‘सानैदेखि अन्यायको विरुद्धमा लड्न सिकें’
सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्, नवराज रावत । नेकपा एमाले सुर्खेतको पूर्व अध्यक्ष एवम् प्रदेश नं. ६ का सदस्य रावत विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । वि.सं. २०२० पुस ३० गते अछामको कमल बजार नगरपालिका–९ घेगडमा बुबा स्व. प्रहराम रावत र आमा स्व. विष्णा रावतको कोखबाट जन्मिएका उनको स्थायी बसोबास भने सुर्खेतको पञ्चपुरी नगरपालिकामा हो । पहिलो पटक सांसद बनेका रावतले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः
म सानो छँदा आमाले सधै मलाई पढ्नको लागि भनिरहनु हुन्थ्यो । त्यसबेलामा गाउँघरमा विद्यालय थिएनन् । पढ्नका लागि गुरुहरूको घरमा जानुपथ्र्यो । आमाले मलाई पहिलो पटक गुरुकोमा पढ्न पठाउँदा म बाटोबाट नै फर्किएको थिएँ । मलाई फकाउनको लागि आमाले बेथेमा मह मिसाएर खाजा बनाइदिनु भएको थियो । खिर्रोको पाटी बनाइ दिएर बोकाएर पठाउनुभएको थियो । घर नजिकैको बासघारीमा गएर दिनभरी बसें । साथीहरू पढेर फर्किएपछि घरमा फर्किएँ । आमाले पढ्नै नगएर आएको जस्तो छ भन्नुभयो । पाटीमा केही पनि लेखेको थिएन । मैले आमालाई झुट बोलेको थाहा पाइहाल्नुभयो । घर नजिक भएकोले आमाले गएर सोधिहाल्नु भएछ । पछि आएर गाली पनि गर्नुभयो, पिट्नु पनि भयो । म घरको कान्छो छोरा भएकोले पनि सबैको माया पाउँथे । मेरो दुई दाई र एक जना दिदी हुनुहुन्छ त्यसकारणले पनि मैले दुख पाइन ।
त्यसबेलाको समय र अहिलेको समय धेरै फरक छ । त्यस बेलामा रुढिबादी परम्परलाई छोड्न सकिदैनथ्यो । देवीदेउतामाथि विश्वास धेरै नै थियो । अझ हाम्रो ठाउँमा सबै ठाउँबाट देवीदेउता पुज्नको लागि आउने गर्थे । पहाडी जिल्ला विकट नै थियो । म बुझ्ने भएपछि गाइ बाख्राको गोठालो गएको सम्झना छ । रहरले पनि गोठालो जाने गथें । एक जना मैनसरा दिदी हुनुहुन्थ्यो । उहाँले मलाई गोठालो जाउँ भनेर फकाउनु हुन्थ्यो । वनमा खनेपछि चामल पाइन्छ भन्नुहुन्थ्यो । मलाई पनि अचम्म लाग्थ्यो । अनि उहाँसँग गोठालो जान्थे । खनेर चामल कसरी पाइन्छ भनेर खुल्दुली लाग्थ्यो । दिदीले खनेर चामल निकाल्नुहुन्थ्यो । पछि थाहा भयो । उहाँले घरबाट चालम लिएर माटोमा राख्नुहुने रहेछ अनि मेरो अगाडि खनेर निकाल्नु हुने रहेछ ।
