तीन सातामा एघार जनाको मृत्यु

प्रदेशले पठायो दुई जना चिकित्सकसहितको टोली

सुर्खेत : हुम्लाको चंखेली गाउँपालिका–२ भिडगाउँका ५८ वर्षीय ठोसे वि.क.को बुधवार एक्कासी मृत्यु भयो । केही दिनदेखि उनी रुघाखोकीबाट पीडित बनेका थिए । रुघाखोकीसँगै टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । ठोसे वि.क.को मृत्युसँगै चंखेलीमा रुघाखोकी र ज्वरोका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । चंखेलीमा मात्र होइन जिल्लाका अन्य दुई स्थानीय तहमा पनि मौसमी फ्लूको संक्रमण फैलिएको छ । पछिल्लो तीन सातामा हुम्लाका ११ जना नागरिकले ज्यान गुमाएका छन् । चिसो बढेसँगै रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने लगायतका स्वास्थ्य समस्या उनीहरूमा देखिएको थियो । लगातारको वर्षा र हिमपातसँगै मौसमी फ्लूले उनीहरूको ज्यान लिएको जनाइएको छ ।

हुम्लाको तीनवटा स्थानीय तहमा मौसमी फ्लू फैलिएको छ । चिसो अत्याधिक बढेसँगै नागरिकमा स्वास्थ्य समस्या देखिएको थियो । पछिल्लो समय लगातार ज्यान गइरहेको छ । सबैभन्दा बढी चंखेली गाउँपालिकामा नागरिकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागार्इंले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा सात जनाको मृत्यु भएको छ । बुधवार एक जनाको मृत्यु भएसँगै मौसमी फ्लूका कारण ज्यान गुमाउनेको संख्या गाउँपालिकामा मात्रै सात पुगेको अध्यक्ष चौलागाईंले जनाए ।

कुनै पनि रोग महामारीकै रूपमा नफैलिए पनि तीन सातामा लगातार नागरिकहरूको ज्यान गइरहेको उनले बताए । ‘यसलाई महामारी रोग भन्न मिल्दैन’ उनले भने ‘तर गएको तीन हप्तामा लगातार केही व्यक्तिहरूको मृत्यु हुँदा महामारीको शंका लागेको छ ।’ उनका अनुसार पछिल्लो समय हुम्ला जिल्लामा लगातारको हिमपातको कारण समेत समस्या निम्तिएको हो । मृत्यु हुनेहरूमा केही ज्येष्ठ नागरिक र केही दीर्घ रोगीहरू समेत रहेको उनले बताए ।

नागरिकको धमाधम ज्यान जान थालेपछि गाउँपालिकाले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाएको छ । प्रदेश सरकारले पनि औषधिसहित स्वास्थ्यकर्मी पठाएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए । ‘कर्णाली प्रदेश सरकारले समेत औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइसकेको छ’ उनले थपे ‘सम्भवतः उहाँहरू आज गाउँपालिकामा पुग्नुभयो होला ।’ मुगु जिल्लाको नजिक पर्ने भएकोले त्यहाँबाट समेत चिकित्सक आउने तयारी भएको उनले बताए । लगातारको हिमपात, खानपिनमा ध्यान नदिएको कारण पनि यस्तो समस्या भएको चौलागाईंको भनाइ थियो । एउटै टोलमा ठूलै महामारी केही नभएको भन्दै उनले फरक–फरक क्षेत्रका मानिसहरूको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै जिल्लाको सर्केगाड गाउँपालिकामा समेत दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले आफ्नो गाउँपालिकामा पनि रुघाखोकी र चिसोको कारणले उनीहरूको मृत्यु भएको हुनसक्ने बताए । ‘हामीहरूले गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं’ उनले भने ‘प्रदेश सरकारले समेत स्वास्थ्यकर्मीहरूको टोली खटाइसकेको जानकारी दिएको छ ।’ उनले घाटी दुख्ने, टाउको दुख्ने लगायतका समस्याका कारण उनीहरूको मृत्यु भएको जानकारी दिए ।

यसैगरी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले समेत गाउँपालिकामा दुईजनाको मृत्यु भएको जानकारी दिए । उनले चिसोको कारण लगातार रुघाखोकी र ज्वरो आउने समस्याबाट दुई जनाले ज्यान गुमाएको बताए । हुम्ला जिल्लामा ठूलै महामारी नफैलिएको भए पनि पछि हुने सम्भावित खतराबाट मुक्त हुनको लागि स्वास्थ्यकर्मीहरूलाई खटाइएको उनले बताए । ‘हाम्रो गाउँपालिकामा डाक्टर छैनन्’ उनले भने ‘अहेब र सी.एम.ए.हरूलाई निरन्तर खटाइएको छ ।’ कर्णाली प्रदेश सरकारले समेत स्वास्थ्यकर्मीहरूको टोली पठाएको जानकारी उनले दिए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले प्रभावित क्षेत्र हुम्ला जिल्लामा दुईजना डाक्टरसहित ६ जनाको टोली पठाइएको जानकारी दिए । उनले ल्याब, औषधी र डाक्टर सहितको टोली गएको चारदिन भएको बताए । समस्या अझै बढेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मितिः   १६ माघ २०७६, बिहीबार ०५:०७