फस्टाउँदै पुष्प व्यवसाय

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

सुर्खेत: तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि वीरेन्द्रनगरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महशुस गरेका छन् ।

फूल खेतीमा सम्भावना देखेपछि वीरेन्द्रनगर–४ की प्रिसिला गिरी पुष्प व्यवसायमा लागेकी छन् । पाँच कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार पाँच सय बोट फूल रोपेको बताइन् । कृषि अध्ययनपछि उनले फूल खेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको सुनाइन् । बजारमा फूलको माग र सम्भावना देखेर यसतर्फ आकर्षित गरेको भन्दै गिरीले फूलको अग्रिम माग हुन थालेपछि पुर्‍याउनै नसकिएको जनाइन् । तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ । विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको भन्दै उनले अहिले माग अनुसार फूल पुर्‍याउनै नसकिएको जनाइन् । उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने भन्दै पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको सुनाइन् ।

परम्परागत खेतीभन्दा फूल खेतीमा दुई गुणा बढी आम्दानी हुने उनको अनुभव छ । ‘यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूल खेती विस्तार गर्ने योजना छ’, उनले भनिन्, ‘आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ, यो वर्ष पाँच लाख आम्दानी गर्ने सोच बनाएको छु ।’ गतवर्ष उनले तीन कट्ठामा फूल खेती गरेकी थिइन् भने तीन लाख आम्दानी भएको थियो ।

तिहारलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिका–९ का किसान अशोक चौधरीले पनि तीन कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत तीन वर्षदेखि तिहारलाई लक्षित गरेर फूल खेती गर्दै आएका चौधरीले यस वर्ष ‘क्रमा पाँच सय पच्पन्न’ जातको सयपत्री फूल लगाएका छन् । काठमाडौं क्रमा कृषि केन्द्रबाट ल्याइएको बिरुवा अग्लो हुने र ढकमक्क फूल्ने भएकाले निकै लाभ हुने उनले बताए । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ । बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब दुई लाख रूपैयाँभन्दा बढीको फूल बिक्री गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले थोरै क्षति पुगेको छ’, चौधरीले भने । यस वर्ष फूल प्रतिकिलो चार सय देखि पाँच सय रूपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए । चौधरीले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएका छन् । सुर्खेत, दैलेख, जुम्ला, जाजरकोट र बर्दियासम्म उनले फूल बिक्री गर्दै आइरहेको जानकारी दिए । भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने चौधरीको भनाइ छ ।

आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने उनको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए । यो वर्ष फूलको माग अत्यधिक रूपमा बढेकाले आगामी वर्ष पाँच कट्ठामा सयपत्री फूल खेती गर्ने सोच बनाएको उनले जानकारी दिए । सजिलै रूपमा खेती गर्न सकिने र आम्दानी पनि राम्रो हुने भएकाले फूल खेती रोजाइमा परेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   १९ कार्तिक २०८३, बिहीबार ०५:०५