राराको पर्यटनः सम्भावनाको शिखर, विकासको चुनौती
परिचय
नेपाल प्राकृतिक सौन्दर्य, हिमाली भू–दृश्य, जैविक विविधता तथा सांस्कृतिक विविधताका कारण विश्वमै विशिष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । यिनै प्राकृतिक सम्पदामध्ये कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा तालले पनि पर्यटकीय गन्तव्यको हिसाबले विशेष महŒव बोकेको छ । समुद्री सतहदेखि करिब २,९९० मिटर उचाइमा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो प्राकृतिक ताल हो, जसको क्षेत्रफल १०.८ वर्ग किलोमिटर, लम्बाइ ५.२ किलोमिटर, चौडाइ करिब दुई किलोमिटर तथा गहिराइ १६७ मिटर रहेको छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ ।
रारा ताल केवल एक जलाशय मात्र होइन; यो कर्णाली प्रदेशको पर्यटन विकास, स्थानीय अर्थतन्त्रको रूपान्तरण, वातावरणीय संरक्षण तथा सामुदायिक जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको बहुआयामिक सम्पदा हो । ताललाई चारैतिर रारा राष्ट्रिय निकुञ्जले घेरेको छ, जसले यस क्षेत्रको पारिस्थितिक सन्तुलन, वन्यजन्तु संरक्षण र प्राकृतिक दृश्यात्मकता कायम राख्न योगदान पु¥याएको छ ।
ऐतिहासिक दृष्टिले रारा तालको नामाकरण विभिन्न चरणमा विकसित भएको देखिन्छ । कतिपय सन्दर्भमा यसलाई ‘महेन्द्र ताल’ समेत भनिएको पाइन्छ, तर स्थानीय तथा राष्ट्रिय पहिचानमा ‘रारा’ नाम नै सर्वाधिक प्रचलित र मौलिक मानिन्छ । राजा महेन्द्रले वि.सं. २०२० मा रारा ताल भ्रमण गरेपछि केही समय यस तालको नाम ‘महेन्द्र ताल’ राखिएको थियो । यो ताल नेपाली पर्यटन इतिहासमा राजकीय भ्रमण, राष्ट्रिय भ्रमण तथा पछिल्लो समय प्रादेशिक पर्यटन नीतिको केन्द्रबिन्दुका रूपमा स्थापित हुँदै आएको छ ।
राराको भौगोलिक विशेषता केवल यसको आकार र उचाइमा सीमित छैन; यसको आसपासको भू–आकृति, हिमश्रृंखलाहरू, वनस्पति आवरण र न्यून मानव हस्तक्षेपले यसलाई विशिष्ट बनाएको छ । तालबाट मुर्माटप, अपि–सैपाल, सिस्ने, कान्जिरोवालगायत हिमाली दृश्यहरू अवलोकन गर्न सकिने हुँदा यो क्षेत्र दृश्यावलोकन तथा प्रकृति अध्ययन दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
रारामा पर्यटक
आर्थिक वर्ष २०८१/०८२ मा रारा तालमा पर्यटक आगमन तथा पर्यटनजन्य राजश्वमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । विभिन्न लेख तथा अध्ययनहरूमा प्रकाशित तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा रारामा कुल १९,४४७ पर्यटक पुगेका थिए, जसमा १९,०९४ नेपाली, ७७ सार्क राष्ट्रका, र २७६ अन्य देशका पर्यटक समावेश थिए; सोही आर्थिक वर्षमा रू. ६२ लाख ७२ हजार २२० राजश्व संकलन भएको उल्लेख छ । यी तथ्याङ्कले राराको प्राकृतिक आकर्षणप्रतिको आन्तरिक तथा सीमित अन्तर्राष्ट्रिय चासो निरन्तर बढिरहेको संकेत गरे पनि, विदेशी पर्यटकको न्यून सहभागिता, पहुँचको कठिनाइ, र पूर्वाधारको अपर्याप्तताजस्ता संरचनात्मक चुनौतीहरू अझै कायम रहेको स्पष्ट हुन्छ ।
