जोखिमरहित पढाइ

कोरोना कहरले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्था नियमित सञ्चालनको तयारीमा छन् । केही स्थानमा विद्यालयहरू यसअघि पनि आंशिक रूपमा सञ्चालन भएका थिए तर अधिकांश विद्यालय बन्द नै छन् । सरकारले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएपछि अबभने शैक्षिक गतिविधि अघि बढाइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) कहरकैबीच कर्णाली प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर कक्षा सञ्चालन गर्ने तयारी समेत थालिसकेका छन् । कोरोनाका कारण चैतदेखि बन्द रहेका विद्यालय अब भने पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो ।

विश्वव्यापी बनेको कोरोना महामारीको सबैभन्दा लामो र ठूलो मारमा परे विद्यालय । संक्रमणको जोखिम बढी हुने भएकाले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गर्न रोक लगाइयो । बीचमा केही समय कतिपय विद्यालयले भर्चूअल र भौतिक रूपमै उपस्थित गराएर पनि पठनपाठनको प्रयास गरेका थिए । यसरी सञ्चालन गरिएका शैक्षिक गतिविधि प्रभावकारी हुन सकेको थिएन । तर अबदेखि सरकारले सबै विद्यार्थीहरूलाई भौतिक रूपमै उपस्थित गराएर पठनपाठन गर्न भनेको छ  । स्थानीय तहलाई नै विद्यालय सञ्चालनको जिम्मेवारी दिएपछि जोखिमको आकलन तथा सतर्कता अपनाएर पढाइ सुरू गर्न लागिएको हो । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका सबै विद्यालय सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । विद्यालय सञ्चालनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएकाले प्रदेशले आवश्यक समन्वय गर्ने छ ।

अधिकांश विद्यालय आज (आइतवार)देखि नियमित सञ्चालनमा आउँदैछन् । विद्यालय सञ्चालन हुनु सुखद् कुरा हो । तर अर्कोतर्फ कोरोनाको जोखिम भने कायमै छ । हुम्लामा यसैसाता विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई कोरोना संक्रमण देखियो । एउटै विद्यालयका ५१ जनालाई संक्रमण देखिएपछि बिहीवारदेखि जिल्लाका सबै विद्यालय बन्द गरिएको छ । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएको हो । लामो समयदेखि बन्द भएका त्यहाँका विद्यालय कार्तिकदेखि सञ्चालनमा आएका थिए । यही जोखिम अन्य विद्यालयहरूमा पनि हुनसक्छ । त्यसैले उच्च सतर्कता र सावधानी अपनाउन जरूरी भएको छ । यसतर्फ सम्बन्धित निकायको उचित ध्यान पुगोस् ।

अब पनि विद्यालय बन्द गरिराख्नु उचित छैन । त्यसैले पठनपाठन कार्य सञ्चालन गर्नैपर्ने हुन्छ । तर यसका लागि विद्यालयको वातावरण सुधार उत्तिकै जरुरी छ । बनाइएको मापदण्डको पालना अनिवार्य छ । स्वास्थ्य सावधानी अपनाउनु अपरिहार्य हुन्छ । कतिपय विद्यालयहरूमा विद्यार्थीको संख्या उल्लेख्य छ । त्यस्ता विद्यालयहरूले भौतिक दूरी कायम गरेर पठनपाठन सञ्चालन गर्न सक्छन् या सक्दैनन् भन्ने सवाल उत्तिकै महŒवपूर्ण छ । त्यसैले अन्य आधारभूत सतर्कताका साथसाथै विद्यार्थीहरूको उपस्थितिमा हुने भीडभाड र त्यसले निम्त्याउने जोखिम कम गर्न पनि ध्यान दिनुपर्दछ । यसका लागि विद्यार्थी संख्याका आधारमा फरक–फरक समय तालिका बनाएर पनि पढाउने सकिने विकल्प जोखिमरहित हुनसक्दछ ।

प्रकाशित मितिः   ७ मंसिर २०७७, आईतवार ०६:०१