योगी नरहरिनाथले उजागर गरेको ऐतिहासिक पञ्चकोशी

परिचयः कर्णालीको आध्यात्मिक मुटु

नेपालको भूगोलमा कर्णाली प्रदेशलाई प्रायः इतिहास र अध्यात्मको भूमी भनेर चिनिन्छ । यही कर्णालीको केन्द्रमा पर्ने दैलेख जिल्ला केवल भौगोलिक रूपमा मात्र होइन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सभ्यताको दृष्टिले पनि अत्यन्तै महŒवपूर्ण जिल्ला हो । दैलेखको भूमिमा खस सभ्यता, प्राचीन राज्य व्यवस्था, मठ–मन्दिर संस्कृति, शिव–शक्ति उपासना, वैदिक परम्परा, गुफा, शिलालेख, धारा, देउराली, पञ्चायतकालदेखि आधुनिक कालसम्मको धार्मिक यात्रा सबै भेटिन्छन् ।

दैलेख जिल्लाको विशेष पहिचान भनेको यहाँको ‘पञ्चकोशी क्षेत्र’ हो । पञ्चकोशी भन्नाले पाँच वटा प्रमुख धार्मिक तीर्थस्थललाई एउटै आध्यात्मिक यात्रामा बाँधिएको पवित्र भूभाग भन्ने बुझिन्छ । नेपालमा विभिन्न ठाउँमा पञ्चकोशी क्षेत्रको अवधारणा पाइन्छ, तर दैलेखको पञ्चकोशी क्षेत्र अत्यन्त प्राचीन, लोकविश्वासमा गहिरो र सांस्कृतिक रूपमा समृद्ध रहेको मानिन्छ । पञ्चकोशी क्षेत्रभित्र विशेष रूपमा पाँच वटा तीर्थस्थलको नाम उच्चारण गरिन्छ, जसमा छन् श्रीस्थान, नामिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर ।

यी पाँच तीर्थस्थल केवल मन्दिर मात्र होइनन्, यी दैलेखको सभ्यता, परम्परा, धार्मिक चेतना र इतिहासको आधारस्तम्भ हुन् । यस पञ्चकोशी क्षेत्रको महिमा केवल स्थानीय बासिन्दाको आस्थामा सीमित छैन, यसले सम्पूर्ण कर्णाली क्षेत्रलाई सांस्कृतिक रूपमा एकीकृत बनाएको छ ।

 

पञ्चकोशीको अवधारणाः पाँच तीर्थ—एक आध्यात्मिक यात्रा

‘पञ्च’ भनेको पाँच र ‘कोशी’ भन्नाले एक प्रकारको पवित्र क्षेत्र, तीर्थ–परिधि वा धार्मिक भ्रमण क्षेत्र भन्ने बुझिन्छ । हिन्दु सनातन परम्परामा कुनै क्षेत्रलाई पवित्र मान्दै त्यस वरिपरि निश्चित तीर्थहरूको समूह बनाइन्छ र ती तीर्थहरूको दर्शन–परिक्रमा गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यही विश्वासबाट पञ्चकोशी क्षेत्रको अवधारणा जन्मिएको हो ।

पञ्चकोशी क्षेत्रको महŒवका केही प्रमुख आधारहरू छन् । यहाँ शिव–शक्ति परम्पराको गहिरो प्रभाव छ । यो क्षेत्र खस साम्राज्य र प्राचीन कर्णाली सभ्यताको केन्द्र मानिन्छ । यहाँका मन्दिरहरू धार्मिक मात्र होइन, ऐतिहासिक प्रमाणका रूपमा पनि महŒवपूर्ण छन् । यहाँको जनजीवनमा पञ्चकोशी दर्शन एक प्रकारको सांस्कृतिक जीवनशैली बनिसकेको छ । यहाँ भएका धार्मिक अनुष्ठानहरू– विशेषतः कोटिहोम, महायज्ञ, शिवरात्रि, जनैपूर्णिमा, श्रावण सोमवार आदि पर्वहरूले क्षेत्रलाई अझ चर्चित बनाएका छन् ।

 

इतिहास, लोक विश्वास र धार्मिक चेतना

दैलेख क्षेत्रलाई प्राचीन कालदेखि नै तपोभूमि, देवभूमि, ऋषिमुनिहरूको ध्यानस्थल भनेर मानिन्छ । यहाँका वन–जंगल, नदी–खोला, गुफा र पहाडहरूमा ऋषि–मुनिहरूले तपस्या गरेको जनविश्वास पाइन्छ । इतिहासकारहरूका अनुसार दैलेख खस राज्यकालदेखि नै प्रशासनिक तथा सांस्कृतिक केन्द्र थियो ।

यहाँका मन्दिरहरूको वास्तुकला, मूर्ति संरचना, पुराना घण्टा, शिलालेख, पूजा पद्धति र परम्पराले पनि यस क्षेत्रलाई अत्यन्त पुरानो बनाउँछ । दैलेखका गाउँ–गाउँमा देवीदेवताको थानहरू, देउराली, मठ र पुराना धर्मशाला पाइन्छन् । यी सबैले पञ्चकोशी क्षेत्रलाई धार्मिक राजधानीकै स्वरूप दिन्छ ।

