छनोट प्रतियोगिता हुने

सुर्खेत: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशमा जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला र प्रदेश छनोटको मिति तथा स्थान निर्धारण गरेको हो । परिषद्का अनुसार जिल्लास्तरीय छनोट प्रतियोगिता असोज १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि प्रदेशका १० जिल्लालाई समेटेर पाँच जना संयोजक तोकिएका छन् । हुम्ला र मुगुको संयोजन गोर्खबहादुर शाही, कालीकोट र जुम्लाको पञ्चबहादुर मल्ल, दैलेख र जाजरकोटको पवनकुमार थापा, सल्यान र रूकुम पश्चिमको भीमकुमारी भुसाल तथा सुर्खेत र डोल्पाको संयोजन किरणकिशोर सापकोटालाई दिइएको छ ।

जिल्लास्तरीय छनोटपछि प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज २६ देखि ३१ गतेसम्म सञ्चालन हुने परिषद्ले जनाएको छ । प्रदेशस्तरीय छनोटअन्तर्गत दैलेखमा कराँते, एफसी कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो तथा सल्यानमा टेबल टेनिसको छनोट हुनेछ । त्यस्तै रुकुम पश्चिममा महिला कबड्डी, जुम्लामा डब्लूटीएफ तेक्वान्दो, हुम्लामा महिला भलिबल र हक्की, मुगुमा पुरुष कबड्डी, कालीकोटमा पुरुष भलिबल तथा डोल्पामा चेसको छनोट गरिनेछ ।

सुर्खेतमा बाँकी सबै खेलको प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन हुनेछ । परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका खेलाडी छनोटलाई व्यवस्थित बनाउन जिल्लास्तरबाटै प्रक्रिया अघि बढाएको जनाएको छ ।

कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी मंसिर १६ देखि २९ गतेसम्म गर्ने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले यसअघि तोकिएका मिति कार्यान्वयन हुन नसकेपछि प्रतियोगिताको मिति चौथो पटक परिवर्तन गरेको थियो ।

प्रकाशित मितिः   ६ आश्विन २०८३, मंगलवार १५:२६