एसईई परीक्षार्थीलाई रेडियो कक्षा ‘सुनापढी’

जुम्ला : कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण देशभरीका शैक्षिक संस्था बन्द छन् । यतिबेला लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । चैत ६ गतेदेखि शुरु हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि अनिश्चितकालका लागि स्थगित भएको छ । लकडाउनको अवधि तेस्रो पटक थप भएपछि जुम्लाको सामुदायिक रेडियो खुला आकाशले भने सुनापढी नामक रेडियो कक्षा सुरु गरेको छ । एसईईको पर्खाइमा रहेका विद्यार्थी र आधारभुत तहका बालबालिकाका लागि छुट्टा–छुट्टै रेडियो कक्षा सुरु गरिएको हो ।

चैत २६ गतेबाट सुरु गरिएको एसईई विषेश रेडियो कक्षामा अग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको पढाई हुने गरेको खुला आकाशका स्टेशन म्यानेजर रतन नेपालीले जानकारी दिए । उनका अनुसार रेडियो खुला आकाशले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कक्षा सञ्चालन गरिरहेको छ ।

यस्तै बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रा.वि. तहका बालबालिकाका लागि सुनापढी बालबालिका विषेश रेडियो कक्षा पनि सुरु गरिएको छ । लकडाउनका कारण प्रभावित भएको पढाईलाई रेडियो कक्षाले ठूलो राहत मिलेको श्रोता विद्यार्थी विशाल थापाले बताए । चन्दननाथ नगरपालिका– ८ का स्थानीय भक्त धरलाले रेडियो कक्षा बालबालिकाका लागि अर्को विद्यालय बनेर आएको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित मितिः   २९ चैत्र २०७६, शनिबार १२:४४