पेट्रोलियम उत्खनन्मा जोड
सुर्खेत: कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले दैलेखमा पेट्रोलियम उत्पादन उत्पादन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक उत्खनन्ले प्रमाणित गरिसकेकाले उत्खनन् र उत्पादनको काम तत्काल अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ग्यास अन्वेषणको काम अघि बढिरहेका बेला करिब दुई वर्षदेखि उत्खनन् रोकिएको र बजेट अभावमा अर्बौं रूपैयाँका उपकरण तथा मेसिन प्रयोगविहीन भएर जीर्ण बन्दै गएको उनले बताए । ‘पैतालामुनि ग्यास छ, तर बजारमा जनता भोकै छन् । यस्तो अवस्थामा हामीले उपलब्ध स्रोतको सदुपयोग गर्न सकेनौँ भने विकास र समृद्धिको कुरा मात्र गरेर हुँदैन,’ जोशीले भने । उनले दैलेखको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननलाई संघीय सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
रोकिएको काम अघि बढाउन सके भविष्यमा ग्यासका लागि आत्मनिर्भर बन्ने सम्भावना रहेको उनको भनाइ थियो । प्रदेश र स्थानीय सरकारले पनि संघीय सरकारलाई झकझक्याउँदै उत्खनन्को काम अघि बढाउन पहल गर्नुपर्ने जोशीले बताए । कर्णालीमा सम्भावना धेरै भएपनि त्यसको सदुपयोगका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । जोशीले सहिदको बलिदानबाट प्राप्त व्यवस्था जोगाउँदै भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अघि बढ्न नयाँ सरकारलाई आग्रहसमेत गरे ।
प्रकाशित मितिः ५ भाद्र २०८३, शुक्रबार ०५:०१
साझा बिसौनी ।