बालबालिकाको सिकाइमा वृद्धि

सुर्खेत : कर्णाली प्रदेशमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको सिकाइमा वृद्धि भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मंगलवार प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मद्यावधि मूल्याङ्कन प्रतिवेदन २०१८ को प्रदेश स्तरिय कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै त्रिवेणी नगपालिका डोल्पाका शाखा अधिकृत डिलप्रसाद रोकायले डोल्पामा प्रारम्भिक पढाइ कार्यक्रमले बालबालिकाको सिकाइमा विकास भएको बताए । ‘शिक्षा नियमावलीमा तोके बमोजिम पढाइ नहुने जिल्ला डोल्पा हो’ उनले भने ‘तर प्रारम्भिक पढाइ कार्यक्रमबाट बालबालिकाले धेरै सिक्न पाएका छन् ।’ उनले नियमित रूपमा विद्यार्थी विद्यालय आउने र अभिभावकले समेत विद्यार्थीको पढाइमा चासो दिने गरेको बताए ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका नारायण पौडेलले सुर्खेतमा समेत यो कार्यक्रम प्रभावकारी भएको बताए । उनले सुर्खेत जिल्लामा कक्षा १ देखि ३ सम्म रहेका पाँच सय दुई वटा विद्यालयहरूमा यो कार्यक्रम लागू भएको बताए । धेरै विद्यालयहरूमा पुस्तकालयसहितको कक्षाकोठा निर्माणमा सहयोग भएकोे उनले बताए । यो लगायत शिक्षकहरूलाई तालिम र शैक्षिक सामग्री समेत प्राप्त हुने भएकोले कार्यक्रम प्रभावकारी भएको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक उत्तरकुमार पराजुलीले देशभर सर्वेक्षण गर्दा पहिले ५२ प्रतिशत बालबालिकाहरूले नेपाली विषय राम्रोसँग पढ्न सक्ने भएपनि हाल ६६ प्रतिशत पढ्न सक्ने भएको बताए । उनले कर्णालीका दुई जिल्ला सुर्खेत र डोल्पामा समेत यो कार्यक्रम लागू गरिएको बताए । आगामी दिनमा दैलेखमा यो कार्यक्रम लागू गर्ने योजना रहेको उनले जानकारी दिए । सन् २०१५ बाट लागू गरिएको प्रारम्भिक पढाइ कार्यक्रम सन् २०२० मा सकिने भएपनि कुनै न कुनै माध्यमबाट कार्यक्रमलाई निरन्तरता दिने निर्देशक पराजुलीले बताए । हाल देशभरका १६ जिल्लामा यो कार्यक्रम लागु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ९ पुष २०७६, बुधबार ०९:३५