कर्णालीबाट बाहिरियो मनसुन

सुर्खेत: कर्णाली प्रदेशसहित नेपालको पश्चिमी क्षेत्रका अधिकांश भू–भागबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिवार कर्णालीदेखि गण्डकीसम्मका भू–भागबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार कर्णालीका साथसाथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरूबाट मनसुन बाहिरिएसँगै पानी पर्ने सम्भावना पनि कम हुँदै गएको छ । यद्यपि, मनसुन बाहिरिँदैमा पूर्णरूपमा पानी नपर्ने भने होइन । कर्णालीमा अझै पनि पश्चिमी वायुको प्रभाव यथावत छ । त्यसैले कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल देखिएको छ ।
आइतवार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमामा आंशिक बादल लाग्ने जनाइएको छ । त्यसबोहक देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतवार राति पनि देशका पहाडी र तराई भू–भागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैगरी सोमवार पनि कर्णालीमा बादल देखिन सक्ने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । सोमवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने आकलन गरिएको छ । पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सोमवार राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ ।
पश्चिम नेपालका साथसाथै गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि मनसुन बाहिरिएको हो । मनसुन बहिर्गमनको औसत दिन (२ अक्टोबर) को भोलिपल्ट पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको छ । महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ ।
प्रकाशित मितिः १८ आश्विन २०८३, आईतवार १६:२७
साझा बिसौनी ।