आर्थिक वर्ष २०८०/०८१ मा रारामा १७,२९७ जना पर्यटक पुगेका थिए भने आ.व. २०८१/०८२ मा यो संख्या बढेर १९,४४७ जना पुगेको छ, अर्थात् करिब १२.४२ प्रतिशतले पर्यटक वृद्धि भएको हो । यस अवधिमा रारामा आएका पर्यटकमध्ये बहुसंख्यक नेपाली पर्यटक रहेका छन्, जसले रारा अझै पनि मुख्यतः आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकसित भइरहेको देखाउँछ । राजश्वतर्फ पनि आ.व. २०८०/०८१ मा करिब रू. ४७ लाख ५७ हजार ५९६ संकलन भएकोमा आ.व. २०८१/०८२ मा यो बढेर रू. ६२ लाख ७२ हजार २२० पुगेको रिपोर्टिङ छ, जसले राराको पर्यटन गतिविधिसँगै सरकारी पर्यटन राजश्व पनि बढेको संकेत गर्छ । तथापि, यो वृद्धिसँगै सडक पहुँच, आवास, सेवा गुणस्तर र पर्यटक व्यवस्थापनका चुनौतीहरू अझै कायम रहेको तथ्यले राराको पर्यटन विकासलाई दिगो र योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता प्रष्ट पार्छ ।
रारासम्मको पहुँच र पूर्वाधार
रारा तालसम्म पुग्ने पहुँच अहिले पनि सडक, हवाई र पैदल तीनै माध्यमबाट सम्भव भए पनि तीमध्ये कुनै पनि मार्ग पूर्ण रूपमा सहज र व्यवस्थित छैन । विगतमा रारा पुग्न अत्यन्तै कठिन मानिन्थ्यो; लामो पैदलयात्रा, कच्ची बाटो, गाडी नचल्ने अवस्था, र मौसमअनुसार बारम्बार अवरोध हुने समस्याका कारण रारा ‘दुर्गम गन्तव्य’ का रूपमा चिनिन्थ्यो । अहिले भने नेपालगन्ज–सुर्खेत–जुम्लाबाट स्थलमार्ग हुँदै मुगुतर्फ जाने सुविधा विकसित भएको छ, तर सडक अझै पनि साँघुरो, घुमाउरो, पहिरोप्रवण र वर्षायाममा जोखिमपूर्ण रहेको छ । साथै, रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पदमार्ग र वरिपरिका पर्यटकीय मार्गहरू पर्याप्त रूपमा स्तरीकृत नहुँदा पैदलयात्रा अझै चुनौतीपूर्ण छ ।
हवाईमार्गतर्फ नेपालगञ्जबाट ताल्चा विमानस्थलसम्म उडानको विकल्प उपलब्ध छ र त्यहाँबाट रारा तालसम्म पुग्न करिब दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्छ । जुम्लाबाट ट्रेकिङमार्ग हुँदै ३–५ दिनको पैदलयात्रामा रारा पुग्ने विकल्प पनि छ । यसले रारा पर्यटकीय दृष्टिले पहुँचयोग्य भए पनि गन्तव्यसम्मको प्रत्यक्ष सुविधा अझै सीमित रहेको स्पष्ट हुन्छ । पैदलमार्ग रोज्ने यात्रुहरूका लागि पर्याप्त आश्रयस्थल, मार्गचिन्ह, पानी, शौचालय, प्राथमिक उपचार र आपत्कालीन सहायता प्रणाली अझै कमजोर छ ।
