पिपलबोटको साधारणसभा साताव्यापी

वीरेन्द्रनगर–४ को पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा मनाइरहेको छ । आइतवारदेखि सुरू भएको सभा आगामी शनिवारसम्म सञ्चालन हुनेछ । साताव्यापी रूपमा सभा सञ्चालन हुनेगरी उद्घाटन तथा सदस्यता उपस्थिति खुल्ला गरिएको संस्थाले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन यस वर्षको वार्षिक साधारणसभा चरणबद्ध रूपमा सञ्चालन गरिएको हो । आइतवार साधारण सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पिपलबोटले बचत तथा ऋण परिचालनका क्षेत्रमा प्रशंसायोग्य काम गरेको बताइन् । उपप्रमुख ढकालले सहकारी संस्थाका नीतिगत अप्ठेराहरूलाई सहजीकरण गर्न आफ्नो तहबाट पहल गर्ने प्रतिबद्धता जनाइन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सदस्यको उपस्थितलाई व्यवस्थित बनाइएको संस्थाका प्रबन्धक रमेश खनालले बताए । उनका अनुसार मंसिर २१ देखि २५ गतेसम्म उपस्थिति खुला तथा सुझाव संकलन गर्ने, २६ गते प्राप्त सुझावमाथि विस्तारित मञ्चमा छलफल र २७ गते निर्णय प्रमाणीकरणसँगै साधारणसभा समापन गरिनेछ ।

संस्थाका अध्यक्ष टेकराज कोइरालाले सभा समापन कार्यक्रममा सदस्यको सहभागिताका लागि वैकल्पिक माध्यमको प्रयोग गरिने बताए । फेसबुक पेज, टेलिभिजनबाट लाइभ र जूम एप लगायतका भर्चूअल माध्यमबाट सदस्यको सहभागिता गराउन लागिएको हो ।

प्रकाशित मितिः   २३ मंसिर २०७७, मंगलवार ०८:२८