मुख्यमन्त्रीको आह्वानमा सर्वदलीय बैठक, सरकारलाई सहयोग गर्ने नेताहरुको प्रतिवद्वता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको आह्वानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आमजनता एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिपरेको बताउँदै उनले क्वारेन्टाइन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद् व्यवस्थापन कोष र स्थानीय तहलाई बजेटको व्यवस्थापन, आइसोलेसन अस्पतालको व्यवस्थापन लगायतका काम सरकारले गरेको जानकारी दिए ।

त्यसैगरि स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्यालामजदुरीमा जिविका चलाउने विपन्न नागरिकहरुका लागि खाद्य सामग्रीको व्यवस्था जस्ता काम पनि सरकारको तर्फबाट गरिएको उनले जनाए ।

मुख्यमन्त्री शाहीले आवश्यक सहयोग तथा समन्वयका लागि राजनैतिक दलका सम्बन्धित तहका ईकाईहरुको परिचालनका लागि राजनैतिक दललाई आग्रह समेत गरे ।

सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरुले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुको प्रशंसा गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको बताउँदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न आग्रह गरे । लकडाउनलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव उनले दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरु समेत कोरोना संकटवाट पार पाउन नसकेको बताउँदै साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकतावद्ध भएर जानुको विकल्प नभएको धारणा राखे ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफनो पार्टीले पूर्णरुपमा तयार रहेको भन्दै उनले कोरोना परीक्षण कार्यलाई तिव्रता दिन सुझाव दिए ।

बैठकमा नेकपा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर विष्ट, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, राप्रपा कर्णाली प्रदेश उप–प्रमुख सुर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज रत्नविक्रम राना, नेपाल मजदुर किसान पार्टीका हरिबहादुर बोहोरा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २८ चैत्र २०७६, शुक्रबार १८:३५