सभामुख महराले दिए राजीनामा

काठमाडौं : यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले संघीय संसद् प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका छन् । संसद् सचिवालयमा कार्यरत एक नर्सलाई गत आइतवार यौन दुव्र्यवहार गरेको समाचार सोमवार सार्वजनिक भएपछि महराले मंगलवार पदबाट राजीनामा दिएका हुन् ।

महरा आवद्ध पार्टी नेकपा सचिवालयको मंगलवार बिहानको बैठकले सभामुख पद र सांसदबाट राजीनामा दिन निर्देशात्मक आग्रह गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन् नेकपा सचिवालयले भनेजस्तो सांसद पदबाट भने राजीनामा दिएका छैनन् । सभामुखले दिएको राजीनामा पत्रमा शर्त राखेकोबारे विभिन्न बहस भइरहेका छन् । तर कानुन अनुसार भने उनको पद गइसकेको छ । संविधानको धारा ९१ को उपधारा ६(ग) मा सभामुख र उप–सभामुखको पद रिक्त हुने व्यवस्था छ । ‘निजले लिखित राजीनामा दिएमा’ पद रिक्त हुने लेखिएको छ । महराले राजीनामा पत्रमा भने शर्त राखेका छन् । जसमा लेखिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

यहाँ अनुसन्धान प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको भने पनि कानुनअनुसार भने उक्त पदबाट दिएको राजीनामा निश्चित प्रक्रियासम्मका लागि मात्रै भन्ने कानुनमा कुनै व्यवस्था छैन । उक्त राजीनामामाथि उठेको शर्तको भाषा राखेकोबारे चासो राख्दा संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शर्तको अर्थ नभएको बताए । उनले भने, ‘राजीनामा आवधिक र शर्त भन्ने व्यवस्था संविधानमा छैन । राजीनामा दिने बित्तिकै सभामुखको पद खाली हुन्छ ।’ नेकपाकै एक नेताले भने महराले सभामुखबाट राजीनामा दिँदा प्रयोग गरेको भाषाले राजनीतिक अर्थ मात्रै राख्ने तर कानुनी रूपमा कुनै अर्थ नराख्ने बताए । ती नेताले भने, ‘राजीनामा दिनेको इच्छाको कुरा आफ्नो ठाउँमा छ । तर, लिखित राजीनामा दिएपछि पद खाली भयो । मूल कुरा संविधानमा राजीनामा दिएमा रिक्त हुन्छ भनेको छ ।

महरा अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका निर्वाचित सांसद हुन् । उनको सांसद पद अहिले पनि कायमै छ । नेकपाको सचिवालय बैठकले सांसद पदबाट पनि राजीनामा दिन निर्देशन दिएको छ । तर, पार्टीले उनलाई हटाएको छैन भने महरा स्वयम्ले सासंद पदबाट राजीनामा दिएका छैनन् । उनले सभामुख पदबाट मात्र राजीनामा दिएका हुन् । नेता नेम्वाङले भने पार्टीले महरालाई प्रष्ट निर्देशन दिएको बताएका छन् ।

प्रकाशित मितिः   १५ आश्विन २०७६, बुधबार १४:००