‘संघीय गणतन्त्रको जग जनयुद्ध’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० वर्षे जनयुद्धको जगमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना भएको बताएका छन् । मुख्यमन्त्री शाहीले २६औँ जनयुद्ध दिवसको शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले जारी गरेको शुभकामना सन्देशमा जनयुद्ध नै संघीय गणतन्त्रको आधार भएको उल्लेख छ ।
मुख्यमन्त्री शाहीले जनयुद्धका उपलब्धिहरूमाथि प्रश्न गर्नेप्रति सचेत रहनुपर्ने बताएका छन् । ‘महान जनयुद्धका कारण प्राप्त राजनीतिक उपलब्धिहरूको उपभोग गर्ने तर, जनयुद्धलाई अस्वीकार गर्ने, यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिप्रति सचेत रहन आवश्यक छ,’ उनले विज्ञप्तीमा भनेका छन् ।
उनले जनयुद्ध, जनआन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो जीवनको आहुती दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते, बेपत्ता तथा अपाङ्गता बनेका योद्धाहरूको उच्च सम्मान रहेको जनाएका छन् । तत्कालीन जनयुद्धले गाउँ–गाउँमा राजनीतिक जागरण ल्याएको भन्दै उनले त्यसकै उपलब्धीको रूपमा आज मुलुकका सबै निकायमा समानुपातिक समावेशिता कायम भएको बताएका छन् । मुख्यमन्त्री शाही जनयुद्ध दिवसको अवसरमा आयोजित विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन शनिवार गृह जिल्ला कालिकोट पुगेका थिए ।
प्रकाशित मितिः २ फाल्गुन २०७७, आईतवार ०८:५०
साझा बिसौनी ।