नागरिक दायित्व

कोरोना भाइरस (कोभिड—१९)को महामारी कहरबाट विश्व बाहिर निस्कन सकेको छैन । धेरै देशमा संक्रमण फैलिएर रोकथामतर्फ अघि बढ्दै गर्दा नेपालमा भने बढ्दो क्रममा छ । हरेक दिन संक्रमितको संख्या थपिँदै गएको छ । मृतकको संख्या दुई दर्जन नजिक पुग्न थालेको छ । करिब तीन महिनादेखि देश लकडाउनमा छ । यद्यपि यसै सातादेखि लकडाउनको स्वरूप परिवर्तन गरेर केही खुकुलो पारिएको अवस्था छ । लकडाउन खुकुलो त पारियो तर कोरोनाको संक्रमण दर न्यूनीकरण हुन सकेको छैन । यसले नेपाल अझै उच्च जोखिममा रहेको देखाउँछ ।
लकडाउन खुकुलो भएसँगै सहरी क्षेत्रमा पनि चहलपहल बढेको छ । व्यापार व्यवसाय सञ्चालन भएका छन् । सरकारी कार्यालय नियमित हुन थालेका छन् । लकडाउनले प्रभावित जनजीवन सहज बनाउन र आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि खुकुलो बनाइएको लकडाउनले अझ बढी जोखिम बढाउने त होइन ? यो प्रश्न यतिबेला उब्जिएको छ । किन पनि भने लकडाउन खुकुलो बनाइएसँगै मानिसहरू घरबाट निस्कन थालेका छन् । सकडदेखि अन्य सार्वजनिक स्थलहरूमा भिडभाड हुन थालेको छ । तर यस्ता स्थानमा पर्याप्त स्वास्थ्य सतर्कता अपनाएको भने पाइँदैन । जसले गर्दा संक्रमणको जोखिम बढ्ने आशङ्का उत्पन्न भएको छ ।

घरबाहिर हिँड्ने व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्नुपर्ने आधारभूत सतर्कता हो । तर अहिले यसको पालना भइरहेको छैन । निर्धारित दूरी कायम नगरेर मानिसहरू हिँडडुल गरिरहेका छन् । सरकारी कार्यालय, बैंक, वित्तीय संस्थालगायत अन्य सार्वजनिक निकायहरूमा पनि पर्याप्त सुरक्षा विधिको कार्यान्वयन गरिएको देखिँदैन । भिडभाडमा हुनेहरूले पनि मास्कको प्रयोग नगरेको पाइन्छ । नियमित सरसफाइ र स्यानिटाइजरको प्रयोगमा पनि विश्वस्त हुनसक्ने अवस्था छैन । खाजा तथा चिया पसलहरूमा भिड बढेको छ । मानिसहरूले कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गरेको भान हुन्छ । यसले भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना नगराउला भन्न सकिँदैन ।

हुन त नेपालमा संक्रमित भेटिएकाहरूमा पनि कोरोनोको कडा लक्षण देखिएको छैन । जसलाई ‘साइलेन्ट अवस्था’ भनिएको छ । त्यसमाथि संक्रमित अधिकांश पछिल्लो समय भारतबाट फर्किएकाहरू हुन् । जसलाई क्वारेन्टाइनमा राखिएको छ । सबैको पीसीआर परीक्षण पनि भएको छैन । कतिपयलाई दुई साता क्वारेन्टाइनमा राखेर घर पठाइएको छ भने कतिपयलाई आरडीटी परीक्षण गरेर । तर जोखिम के छ भने आरडीटी रिपोर्ट विश्वसनीय छैन । जसले गर्दा संक्रमित पहिचानमै समस्या छ । यसरी घर गएकाहरूमा कोरोना संक्रमण रहेछ भने उनीहरूबाट समुदायमा फैलिने जोखिम पनि उच्च छ । त्यसैले लकडाउन खुकुलो बनाइए पनि जोखिममुक्त भएको अवस्था भने होइन । आम नागरिकले यो कुरालाई नजरअन्दाज गरिरहेको देखिएको छ । खुकुलो बनाइसके पछिको अवस्थामा कोरोको जोखिम कम गर्न प्रमुख दायित्व अब नागरिकमा निहीत छ । हरेक नागरिकमा जिम्मेवारी बोध हुनैपर्छ, किनभने कोरोनाको महामारीकाल सकिएको छैन र होइन । नागरिकले नै सतर्कता अपनाएको खण्डमा मात्र यसको रोकथाम र नियन्त्रण सम्भव छ ।

प्रकाशित मितिः   ५ असार २०७७, शुक्रबार ०६:०१