महिला उद्यमीका लागि वित्तीय साक्षरता

सुर्खेत: महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तालिम आयोजना गरिएको छ । महिला उद्यमी महासंघको आयोजनामा कर्णाली प्रदेशका महिला उद्यमी महिलाहरूलाई तालिमको आयोजना गरिएको हो । वीरेन्द्रनगरमा दुई दिनसम्म चल्ने तालिम आइतवारबाट सुरु गरिएको महिला उद्यमी महासंघका कार्यक्रम संयोजक मनोज तिमल्सेनाले बताए । तालिम भोली सोमवारसम्म चल्नेछ ।
महिला उद्यमीहरूको वित्तीय साक्षरतामा अभिवृद्धि गर्दै डिजिटल वित्तीय सेवामा पहुँच विस्तार गर्ने र उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको तिमल्सेनाले जानकारी दिए । तालिममा कर्णालीका ४० महिला उद्यमीको सहभागिता रहेको छ । पहिलो दिन आइतवार डिजिटल बंैकिङ र डिजिटल वालेटसम्बन्धी एनएमबी बैंक लिमिटेड सुर्खेतका शाखा प्रमुख विक्रम थापाले सहजीकरण गरेका थिए । उनले डिजिटल क्रण भुक्तानी प्रक्रियाका बारेमा समेत जानकारी गराएका थिए ।
यस्तै, इ–सेवाको बारेमा ई–सेवा कार्यालय सुर्खेतका कैलाशजंग शाहीले सहजीकरण गरेका थिए । उनले वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘डिजिटल युगमा महिला उद्यमीहरूका लागि वित्तीय ज्ञान र डिजिटल सेवाको प्रभावकारी उपयोग अनिवार्य भइसकेको छ । ई–सेवामार्फत उपलब्ध डिजिटल सेवाहरूले व्यवसाय सञ्चालनलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन महŒवपूर्ण भूमिका खेल्नेछन् ।’
महिला उद्यमी महासंघका कार्यक्रम कोडिनेटर सृष्टी चौधरीले डिजिटल अर्थतन्त्रको विकाससँगै उद्यमीहरूका लागि डिजिटल साक्षरता अपरिहार्य बनेको बताइन् । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सहभागीहरूलाई आग्रह गरिन् ।
तालिममा विशेष गरी महिला उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, डिजिटल भुक्तानी प्रणाली, सुरक्षित डिजिटल कारोबार, बैंक तथा वित्तीय संस्थाका सेवाहरू, डिजिटल वालेट, रेमिटेन्स, सामाजिक सुरक्षा कोष, र बिमा सेवाबारे प्रयोगात्मक जानकारी दिइएको थियो । साथै, डिजिटल कारोबारमा हुनसक्ने ठगी र साइबर जोखिमबाट बच्ने उपायहरू र साना तथा मझौला उद्योगका लागि सम्भावित लगानीका क्षेत्रबारे समेत छलफल गरिएको थियो ।
प्रकाशित मितिः २९ असार २०८३, सोमबार ०५:०२
साझा बिसौनी ।