उद्योगी–व्यवसायी सचेतना अभियान शुभारम्भ

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष साक्षात्कार तथा सचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम शुभारम्भ गरेको छ । बिहीवार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अभियानको औपचारिक शुभारम्भ गरेकी हुन् ।
उक्त अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालित सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम तथा आन्तरिक राजश्व कार्यालय, सुर्खेतको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिका तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सुर्खेतको समन्वयमा सञ्चालित व्यावसायिक सचेतना कार्यक्रमको समेत संयुक्त रूपमा शुभारम्भ गरिएको थियो । कार्यक्रममार्फत उद्योगी तथा व्यवसायीहरूलाई आफ्नो उद्योग तथा व्यवसायबाट निस्कने फोहोर जथाभावी नफाल्ने, फोहोर संकलन गरी सुरक्षित रूपमा राख्ने र फोहोर संकलन गर्ने सवारी साधन आएपछि मात्र तोकिएको स्थानमा राख्ने लगायतका विषयमा सचेत गराइनेछ । यसबाट व्यावसायिक क्षेत्रको सरसफाइ तथा फोहोर व्यवस्थापनमा उद्योगी–व्यवसायीको जिम्मेवारी बढाउँदै स्वच्छ, सुन्दर तथा व्यवस्थित वीरेन्द्रनगर निर्माणमा योगदान पु¥याउने लक्ष्य लिइएको छ । साथै, नगरको स्वच्छता कायम गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन समेत यस अभियानले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले उद्योगी–व्यवसायीका समस्या तथा आवश्यकतालाई नजिकबाट बुझ्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
आन्तरिक राजश्व कार्यालय, सुर्खेतका प्रमुख कर अधिकृत चक्र ढुंगानाले उद्योगी–व्यवसायीहरूलाई उपलब्ध कर छुट तथा सहुलियतसम्बन्धी जानकारी लक्षित वर्गसम्म पु¥याउन घरदैलोमै पुगेर जानकारी गराउने पहल महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमको स्वागत गरे । उनले अभियानलाई सफल बनाउन आफ्नो कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
सुर्खेत उद्योग वाणिज्य संघले बिहीवारदेखि एक महिनासम्म उद्योगी तथा व्यवसायीहरूको घरदैलोमै पुगेर सरसफाइ, व्यावसायिक सचेतना, करसम्बन्धी छुट तथा सहुलियत र व्यवसायीका समस्या तथा चुनौतीसम्बन्धी जानकारी तथा सहजीकरण गर्नेछ ।
प्रकाशित मितिः १६ आश्विन २०८३, शुक्रबार १६:१७
साझा बिसौनी ।