पूर्वाधारतर्फ हेर्दा, रारा वरिपरि पर्यटन प्रवद्र्धनका लागि सडक स्तरोन्नति, पदमार्ग निर्माण, साइकल लेन र अन्य पर्यटकीय संरचना निर्माणका प्रयासहरू भएका छन् । तर यीमध्ये धेरै काम ढिलाइ, ठेक्का विवाद, कार्यान्वयन सुस्तता वा अलपत्र अवस्थासँग जोडिएका छन् । रारा वरिपरिको पर्यटकीय पूर्वाधार निर्माण आयोजना समयमा सम्पन्न हुन नसकेकाले योजनागत सुधार भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको देखाउँछ । त्यसैले २०८१/०८२ सम्म आइपुग्दा राराको पहुँचमा केही सुधार भए पनि यसलाई अझै ‘पूर्ण विकसित पर्यटन गन्तव्य’ भन्न सकिने अवस्था छैन; यो अझै पनि उच्च सम्भावना भएको तर पूर्वाधारमा सीमित गन्तव्यकै रूपमा रहेको छ ।
पर्यटनको आर्थिक योगदान
आर्थिक योगदान र कर संकलनका दृष्टिले राराको योगदान प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष र बहु–क्षेत्रीय छ । रारा क्षेत्रमा आउने पर्यटकले तिर्ने प्रवेश शुल्क मात्र होइन, आवास, यातायात, खाना, घोडा सेवा, गाइड सेवा, र स्थानीय व्यापारमार्फत करयोग्य कारोबार पनि बढ्छ । आ.व. २०८१/०८२ को मध्यसम्म, अर्थात् २०८२ साल जेठ ५ गतेसम्म रारा भ्रमण गर्ने पर्यटकमध्ये १२,७६१ आन्तरिक, ४५ सार्क, र २०८ अन्य देशका थिए, र सोही अवधिमा रू. ४४ लाख ९१ हजार राजश्व संकलन भएकोमा त्यसमध्ये रू. ३१ लाख २७ हजार राजश्व पर्यटन शुल्कबाटै आएको थियो । यसले रारामा राजश्व संकलनको आधार अझै सीमित भए पनि वृद्धि दर सकारात्मक रहेको देखाउँछ ।
समस्या र चुनौतीहरू
- राराको पर्यटन बजारमा रहेका प्रणालीगत समस्या र चुनौतीहरू मुख्यतः नीतिगत कमजोरी, पूर्वाधार अभाव, वित्तीय स्रोतको अपव्यय, सेवा गुणस्तरको कमी र संस्थागत समन्वयको अभाव वरिपरि केन्द्रित छन् । पछिल्ला रिपोर्टहरूअनुसार रारा र से–फोक्सुण्डोजस्ता गन्तव्यका लागि छुट्याइएका बजेटमध्ये ठूलो हिस्सा कार्यान्वयनमै जान नसकेको, केही रकम फ्रिज भएर बसेको, र केही तलब–भत्तामा खर्च हुने भएकाले निर्माण तथा स्तरोन्नतिका लागि पर्याप्त रकम नबचेको देखिन्छ । यसले पर्यटन विकासमा ‘बजेट छ, तर परिणाम छैन’ भन्ने संरचनागत समस्या उजागर गर्छ ।
राराले पर्यटन सम्भावनासँगै गम्भीर चुनौतीहरू पनि सामना गरिरहेको छ । पहिलो र प्रमुख चुनौती भौतिक पहुँच हो । सडक, हवाई तथा पैदलमार्गका विकल्प भए पनि कुनै पनि मार्ग पूर्ण रूपमा सहज र व्यवस्थित छैन, जसले यात्राको लागत र समय बढाउनुका साथै पर्यटकको बसाइ तथा पुनःआगमनमा समेत नकारात्मक असर पार्न सक्छ । दोस्रो, आवास र सेवा पूर्वाधार कमजोर छः स्वच्छ होटल, आरामदायी लज, आपत्कालीन स्वास्थ्य सेवा, सूचना केन्द्र, शौचालय, खानेपानी र नेटवर्क सुविधाको कमीले पर्यटकको अनुभव कमजोर बनाउँछ । तेस्रो, प्रवद्र्धन र बजार व्यवस्थापन पर्याप्त छैनः व्यवस्थित सूचना केन्द्र, मार्गदर्शन, प्याकेजिङ, र डिजिटल प्रचार पर्याप्त नहुँदा पर्यटकहरू भ्रम, गलत सूचना र अनावश्यक शुल्कको जोखिममा पर्छन् ।
