बाढीपीडित बेखुसी
सुर्खेत: यस वर्षका ठूला चाडपर्व नजिकिदै छन् । आज (घटस्थापना) देखि बडादसैँ सुरु हुँदैछ । दसैँ मनाउन सहर–बजारबाट मात्र होइन, घर परिवारको जीविकाका लागि देश नै छोडेर परदेशियकाहरू समेत फर्किन थालेका छन् ।
‘हुने खानेदेखि हुँदा खानेसम्म’ सबैले आ–आफ्नो क्षमताअनुसार दसैँ मनाउने तयारीमा छन् । तर, वीरेन्द्रनगर–१ को सामुदायिक वन क्षेत्र गिरीघाटमा बसिरहेका बाढीपीडित बस्तीमा भने अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत एघार वर्षयता उनीहरूका लागि दसैँमा कुनै उमङ्ग नै आएको छैन । २०७१ सालमा आएको बाढीले सयौँलाई घरबारबिहीन बनायो । कैयनले परिवारका सदस्य र आफन्त गुमाए । दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटना भएको एघार वर्ष बित्यो । अझै पनि गिरीघाट बस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि उनीहरू टहरोकै व्यवस्थापन र बिहान–बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् ।
आफन्तले घर भरिन्थ्यो, टिका र आशीर्वाद थाप्नेको भीड हुन्थ्यो, बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । एघार वर्ष अघिसम्म डिलबहादुर विकको घरमा दसैँले यस्तै उमङ्ग ल्याउँथ्यो । तर पछिल्ला वर्षहरूमा दसैँको कुनै अनुभूति नै हुन सकेको छैन । उनले भने, ‘बिहान बेलुका छाक टार्नै मुश्किल हुन्छ । कसरी दसैँ मनाउनु ? पीडा र ऋणको भारीले थिचेको छ, एघार वर्ष बित्यो ।’
शिविरमा बस्दै आएका रामबहादुर नेपालीले एक दशकदेखि पालपुनी कष्टकर रूपमा थुप्रै दसैँ मनाइसकेको बताए । उनी भन्छन्, ‘अझै कति दसैँ मनाउन पर्ने हो थाहा छैन ।’ ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका उनलाई दसैँले छोएको छैन । ‘दसैँ–तिहार आयो, घरमा छाक टार्न धौ–धौ छ, केटाकेटीले नयाँ लुगा किन्दिन भन्छन्, मिठो मसिनो खान खोज्छन्’ उनले भने, ‘घरमा एकसुको पैसो छैन, के गरेर दसैँ तिहार मनाउने ?’
२०७१ साल साउन ३० गते आएको बाढीले कमला विकको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्न थालेको एघार वर्ष पुग्यो । ‘समस्या ज्युँका त्युँ छन् । चार्डपर्व आउँदा झनै समस्या हुने गरेको छ । जमरा राख्ने ठाउँसमेत छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनू ?’ उनी भन्छिन्, ‘२०७१ सालयता हामीले चाडपर्व मनाउन पाएका छैनौँ । समस्या नै समस्या छ ।’
बराहताल गाउँपालिका वडा नं. २ का एक सय २५ घरधुरी गिरीघाटस्थित वीरेन्द्रनगर वडा नं. १ को सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । विस्थापित भएकै एक दशक पुग्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, बिहान बेलुकाको गास जुटाउन पनि उस्तै मुश्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता सुविधाबाट उनीहरू वञ्चित छन् । शिविरकी हरिकला विकले चाडपर्व आउँदा झनै समस्या हुनेगरेको बताइन् । एघार वर्षदेखि पुराना खुइलिएका पालको शरणमा बस्नुपरेको भन्दै उनले बिहान बेलुकीको छाक टार्नका लागि कामको खोजीमा दौड्नुपरेको सुनाइन् ।
नयाँ लत्ताकपडा किन्न, मिठोमसिनो खान सक्नेअवस्था नभएपछि यो बस्तीमा दसैँको उल्लास पनि छैन । दसैँ आउन केही दिन बाँकी रहँदा पनि सबै आ–आफ्नो रोजीरोटीका काममा व्यस्त छन् । उनीहरूले गिट्टीबालुवा र दाउरा बिक्री गरेर दैनिकी चलाउँदै आएका छन् । रोजगारीको समेत उचित व्यवस्था नहुँदा थप समस्या भइरहेको छ । साँझ–बिहान छाक टार्न मुश्किल हुने गरेको छ । यो बस्तीमा दसैँले खुसी ल्याएको छैन । यो समुदायमा बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् । युवा उमेर समूहका सबै रोजगारीका लागि भारतलगायतका देशमा जाने गरेका छन् । बाढीपीडित बनेको दशक पुग्दा समेत उनीहरूका समस्या घट्नुको साटो झन बढिरहेका छन् ।
प्रकाशित मितिः २५ आश्विन २०८३, आईतवार १५:१२

साझा बिसौनी ।