असोज १० देखि नयाँ नोट

सुर्खेत : दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । एक साता छिटो नयाँ नोट लिए पनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले भने असोज १० देखि नै नोट बाँड्नेछन् । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रूपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रूपैयाँ बराबर नोट बाँडेको थियो । यो वर्ष पनि राष्ट्र बैंकले पाँच, दश, बीस, पचास, एक सय, पाँच सय र हजार दरका नोट वितरण गर्न लागेको हो ।

प्रकाशित मितिः   १ आश्विन २०७६, बुधबार १३:०५