चौथो, स्थानीय लाभको वितरण कमजोर छ । आम्दानी केही बढे पनि त्यो रकम स्थानीय उद्यम, होमस्टे, कृषि, हस्तकला र रोजगारीमा पर्याप्त रूपमा रूपान्तरण हुन सकेको छैन । पाँचौं, संस्थागत समन्वयको कमी छः संघ, प्रदेश र स्थानीय तहका कार्यक्रमहरू छुट्टाछुट्टै चल्दा दोहोरोपन, ढिलाइ र अलपत्र परियोजनाहरू देखिएका छन् । त्यसैले राराको पर्यटन बजारलाई दिगो बनाउन केवल पर्यटक संख्यामा होइन, पहुँच, सेवा, सूचना, लगानी संरक्षण, स्थानीय सहभागिता र कार्यान्वयन क्षमतामा सुधार ल्याउनु आवश्यक छ ।
सम्भावना र प्रयासहरू
- समुदाय आधारित पर्यटन मोडल बनाउनेः राराको पर्यटन विकासमा समुदाय आधारित पर्यटन (ऋयmmगलष्तथ द्यबकभम त्यगचष्कm(ऋद्यत्) मोडललाई बलियो बनाउन स्थानीय स्वामित्व, संस्थागत क्षमता विकास, र बजार प्रवद्र्धनमा निरन्तरता आवश्यक छ; यसका लागि स्थानीय पर्यटन समिति गठन, होमस्टे प्रमाणीकरण, सामुदायिक केन्द्र स्थापना र फोहोर व्यवस्थापन प्रणाली सञ्चालन गर्नुपर्छ, जसले आर्थिक लाभ स्थानीयमै सीमित गराउँदै सांस्कृतिक संरक्षण र वातावरणीय दिगोपनलाई पनि सुनिश्चित गर्छ । नेपालका घलेगाउँ र सिर्जुङ्गजस्ता सफल ऋद्यत् उदाहरणहरूले देखाएजस्तै, रारामा पनि महिला र युवा समूहको सहभागिता, सहकारी मोडल, डिजिटल मार्केटिङ, र स्थानीय ट्राभल एजेन्सीसँग साझेदारीमार्फत पर्यटनलाई समावेशी र दिगो बनाउन सकिन्छ, जसका लागि पर्यटन नीति २०८२, कर्णाली प्रदेशको १० वर्षे गुरुयोजना, र सोह्रौं योजना (२०८१/०८२–२०८५/०८६) ले नीतिगत र बजेटसमेतको सहयोग प्रदान गर्छन् । पर्यटन नीति २०८२ ले सम्भावित र उदीयमान पर्यटकीय क्षेत्रको अन्वेषण, विद्यमान वस्तुको स्तरोन्नति, र जिम्मेवार पर्यटन (च्भकउयलकष्दभि त्यगचष्कm) लाई प्रोत्साहन गर्ने नीति लिएको छ, जसले ऋद्यत् लाई प्रत्यक्ष सहयोग गर्छ । त्यसैगरी, कर्णाली प्रदेश पर्यटन नियमावली २०८० र कर्णाली पर्यटन बोर्ड (गठन) आदेश २०७६ ले संस्थागत ढाँचा प्रदान गर्छन्, जसअन्तर्गत स्थानीय समुदायले पर्यटन व्यवस्थापनमा सहभागिता जनाउन सक्छन् ।
राराको सन्दर्भमा ऋद्यत् लाई सफल बनाउन स्थानीय संस्कृति, भाषा, र परम्परालाई केन्द्रमा राख्दै होमस्टे, सांस्कृतिक प्रदर्शन, स्थानीय खाद्य सेवा र कृषि–पर्यटनलाई जोड्नुपर्छ, जसले पर्यटकको बसाइ अवधि लम्ब्याउने, खर्च बढाउने, र पुनःआगमन प्रोत्साहित गर्नेछ । यसका लागि तालिम, परामर्श, सरकारी तथा गैरसरकारी सहयोग, सहकारी ऋण, अनुदान र निजी साझेदारीमार्फत वित्तीय र प्राविधिक समर्थन आवश्यक छ ।
