पहिला दुव्र्यवहार, पछि क्षतिपूर्ति

सुर्खेत: नगर प्रहरीबाट दुव्र्यवहारमा परेकी महिलालाई वीरेन्द्रनगर नगरपालिकाले क्षतिपूर्ति दिएको छ । कालीकोट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्दै आएकी धमिला चौलागाईंलाई मंगलवार वीरेन्द्रनगरको नगर प्रहरीले दुव्र्यवहार गरेको थियो । डालोमा काफल बेच्दै गरेको अवस्थामा जबरजस्ती खोसेर प्रहरीले सडकमै काफल पोखिदिएका थिए । प्रहरीको उक्त दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा आएपछि सर्वत्र आलोचना भयो । त्यसपछि नगरपालिकाले महिलालाई कार्यालयमै बोलाएर क्षतिपूर्तिवापत नगद दश हजार रूपैयाँ दिएको हो ।

नगर प्रमुख मोहनमाया ढकालले बुधवार दिउँसो चौलागाईंलाई आफ्नै कार्यकक्षमा बोलाएर १० हजार रूपैयाँ क्षतिपूर्ति हस्तान्तरण गरेकी हुन् । ‘उहाँमाथि नगर प्रहरीबाट दुव्र्यवहार भएका मैले पनि भिडियोबाटै थाहा पाएँ,’ मेयर ढकालले भनिन्, ‘लगत्तै उहाँलाई बोलाएर राहत र प्रोत्साहन उपलब्ध गराएका छौँ ।’

दुव्र्यवहार गर्ने नगर प्रहरीलाई तत्काल विभागीय कारबाही गर्ने उनले बताइन् । नगरपालिकाले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापनको काम गर्दै आएको मेयर ढकालले बताइन् । ‘हामीले फुटपाथ व्यवसायीहरूका लागि पनि एउटा निश्चित र सुरक्षित ठाउँ छुटाइदिएका छौँ’, उनले भनिन् ।

नगरप्रमुख ढकालले उनलाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा केही समस्या परे नगरपालिकाले सहयोग गर्ने पनि बताइन् । क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएको मेयर ढकालले दाबी गरिन् ।

प्रकाशित मितिः   ७ जेष्ठ २०८३, बिहीबार १६:१४