कर्णाली भित्रियो मनसुन
सुर्खेत: कर्णाली प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मंगलवारदेखि कर्णालीमा पनि मनसुन विस्तार भएको हो ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मंगलवार कर्णालीसहित गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा मनसुन विस्तार भएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशका कैयौ स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
बुधवार र बिहीवार पनि मनसुनी गतिविधि बढ्न सक्ने जनाइएको छ । विशेष गरेर कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिन् । खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बस्ने तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान र सुरक्षित स्थानको जानकारी राख्न अनुरोध गरिएको छ ।
यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयम्सेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
प्रकाशित मितिः १७ असार २०८३, बुधबार ०५:०१
साझा बिसौनी ।