- रारालाई नेपालको प्रमुख उच्च पर्यटन गन्तव्य बनाउनेः रारालाई नेपालको प्रमुख उच्च हिमाली पर्यटन गन्तव्य बनाउन यसको अनौठो प्राकृतिक सुन्दरता, उच्च हिमाली पारिस्थितिकी र सांस्कृतिक सम्पदालाई केन्द्रमा राख्दै दिगो पर्यटन विकासको रणनीति आवश्यक छ । रारा ताललाई सन् २००७ मा रामसार सूचीमा सूचीकृत गरिएको छ र यसको वरिपरि उच्च उचाइमा कनिफरयुक्त वन, हिमाली दृश्य र ५१ प्रजातिका स्तनधारी तथा २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन्, जसले यसलाई इको–टुरिजम, साहसिक पर्यटन, र दृश्यावलोकनका लागि उपयुक्त बनाउँछ । रारालाई प्रमुख गन्तव्य बनाउन पूर्वाधार विकास (सडक, हवाई, होमस्टे, रिजोर्ट), बजार प्रवद्र्धन (डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रचार), समुदाय आधारित पर्यटन मोडल (स्थानीय सहभागिता, होमस्टे, सांस्कृतिक कार्यक्रम), र वातावरणीय संरक्षण (फोहोर व्यवस्थापन, वहन क्षमता) मा लगानी आवश्यक छ; कर्णाली प्रदेश सरकारले ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ नाराअन्तर्गत १०१ वटा पर्यटकीय क्षेत्र पहिचान गरेको छ, जसमध्ये रारा प्रमुख हो, र मुर्मा टपमा तारे रिजोर्ट निर्माण तथा सडक स्तरोन्नतिजस्ता परियोजनाहरूले यसको पहुँच र आकर्षण बढाएका छन् ।
- स्थानीय सहभागिता र आतिथ्य सेवालाई केन्द्रमा राख्नेः राराको पर्यटन विकासमा स्थानीय सहभागितालाई बलियो बनाउन गाइड तालिम, हस्तकला, स्थानीय उत्पादन, र आतिथ्य सेवालाई केन्द्रमा राख्नुपर्छ; स्थानीय युवालाई लाइसेन्सप्राप्त गाइडका रूपमा तालिम दिने (जस्तै अन्नपूर्ण गाउँपालिकाले चालिस जना युवालाई पर्यटक व्यवहार, हिमपहिरो सुरक्षा, पर्यटन कानुन, वनस्पति, जीव, ट्रेकिङ, र हिमाली संस्कृतिमा तालिम दिएर सफलता प्राप्त गरेको छ), हस्तकला उत्पादनलाई पर्यटनसँग जोड्ने (पोखरामा हस्तकलाले पर्यटक आगमन, रोजगारी सिर्जना, र आय वृद्धिमा महŒवपूर्ण भूमिका खेलेको अध्ययनले देखाएको छ), स्थानीय उत्पादन (ऊनी सामग्री, काठको नक्कासी, परम्परागत कपडा, जडिबुटी) लाई बजारसँग जोड्ने, र आतिथ्य सेवा (होमस्टे, स्थानीय खाना, सांस्कृतिक कार्यक्रम) लाई स्तरीय बनाउने आवश्यक छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थासँग साझेदारी गरी तालिम केन्द्र स्थापना, हस्तकला बजार प्रवद्र्धन, र होमस्टे प्रमाणीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसले राराको पर्यटनलाई दिगो र समावेशी बनाउँछ ।
