संसद्को हिउँदे अधिवेशन आह्वान


काठमाडौं : संसद्को हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउँसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए । दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ पुस १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसद्को दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ ।’ मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले पुस ४ गते संसद्का दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

प्रकाशित मितिः   २५ मंसिर २०७६, बुधबार ०८:४०