सहकारी एकीकरणको लहर

एकीकरणपश्चात् वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरू ।

छरिएर रहेका सहकारी संस्थाहरू एकीकरण हुन थालेका छन् । कार्यक्षेत्र फराकिलो गराउन, पूँजि र सदस्यता वृद्धि गर्न तथा भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाहरू धमाधम मर्ज गर्न थालिएको हो । एकै प्रकृतिका, सानो पूँजी र थोरै सेयर सदस्य रहेका सहकारीको एकीकरणमा आर्कषण बढेको छ । सरकारले समेत सहकारी संस्थाहरूको एकीकरणलाई जोड दिएपछि सुर्खेतमा सहकारी एकीकरणको लहर चलेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्लो समय सुर्खेतका ११ वटा सहकारी मर्ज भएका छन् । भेरीगंगा नगरपालिकामा रहेका चार वटा सहकारी एकीकरण गरी एउटा सहकारी बनाइएको छ । गंगामाला, प्रभात महिला, दिगो शान्ति नवज्योति र शान्तिनगर बचत तथा ऋण सहकारी संस्थाहरूबीच एकीकरण भइ गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण पछि ६ हजार सात सय सदस्य पुगेका छन् भने सहकारीको कूल पूँजि साढे ३६ करोड भएको छ ।

संस्थाका अध्यक्ष यज्ञ ढकाल संस्थालाई बलियो, सुदृढ र दिगो गराउन एकिकरण गरिएको बताउँछन् । पूँजि वृद्धि गरी सदस्यहरूलाई थप सुविधा प्रदान गर्न सकिने भएकाले पनि एकीकरणमा जोड दिइएको उनले बताए । ‘हामी छरिएर रहेका सहकारी एक भएर दीर्घकालीन रूपमा संस्थालाई बलियो बनाउने उद्देश्यले मर्ज भएका हौँ,’ उनले भने । एकीकरण भएसँगै अब विभिन्न सेवा केन्द्रहरूमार्फत सहकारीका गतिविधि अघि बढाउने उनको भनाइ छ । भर्खरै मर्ज भइ बनेको गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाले कृषि र पशुपालनका क्षेत्रमा सहुलियतमा ऋण उपलब्ध गराइ कृषकहरूको आय–आर्जनमा वृद्धि गर्ने योजना बनाएको छ ।

यस्तै, वीरेन्द्रनगर बचत तथा ऋण, पञ्चज्योति बचत तथा ऋण, जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था र आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था एकीकरण भइ वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था भएको छ । उक्त सहकारीमा १३ हजार पाँच सय ८५ सदस्य संख्या पुगेको छ । सहकारीको कूल पूँजी ५९ करोड ९१ लाख ८१ हजार ६ सय ५६ रूपैयाँ बराबर छ । संस्थाका प्रबन्धक छत्र थापाले सहकारीलाई बलियो गराएर अघि बढाउन एकता गरिएको बताए । ‘सरकारको नीति सहकारीहरू एकीकरण हुनुपर्छ भन्ने छ । हामीले पनि एकीकरण गर्दा संस्था थप बलियो र दिगो हुने देखेकाले एकता गरेका हौँ,’ उनले भने ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकामा तीन वटा सहकारीले एकता गरी नयाँ सहकारी बनाएका छन् । जनजागरण, नमुना र जीवन सहारा बचत तथा ऋण सहकारी संस्था एकीकृत भइ शुभ बचत तथा ऋण सहकारी संस्था बनाइएको हो । सदस्य संख्या र पूँजी न्यून भएका ती सहकारीहरू मर्ज पश्चात तीन हजार एक सय सदस्य र २० करोड पूँजी पुगेको छ । गुर्भाकोटमा यसअघि २०७५ मा जनहित, जनसेवा र जागरण महिला सहकारी संस्था एकीकृत भइ जनजागरण बचत तथा ऋण सहकारी बनेको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालयका निमित्त रजिष्ट्रार खेमराज आचार्यले ११ वटा सहकारी दर्ता एकीकरण भएको बताए । उनका अनुसार यी सबै सहकारी सुर्खेतमा सञ्चालित हुन् । अहिले सुर्खेतमा कार्यक्षेत्र रहेका सहकारीले मात्रै एकीकरण गरेको भए पनि प्रदेशका अन्य जिल्लामा सञ्चालित संस्थाहरूले पनि एकीकरणमा रूची देखाएको बताइएको छ । निमित्त रजिस्ट्रार आचार्यले प्रदेशमा सहकारी एकीकरणको सुरुआत भएको जनाए । एकीकरणले सहकारीहरूलाई अझै मजबुत गराउँदै लैजाने उनी बताउँछन् ।

ठूलो सहकारी हुँदा समुदायमा समेत सेवा दिन सहज हुने भएकाले सहकारीहरूको एकीकरणमा आकर्षण बढेको हो । ‘अधिकांश सहकारीले पूँजि जुटाउन सकेनन् । सदस्यहरूलाई सुविधा दिन कठिन भयो,’ निमित्त रजिस्ट्रार आचार्य भन्छन्, ‘एक हुँदा पूँजि बढ्छ । सेवा विस्तार गर्न सकिन्छ ।’ एकीकरणले दोहोरो सदस्यताको समस्या समेत हटेर जाने उनले बताए । एकीकरण हुँदा सहकारी अभियानलाई अघि बढाउन समेत सहयोग मिल्ने अपेक्षा यस क्षेत्रका अभियन्ताहरूको छ । रजिस्ट्रार कार्यालयले पनि नयाँ सहकारी दर्ताभन्दा एकीकरणलाई प्राथमिकता दिएको छ । कार्यालयले एकीकरणबारे सहकारीहरूलाई परामर्श र सहजीकरणको काम गर्दै आएको छ ।

कर्णाली प्रदेशमा हाल प्रदेश अन्र्तगत तीन सय १४ वटा सहकारी संस्था छन् । तीमध्ये कतिपय संस्था निष्क्रिय छन् । प्रदेश मातहत रहेका सबै सहकारीको अवस्था बुझ्ने र सञ्चालनमा समस्या देखिएका संस्थालाई एकीकृत गरी अघि बढाउने काम थालिएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०७७, आईतवार ०६:०२