चिन पुग्छ कर्णालीको चुत्रो र गुर्जो

सुर्खेत: कर्णालीमा पाइने चुत्रो र गुर्जो प्रशोधन गरेर चिन पु¥याउने गरिएको छ । सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका कृषकले संकलन गरेर आम्दानीको स्रोत बनाएका छन् ।

महत्त्व नबुझेर अहिलेसम्म जंगलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजंगलमा खेर गइरहेको चुत्रो र गुर्जो संकलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १० खरायो चौरमा सञ्चालनमा आएको चिनियाँ कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । पाँच करोड लगानीमा ५५ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ६० नेपाली कार्यरत छन् ।

कम्पनीले गुर्जो र चुत्रो संकलन गरेर बिक्री गर्न ल्याउने संकलकलाई चुत्रोका डाँठ जरालाई प्रतिकिलो ५५ तथा गुर्जोलाई प्रतिकिलोको २५ रूपैयाँ दिने गरेको छ । खेतबारी तथा वनजंगलमा सदियौँदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ । कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो चुत्रो संकलन गर्नेहरूको संख्या ह्वात्तै बढेको दैलेखको गुँरास गाउँपालिका वडा नं. ३ का छत्र थापाले बताए । आ–आफ्नो बारीको चुत्रो संकलन गर्न भ्याइनभ्याइ भएको उनले सुनाए । उनले भने, ‘पहिला यत्तिकै बारीमा सडेर जान्थ्यो, अहिले दैनिक रूपमा आम्दानीको स्रोत बनेको छ, खेतबारीमा झाडी हुँदा अन्नपात नहुने भएकाले फाडेर यत्तिकै हाल्ने गरेका थियाँै, यसको संकलन हुन थालेपनि खुसी लागेको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ । अहिले कर्णालीका दशवटै जिल्लाहरूबाट संकलन गरेर चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले बताए । २०८२ चैतबाट कम्पनीले काम सुरु गरेको उनले जनाए । अहिले धमाधम रूपमा संकलन र प्रशोधनको काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘२०८२ भदौ १६ गते विभागमा दर्ता गरेर २०८२ चैतमा सञ्चालनमा आएको छ, प्रत्यक्ष रूपमा ६०, तथा अप्रत्यक्ष रूपमा एक हजार पाँच सय नेपालीले रोजगारी पाएका छन् ।’

यस्तै पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ३ का सविन थापाले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोजी गर्न जानेहरूको संख्या बढेको बताए । उनले चुत्रो सहजै संकलन गर्न सकिने भएपनि गुर्जो खोजी गर्न भने समय लाग्ने बताए । उनले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने जनाए ।

औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भएपनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालयसुर्खेतले यसबारे ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय र सामुदायिक वनभन्दा पनि निजी तथा व्यक्तिगत रूपमा नागरिकहरूले खोजेर बिक्री गर्ने गरेको पाइएको छ । चुत्रो र गुर्जो प्रतिबन्धित जडिबुटी नभएकाले नियमअनुसार बिक्री वितरण गर्न सकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यसको नियमन गर्ने अधिकार आफूहरूलाई नभए पनि नियम अनुसार बिक्री वितरण गर्न सकिने मन्त्रालयका सचिव अजितकुमार कर्णले बताए । उनले सामुदायिक वनले समेत वार्षिक कार्यक्रमअनुसार बिक्री गर्न पाउँछन् ।

उद्योग स्थापनाका विषयमा प्रदेश सरकारलाई पनि जानकारी गराइएको छ । चुत्रो र गुर्जाेबाट राम्रो आम्दानी गर्न सकिने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ । अहिले किषकहरूले नै रुचि राखेर संकलन तथा बिक्री वितरण गरिएको निर्देशनालयका निर्देशक पदमलाल सापकोटाले बताए । कर्णालीमा पहिलो पटक उक्त उद्योग दर्ता भएकाले पनि नागरिक उत्साहित बनेका छन् ।

 

 

प्रकाशित मितिः   १३ जेष्ठ २०८३, बुधबार १६:३७