- जुम्ला–रारा पर्यटकीय सर्किटलाई महत्त्व दिनेः जुम्ला–रारा पर्यटकीय सर्किटलाई महŒव दिनुपर्छ किनकि यो केवल एउटा गन्तव्य मात्र होइन, कर्णालीको सांस्कृतिक, ऐतिहासिक, र प्राकृतिक विविधतालाई जोड्ने सम्पूर्ण अनुभव हो; जुम्लाको सिञ्जा उपत्यका खस साम्राज्यको ऐतिहासिक केन्द्र मानिन्छ, जहाँबाट नेपाली भाषाको उद्गम भएको मानिन्छ, र त्यहाँबाट रारा तालसम्मको ५–७ दिनको ट्रेकिङ मार्गले घना वन, उच्च हिमाली दृश्य, परम्परागत गाउँ, र सांस्कृतिक सम्पदाको अनौठो मिश्रण प्रदान गर्छ । यो सर्किटले पर्यटकलाई ऐतिहासिक गहिराइ, सांस्कृतिक अनुभव र प्राकृतिक आकर्षण एउटै यात्रामा प्रदान गर्छ, जसले पर्यटकको बसाइ अवधि लम्ब्याउँछ, खर्च बढाउँछ, र स्थानीय अर्थतन्त्रमा बहु–आयामिक लाभ पुर्याउछ । जुम्ला विमानस्थलबाट रारासम्मको ट्रेकिङ सुरु गर्न सकिने भएकाले पहुँच सहज बन्छ; यस सर्किटले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ (होमस्टे, गाइड, हस्तकला, स्थानीय खाना) पु¥याउँदै दिगो पर्यटनको नमुना पनि बन्न सक्छ ।
सुझावहरू
- एकाधिकारको अन्त्यः रारा क्षेत्रमा सीमित होटल वा आवास व्यवसायीको मात्र प्रभुत्व कायम रहँदा सेवाको विकल्प र गुणस्तरीय सेवा प्राप्त गर्न कठिन हुन्छ । यस्तो अवस्थाले सेवा शुल्क बढाउने, विकल्प सीमित गर्ने र स्थानीय व्यवसायी तथा समुदायलाई पर्यटनबाट प्राप्त हुने लाभबाट वञ्चित गर्ने सम्भावना हुन्छ । त्यसैले सरकारले होटल, होमस्टे, लज तथा अन्य पर्यटन सेवामा स्वस्थ प्रतिस्पर्धा कायम हुने वातावरण सिर्जना गर्नुपर्छ ।
- पर्यटनको गुणस्तरमा जोडः पर्यटन विकासको सफलता केवल कति जना पर्यटक आए भन्ने संख्याबाट मापन गर्नु पर्याप्त हुँदैन । धेरै पर्यटक आए पनि उनीहरूको बसाइ छोटो छ, खर्च न्यून छ र स्थानीय अर्थतन्त्रमा लाभ सीमित छ भने त्यसलाई प्रभावकारी पर्यटन विकास मान्न सकिँदैन । त्यसैले पर्यटकको सङ्ख्या गन्ने परम्परागत प्रवृत्तिभन्दा उनीहरूको बसाइ अवधि, प्रतिपर्यटक खर्च, सेवा सन्तुष्टि, पुनःआगमनको सम्भावना र स्थानीय अर्थतन्त्रमा परेको प्रभावलाई प्राथमिकता दिनुपर्छ ।
- प्रवर्द्धन र बजारीकरणः रारा तथा यससँग सम्बन्धित पदमार्ग र नयाँ पर्यटकीय गन्तव्यको सम्भावना पर्याप्त भए पनि प्रभावकारी प्रचार–प्रसारको कमीका कारण यसको लाभ सीमित रहन सक्छ । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योजनाबद्ध बजारीकरण अभियान सञ्चालन गर्न आवश्यक छ । पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र ट्राभल एजेन्सीबीच सहकार्य गरी राराको विशेषता, पहुँच, मौसम, आवास, सुरक्षा र पर्यटन गतिविधिबारे विश्वसनीय सूचना सार्वजनिक गर्नुपर्छ ।
