दशौँ राष्ट्रिय खेलकुदको तयारी
सुर्खेत: पाँचौँ पटक तोकिएको मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न तयारी अघि बढेको छ । अब स्थगित नहुने गरेर प्रतियोगिता आयोजनाको तयारी अघि बढाइने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
आउँदो मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय सरकारले गरिसकेको छ । सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा प्रतियोगिताका खेलहरू सञ्चालन गरिने छ ।
२०८१ मै हुनुपर्ने प्रतियोगिता सर्दै आगामी मंसिरमा पुगेको हो । योसँगै पाँचौँ पटक मिति तोकिएको हो । २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदको समापनको क्रममा नै १०औँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । तर निर्धारित मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो, उक्त मितिमा पनि भएन । तेस्रो पटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक फागुन १ देखि ७ चैतका लागि स¥यो । आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन । त्यसपछि जेन–जी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेको थिएन ।
२०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ । यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो । यद्यपि, निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल दशौँ संस्करण हुँदैछ ।
दशौँ राष्ट्रिय खेलकुदलाई ध्यानमा राखेर निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला अन्तिम चरणमा पुगेर रोकिएको छ । करिब ९९ प्रतिशत निर्माण सकिएको रंगशालामा ठेकेदार कम्पनीले काम गर्न छाडेको दुई वर्ष पुग्यो । तर उक्त ठेक्काको न म्याद थप भएको छ न ठेक्का नै रद्द भएको छ । जसका कारण दसौं राष्ट्रिय खेलकुदको म्याद पटकपटक सर्दै अनिश्चित बनेको छ ।
रंगशाला कर्णाली प्रदेश सरकारको पहिलो गौरवको आयोजना हो । झन्डै नौ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला निर्माणका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग एमएसी÷जीएसएल जेभीले एक अर्ब ५९ करोड ४७ लाख रूपैयाँमा २०७८ मंसिरमा सम्झौता गरेको थियो । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरू भएको रंगशालाको म्याद २०८१ जेठसम्म थियो । तर कोरोना महामारी, निर्माण सामग्रीको अभाव, दक्ष जनशक्तिको कमीलगायत समस्या देखाउँदै ठेकेदार कम्पनीले अनुरोध गरेपछि २०८१ मंसिरमा एक वर्षका लागि म्याद थपिएको थियो । तर उक्त अवधिमै तत्कालीन सदस्य सचिवलगायत पदाधिकारीको कार्यकाल सकियो, सार्वजनिक खरिद नियमावली अनुसार ठेकेदार पक्षले म्याद सकिएको ६ महिनाभित्र थप म्याद थपका लागि कारणसहित परिषद्लाई अनुरोध गर्नुपथ्र्यो । परिषद् विघठित हुँदा ठेकेदार पक्षले म्याद थपको लागि निवेदन नै पेस गर्न पाएन, म्याद सकिएकै लामो समय भइसक्यो ।
अब रंगशालाको प्रवेशद्वारमा कालोपत्र गर्ने, अन्तिम रंगरोगन गर्ने, विद्युत र खानेपानी जडान गर्नेलगायत काम बाँकी छ । ठेकेदार कम्पनीले काम काम सकेको झन्डै नौ करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाइएको छ ।
विगतमा पटक–पटक मिति तोक्ने तर प्रतियोगिता आयोजना हुन नसक्दा अझै पनि अनिश्चितता देखिएको छ । यद्यपि, यसपटक भने तोकिएकै मितिमा प्रतियोगिता हुने र नसारिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विश्वास छ । दशौँ राष्ट्रिय खेलकुद कार्यसम्पादन समितिका सचिव फणिन्द्र पौडेलले विगतमा मिति सारिँदा खेलाडी र खेलकुद क्षेत्रमै निराशा बढेको बताए । प्रतियोगिता पटक–पटक सारिँदाको प्रत्यक्ष असर खेलाडीलाई परेको उनको भनाइ छ ।
यसपालि प्रतियोगिता सञ्चालनका निम्ति काम केही अघि बढाइएको उनले बताए । ‘अब रोकिने कारण छैन, तोकिएको मितिमै प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी अघि बढेको बढेको छ,’ पौडेलले भने, ‘हामीले त्यहीअनुसार कामलाई अगाडि बढाएका छौँ ।’
अब प्रतियोगिता सञ्चालनका निम्ति खरिद प्रक्रिया अघि बढाउनुपर्नेछ । खेल पोसाक, सामग्री तथा निर्माणसम्बन्धी काम सार्वजनिक खरिद प्रक्रियामार्फत गर्नुपर्ने भएकाले त्यसमा समय लाग्ने राखेपले जनाएको छ । खरिदसम्बन्धी कामलाई प्राथमिकतामा राखेर छिट्टै टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।
प्रकाशित मितिः २८ भाद्र २०८३, आईतवार ०५:०५
साझा बिसौनी ।