जडिबुटी प्रवर्द्धधन गर्न प्रशोधन केन्द्र

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले जडिबुटीको प्रशोधन र बजारीकरणमा जोड दिएको छ । सुगन्धित वनस्पति तथा प्राकृतिक जडिबुटी खेती विस्तारमा प्रदेश सरकारले जोड दिएको हो । जडिबुटी खेतीको विस्तार, संरक्षण, विशेष प्रजातिका जडिबुटी प्रशोधन, मूल्य श्रृंखला अभिवृद्धि तथा बजारीकरणमा जोड दिइने प्रदेश सरकारले जनाएको छ ।

विगमा पनि जडिबुटी खेतीको प्रवद्र्धनका लागि योजना कार्यान्वयन गर्ने गरिएको थियो । तर प्रभावकारी कार्यान्वयन भएको थिएन । चालु आर्थिक वर्षमा प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि एक करोड ९० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए । जडिबुटी खेती प्रवर्द्धधन गरेर कर्णालीमा उत्पादित जडिबुटीलाई व्यवस्थित रूपमा बिक्रीवितरण गर्न लागिएको उनको भनाइ छ । जडिबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको भन्दै प्रशोधन केन्द्र निर्माण गरेर जडिबुटी संरक्षणका योजना राखिएको हो ।

अनेकौँ किसिमका जडिबुटी उत्पादन हुनेभएकाले कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीका रूपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडिबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भएपनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन । यद्यपि, जडिबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडिबुटी प्रजातिको प्राथमिकीकरण, जडिबुटी बिरुवा उत्पादन तथा खेती विस्तार गर्ने काम भने विगतका वर्षहरूमा गरिएका छन् । सोही आधारमा प्राथमिकरण गरेर कार्यक्रम कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । वनस्पति विज्ञहरूका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडिबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडिबुटी निर्यात गरिन्छ । कर्णालीमा एक सय ४७ जातको जडिबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ ।

कर्णालीका अधिकांश जडिबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार वार्षिक रूपमा करिब १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । ती सबै जडिबुटी प्रशोधनविना नै कच्चापदार्थका रूपमा निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ । कच्चापदार्थका रूपमा मात्र बहुमूल्य जडिबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा यसबाट जति लाभ लिन सक्नुपर्ने हो त्यसको निकै थोरै मात्र प्राप्त भएको जनाइएको छ । प्रदेशमै कच्चापदार्थको प्रशोधन गरी तयारी सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा मात्र निर्यात गर्नसके आम्दानीको थप स्रोतसमेत प्राप्त हुने बताइन्छ ।

प्रदेश सरकारले आफ्नै लगानीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेको छैन । निजी क्षेत्रको लगानीमा निर्माण गरिएका प्रशोधन केन्द्र पनि प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । कर्णालीका विभिन्न जिल्लामा निर्माण गरिएका दर्जनभन्दा बढी प्रशोधन केन्द्र अलपत्र अवस्थामा छन् । धेरै जसो निजी क्षेत्रको लगानीमा प्रशोधन केन्द्र निर्माण भएका थिए । वीरेन्द्रनगर नगरपालिका ९, काँक्रेविहारमा बर्सौं अघि निर्माण गरिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडिबुटी संकलन गर्न २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य संघले केन्द्रको भवन निर्माणको काम सुरु गरिएको थियो । जडिबुटी संकलन केन्द्रको पूर्वाधार निर्माणका लागि निजी–साझेदारी मोडेलमा काम सुरु गरिएको थियो । अहिले उक्त प्रशोधन केन्द्र अलपत्र अवस्थामा छ । हिमाली जिल्लाबाट संकलन गरेर ल्याएको जडिबुटी स्थानीय सस्तोमै बिक्री गर्न बाध्य छन् । हिमाली जिल्लाबाट चर्को हवाई भाडा तिरेर जडिबुटी नेपालगञ्ज र सुर्खेत ल्याउनुपर्ने बाध्यता भएको कृषक बताउँछन् । जडिबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा संकलन गरेर ल्याएको जडिबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने व्यवसायीको गुनासो छ । यता संघीय सरकारले चालु आर्थिक वर्षमा जडिबुटी प्रशोधान केन्द्र स्थापना गर्ने जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना बनाएको हो ।

प्रकाशित मितिः   १४ कार्तिक २०८३, शुक्रबार ११:४२