मलाई पढ्नको लागि आमाले बजगाउँस्थित दुर्गा उपाध्यायको घरमा पठाउनुभयो । घरदेखि करिब १ घण्टा जति टाढा थियो । मेरो पहिलो गुरु उहाँ नै हुनुहुन्छ । म पाँच वर्षको हुँदा उहाँको घरमा पढ्न गएको हुँ । त्यहाँ हामीले ‘कखरा’ सम्म पढ्ने गथ्र्यौं । उहाँलाई हामीले मासिक रूपमा एक माना चामल र नुन दिन्थ्यौं । वार्षिक पाँच रूपैयाँ दिन्थ्यौं । कापी कलम पाइदैन्थ्यो । धुलौटोमा पढ्थ्यौं । काठलाई गोलो बनाएरबीचमा रातो माटो हालेर लेख्न सिक्थ्यौं । तोरीको सागबाट मसी बनाएर पाटीमा लेख्थ्यौं । बासको कलमले लेख्नुपथ्र्यो । हामी ३० जनासम्मको साथीहरूको समूह हुन्थ्यो । हाम्रो समूहमा एकजना बदमास साथी थियो । हामीले घरबाट बनाएर लिएको मसी सबै खाइदिन्थ्यो । पछि गुरुले उसलाई पिट्नुभयो । मैले त्यहाँ करिब दुई वर्षसम्म पढें । त्यसपछि म ढाकमा पढ्न गएँ । त्यहाँ मैले २ कक्षामा नाम लेखाएँ । दुर्गा गुरुले बाह्रखरी पढेको भनेर नेपाली कागजमा लेखेर दिनुभएको थियो ।
मैले कक्षा दुईदेखि जालपदेवि निमाविमा पढेको हुँ । घर आउन टाढा नै थियो । साथीहरू धेरै हुन्थे । बाटोमा खेल्दै खेल्दै घर साँझ आइपुग्थ्यौं । म अरु साथीहरू भन्दा सानो नै थिएँ । त्यसैले म साथीहरूसँग कपर्दी खेल्न पाउँदैन्थे । म कपडाको भकुण्डो बनाएर खेल्थें । साथीहरूसँग खेलेको रमाइलो लाग्छ अहिले सम्झदा । पहिले धामी राखेको गाउँमा हेर्न जान्थ्यौं । विद्यालयबाट फर्किदा धामी निकाल्थ्याँै । एक जना रामबहादुर रावत साथी थियो । उसले म धामि बन्छु भनेर ऊ नै धामी बन्थ्यो । हामी अरु साथीहरू धामि बनाएर नचाउने गथ्र्यौं । धामी बनाएपछि धामीलाई वली दिने चलन थियो । हामीसँग बाख्राको पाठो हुने कुरा भएन । हामीले बाटोमा जे भेटिन्छ त्यही खुवाउँथ्यौं । चिसोको समयमा तुसारो खुवाउथ्यौं । एक दिन उसलाई धामी बन्न भन्यौं । अरु साथीहरूले धामी बस्ने गादी बनायौं । गादीको तल काँडा राख्यौं । माथि कपडा थियो । त्यसले गर्दा काँडा देखिएन । उसले मलाई धामी आयो भन्दै बस्यो । काँडाले कोपेपछि उसलाई पीडा भएर रोयो । हामी साथीहरूबीच यसरी रमाइलो गथ्यौं ।
एक पटक कक्षा ६ मा पढ्दै गर्दा साथीहरू मिलेर अत्तर खायौं । रणबहादुर रावत नाम गरेको एक जना मेरो दाई हुनुहुन्थ्यो । उहाँ कक्षा ४ मा पढ्नुहुन्थ्यो । उहाँले अत्तर ल्याउनु भएको रहेछ । हाम्रो पच्चीस तीस जनाको समूह थियो । त्यस दिन शुक्रवार थियो । विद्यालय छिटो बन्द हुने भएकोले हामी खेतबाट घर फर्किदैथ्यौं । खेतको कुलोमा माछाहरू भइरहन्थे । माछा मार्नको लागि कुलो नै भाच्नुपर्ने । कोही साथीहरू कसैले देखिहाल्छकी भनेर डाँडामा बस्यौं । कोही साथीहरू कुलो भाँचेर माछा पा¥यौं । एक झोला माछा बनाएर एउटा गाउँमा गयौं । त्यहाँ गएर नुनतेल सबै माग्यौं । अनि दाईले ल्याएको अत्तर र माछा मिसाएर पकायौं । माथि–माथिको माछा खाएर हामी केही साथीहरूलाई धेरै लागेछ । उहाँ त अक्कर भिरतर्फ जानुभएछ । अत्तर खाएको झोकमा कसरी जानु भएछ थाहा नै भएन । पछि आउन गाह्रो भएछ । राती २ बजेतिर निकै कठिनाइपूर्वक उहाँलाई सबै गाउँलेहरू मिलेर भीरबाट निकाले । मलाई पनि घरमा अत्तर किन खाएको भनेर आमाले बेस्सरी पिट्नुभयो ।
