१९ जना संक्रमित थपिए

कर्णालीमा शुक्रवार थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन जिल्ला दैलेख, जुम्ला र सल्यानमा कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् ।

दैलेख जिल्ला अस्पतालमा गरिएको आरटी–पीसीआर परीक्षणमा ११ जना, चौरजहारी नगरपालिकाको पीसीआर परीक्षण प्रयोगशाला रुकुम–पश्चिममा भएको परीक्षणमा दुई जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

दैलेखमा कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सल्यानको दार्मा गाउँपालिकाका दुई जना र जुम्लाको हिमा गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या दुई हजार तीन सय ६४ पुगेको छ । शुक्रवार प्रदेशभर १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको जम्मा संख्या दुई हजार ४० पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोना भाइरसका सक्रिय संक्रमित तीन सय १७ जना रहेका छन् ।

यस्तै, कोरोना संक्रमणबाट शुक्रवार देशभर १२ जनाको मृत्यु भएको छ । संक्रमितको कूल संख्या ३६ हजार चार सय ५६ पुगेको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०७७, शनिबार ०६:०१