कर्णाली प्रदेश क्रिकेट टिम घोषणा

सुर्खेत– कर्णाली प्रदेश क्रिकेट टिम घोषणा गरिएको छ। दाङमा आयोजना हुन लागेको जेसिज कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश टिम घोषणा गरिएको हो।

सुर्खेतमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा १५ खेलाडी छनोट गरिएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।

छनोट भएका खेलाडीहरुमा सुर्खेतका सबैभन्दा बढी पाँच जना छन्। सुर्खेतकै रविन्द्रजंग शाहीलाई प्रदेश क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिइएको छ। उनले १६ वर्षमुनि र १९ वर्षमुनिको नेपाली क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन्। सुर्खेतमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा उनी म्यान अफ दी सिरिज चुनिएका थिए।

शाहीसँगै सुर्खेतका सुरज बोहोरा, निश्चल रावल, प्रवेश खान र टेक सलामी टिममा परेका छन्। त्यसैगरी रुकुमका दिनेश पुन, विवश गिरी र विजय विष्ट, जुम्लाका जितेन्द्र शाही र समिर चन्द, सल्यानका चन्द्र बिसी र राजु थापा, जाजरकोटका केशव अधिकारी र सन्दिप शाही, दैलेखका सुनील विष्ट प्रदेश टिममा परेका छन्। टिम म्यानेजरको जिम्मेवारी रोशन शाहीलाई दिइएको छ।

प्रतियोगिताको आफ्नो पहिलो खेल कर्णालीले फागुन २९ गते महाकाली क्लबसँग खेल्नेछ।

यही फागुन १९ देखि २६ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित क्रिकेट प्रतियोगितामा खेलाडीहरुले गरेको प्रदर्शनलाई आधार मानेर खेलाडी छनोट गरिएको हो।

प्रकाशित मितिः   २८ फाल्गुन २०७४, सोमबार ११:४८