सानो छँदा भागेर जात्रा हेर्न धेरै पटक गएको छु । आमाले जहिले पनि पढ् मात्र भन्नुहुन्थ्यो । एक दिन दियालो बालेर पढिरहेको थिएँ । बाहिरबाट साथीहरूले जात्रा हेर्न जाउँ भनेर बोलाए । आमा नजा भन्दै हुनुहन्थ्यो । मैले जान्छु भनेर ढिपी गरिरहेको थिएँ । पछि रिस उठेर आमालाई आफै पढ्नु के भनेको आमाले पिट्न लागि हाल्नुभयो । त्यस पछि भागेर जात्रा हेर्न गएँ । जात्रामा धेरै मानिसहरूको बीचमा एक जना मात्र बोल्दा अच्चम लाग्थ्यो । म पनि यसैगरी बोल्न पाएको भए कस्तो हुन्थ्यो होला भनेर खुलदुली लागिरहन्थ्यो ।
म मा सानैदेखि समाज सेवाको भावना थियो । मलाई यो प्रेरणा घरपरिवारबाट नै मिलेको थियो । मेरो बुबा गाउँको मुखिया हुनुहुन्थ्यो । गाउँमा कसैलाई केही समस्या प¥यो भने सबै उहाँकैमा आउने गर्थे । अन्यायमा परे भने न्यायका लागि बुबासँग मानिसहरू आउँथे । हाम्रो घर नजिकै ठूलो चौर थियो । त्यहाँ गाउँमा भएका अन्यायको विरुद्धमा धेरै फैसला हुन्थे । गल्ती गरेका लाई त्यही ल्याएर सजाए दिने गर्थे । म पनि अन्यायको विरुद्धमा लाग्नुपर्छ भन्ने लाग्थ्यो । पहिले जातीय छुवाछुत धेरै नै थियो । मेरा साथीहरू दलित साथीहरूसँग नजिकै पर्दैनथे, तर्किएर हिँड्थे । म भने कसैलाई तलमाथि गर्दैन्थे ।
विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापहरूमा भाग लिन्थें । वक्तृत्वकला प्रतियोगितामा बढी नै भाग लिन्थें । अरु जनचेतनामूलक सडक नाटकहरूमा पनि खेल्थें । सांस्कृतिक कार्यक्रमहरूमा पनि म सहभागि हुन रुचाउँथें । म १६ वर्षको उमेरदेखिनै विद्यार्थी राजनीतिमा प्रवेश गरें । कक्षा ८ मा पढिसकेपछि हाम्रो परिवार सुर्खेतको विद्यापुर बसाइ सरेर आयो । त्यसपछि मैले विद्यापुरमै
पढे । त्यहीबाट २०३६ सालमा अनेरास्वयु एकताको पाँचौंबाट विद्यार्थी राजनीतिमा प्रवेश गरे । वि.सं. २०४२ मा माले माक्सवादी एकीकरण पछि सुर्खेतको जिल्ला सदस्य भए । २०४७ मा युवा संघको जिल्ला संस्थापक अध्यक्ष भए । २०५५ सालमा सुर्खेत जिल्लाको जिल्ला सभापति भएर पनि समाजमा काम गर्ने अवसर पाए । त्यसपछि पार्टीको सचिव हुँदै अध्यक्ष भएर पनि काम गरेको छु ।
साझा बिसौनी संवाददाता ।