्त लगायतले सम्बोधन गरेका थिए । उनीहरूले पत्रकार सम्बद्ध पेसागत संगनठहरू एकठाउँमा उभिएर सरकारको असंवैधानिक र प्रेस स्वतन्त्रता विरोधी कदमविरुद्ध आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७७, सोमबार ०९:१७