नीति–कार्यक्रम पारित

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । शनिवार बसेको प्रदेशसभाको बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली, २०८१ नियम ३९ को उपनियम–४ बमोजिम मुख्यमन्त्री यामलाल कँडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव पेस गर्न समय दिएकी थिइन् । मुख्यमन्त्री कँडेलले सभासमक्ष सो प्रस्ताव पेस गरेसँगै सभामुख गुरुङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरिन् ।

नीति तथा कार्यक्रम बिहीवारदेखि प्रदेशसभामा पेस भएर छलफल भएको थियो । जसमा पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलका नेता मङ्गलबहादुर शाही, प्रदेशसभा सदस्य बेदराज सिंह, टेकराज पछाइ, बिन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, भीमप्रकाश शर्मा, खड्गबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा शाही, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्राकुमारी शाहीलगायतले आफ्ना धारणासहित सुझाव दिएका थिए ।

बैठकमा भाग लिने प्रदेशसभा सदस्यले कर्णालीको बहुआयामिक गरिबी घटाउने, मानव सूचकाङ्क बढाउने, कृषि, पर्यटनको विकासमार्फत रोजगारी सिर्जना गर्न, सडक सञ्जाल जोड्ने र भुईं मान्छेको आवश्यकता एवम् समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाएका थिए । प्रदेशसभाको नवौँ बैठक आगामी असार १ गते दिउसो ३ः०० बजे बस्ने जनाइएको छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०८३, आईतवार १६:२३