- सांस्कृतिक केन्द्रहरूको विकासः पर्यटकहरूलाई थप गहिरो सांस्कृतिक अनुभव प्रदान गर्न सांस्कृतिक केन्द्रहरू विकास गर्नुपर्छ । यसबाट पर्यटकलाई स्थानीय जीवनशैली, भाषा, कला, परम्परा, लोकसंगीत, नृत्य, पोसाक, खानपान र हस्तकलासँग प्रत्यक्ष रूपमा परिचित गराउन सकिन्छ । यस्ता केन्द्रहरूमा स्थानीय संग्रहालय, सांस्कृतिक प्रदर्शनी, परम्परागत परिकार तथा कला–सीप प्रदर्शनका साथै स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
निष्कर्ष
रारा ताल कर्णाली प्रदेशको मात्र नभइ सम्पूर्ण नेपालको मुख्य प्राकृतिक तथा पर्यटकीय सम्पदा हो । यसको उच्च हिमाली अवस्थिति, स्वच्छ जल, मनमोहक प्राकृतिक दृश्य, जैविक विविधता र शान्त वातावरणले यसलाई विशिष्ट पर्यटन गन्तव्य बनाएको छ । रारा राष्ट्रिय निकुञ्ज तथा रामसार क्षेत्रसँग सम्बन्धित भएकाले यसको महत्त्व पर्यटनका साथै वातावरणीय संरक्षण र जैविक विविधताको दृष्टिले पनि अत्यन्त महŒवपूर्ण छ । रारामा पर्यटनको बजार शृङ्खलामा यातायात, आवास, भोजन, गाइड सेवा, पदयात्रा, स्थानीय उत्पादन, हस्तकला तथा सरकारी राजश्वजस्ता विभिन्न पक्ष समावेश हुन्छन् । पर्यटकले गर्ने खर्च यातायात व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, स्थानीय गाइड, पोर्टर, किसान र खुद्रा व्यापारीसम्म पुग्न सक्छ । यसकारण पर्यटन बजार श्रृंखला व्यवस्थित र स्थानीय सहभागितामूलक बनाउन सकिएमा राराले स्थानीय रोजगारी, आय वृद्धि र उद्यमशीलताको विकासमा महŒवपूर्ण योगदान पु¥याउन सक्छ ।
यद्यपि, राराको पर्यटन विकासमा यातायातको कठिनाइ, अपर्याप्त आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा, सञ्चार र पदमार्गजस्ता समस्या विद्यमान छन् । पर्यटकको संख्या बढ्दै गए पनि पूर्वाधार र सेवा–सुविधा पर्याप्त नहुँदा पर्यटनको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । साथै, अव्यवस्थित पर्यटनले फोहोर, प्रदूषण र जैविक विविधतामा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम पनि छ । राराको विकासका लागि दिगो पर्यटन नीति, वातावरणमैत्री पूर्वाधार, प्रभावकारी फोहोर व्यवस्थापन, स्थानीय समुदायको सहभागिता र सरकारी निकायबीच समन्वय आवश्यक छ । स्थानीय कृषि उत्पादन, हस्तकला, जडिबुटी र सांस्कृतिक सेवाहरूलाई पर्यटन बजारसँग जोड्न सकेमा लाभ स्थानीय समुदायसम्म पुग्न सक्ने सम्भावना बढ्छ । संरक्षण र विकासबीच सन्तुलन कायम गर्न सकिएमा रारा कर्णालीको आर्थिक समृद्धि, सांस्कृतिक पहिचान र वातावरणीय संरक्षणको दीर्घकालीन आधार बन्न सक्छ ।
(लेखक बिन्दु कार्की ऋति फाउन्डेसनमा अनुसन्धान प्रशिक्षार्थीको रूपमा कार्यरत छन्)
प्रकाशित मितिः ४ आश्विन २०८३, आईतवार १०:०३

साझा बिसौनी ।