दैलेखमा विशेष धार्मिक अवसरमा पञ्चकोशी दर्शन गर्ने परम्परा छ । मान्यता अनुसार पञ्चकोशीका पाँच तीर्थस्थलको दर्शन गरेर मानिसको पाप क्षय हुन्छ, रोग–व्याधी कम हुन्छ, मन शान्त हुन्छ, घर–परिवारमा सुख–शान्ति आउँछ, सन्तान प्राप्ति र वैवाहिक जीवनमा शुभता मिल्छ र मृत आत्माले मोक्ष पाउँछ जस्ता धार्मिक विश्वासहरू छन् । यी विश्वास केवल कथा होइनन्, दैलेखका मानिसको जीवनशैलीमा गहिरोसँग गाँसिएका व्यवहार हुन् ।

 

योगी नरहरीनाथः इतिहास खोज्ने राष्ट्रगुरु

 

राष्ट्रगुरु योगी नरहरीनाथले नेपालको इतिहास, संस्कृति, राष्ट्रवाद र धर्म संरक्षणका लागि जीवन समर्पण गर्ने महान व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपालका विभिन्न भागमा घुम्दै पुराना मन्दिर, शिलालेख, मूर्ति, ऐतिहासिक दस्तावेज र मौखिक इतिहास खोज्नुभयो । उहाँको योगदानले नेपालमा धेरै धार्मिक स्थलहरू पुनः उजागर भए ।

नरहरीनाथ दृष्टिमा नेपालको इतिहास केवल राजाहरूको कथा होइन, यो धर्म, संस्कृति, भाषा र सभ्यताको निरन्तरता हो । यही सोचका कारण उहाँले कर्णाली र दैलेखलाई अत्यन्त महŒव दिनुभएको पाइन्छ । उहाँले पञ्चकोशी क्षेत्रलाई केवल ‘स्थानीय तीर्थ’ भनेर हेर्नुभएन । उहाँले यसलाई नेपाल राष्ट्रको प्राचीन सांस्कृतिक आधार, खस सभ्यताको धार्मिक केन्द्र, शिव परम्पराको जीवित प्रमाण र राष्ट्रिय एकताको आध्यात्मिक धरोहर भनेर बुझ्नुभयो । त्यसैले उहाँले दैलेखको पञ्चकोशी क्षेत्रलाई व्यापक रूपमा चिनाउन विशेष भूमिका खेल्नुभयो ।

योगी नरहरीनाथले पञ्चकोशी क्षेत्रमा कोटिहोम जस्तो महान वैदिक अनुष्ठान गरेर यस क्षेत्रलाई देशभर परिचित गराउनुभएको थियो । कोटिहोम भन्नाले ‘एक करोड मन्त्र जप वा हवन’ भन्ने बुझिन्छ । यो सामान्य यज्ञ होइन, यो अत्यन्तै विशाल धार्मिक अनुष्ठान हो ।

कोटिहोमका मुख्य उद्देश्यहरू क्षेत्रको आध्यात्मिक उर्जा जागृत गर्नु, धार्मिक पर्यटनको विकास गर्नु, समाजमा नैतिकता र संस्कारको जागरण गर्नु, पुराना मन्दिरहरूको संरक्षण र प्रचार गर्नु, स्थानीय समुदायलाई एकताबद्ध गर्नु तथा सनातन धर्मको वैदिक परम्परा जीवित राख्नु हो । योगी नरहरीनाथले यस्ता अनुष्ठानमार्फत पञ्चकोशी क्षेत्रलाई धार्मिक र सांस्कृतिक दृष्टिले पुनः स्थापित गर्नुभयो ।

दैलेखको पञ्चकोशी क्षेत्रलाई ‘राष्ट्रिय तीर्थ’ बनाउने काममा योगी नरहरीनाथज्यूको योगदान अत्यन्त ठूलो छ । उहाँले स्थानीय जनतालाई प्रेरणा दिनुभयो, पूजा परम्परालाई व्यवस्थित बनाउनुभयो, तीर्थयात्राको महत्त्व बुझाउनुभयो र दैलेखलाई ‘धर्मको धरोहर’ का रूपमा उभ्याउनुभयो ।

 


 

पञ्चकोशीका पाँच प्रमुख तीर्थस्थल

 

१. श्रीस्थानः श्रद्धाको केन्द्र, देवताको निवासस्थल

 

दैलेख पञ्चकोशीभित्र सबैभन्दा प्रसिद्ध र श्रद्धाको केन्द्र मानिने तीर्थस्थल हो–श्रीस्थान । ‘श्री’ शब्दले लक्ष्मी, समृद्धि, शुभता र पवित्रता जनाउँछ भने ‘स्थान’ भनेको बसोबास वा केन्द्र हो । त्यसैले श्रीस्थानलाई शुभताको केन्द्र वा देवताको निवासस्थल भनेर मानिन्छ ।

श्रीस्थान मन्दिरको नाम सुन्नासाथ दैलेखका मानिसहरू मात्र होइन, कर्णाली क्षेत्रका भक्तजनहरूको मनमा आस्था जाग्छ । यो मन्दिर दैलेखको धार्मिक पहिचानको आधार हो । श्रीस्थान मन्दिरलाई प्रायः शिवसँग सम्बन्धित शक्तिपीठ वा शिवालयका रूपमा लिइन्छ । यहाँ पूजा गर्ने मानिसहरू शिवको कृपा प्राप्त हुन्छ भन्ने विश्वास गर्छन् । यो स्थानमा पूजा गर्दा मानसिक पीडा हट्छ, रोग–व्याधी कम हुन्छ, घरमा धनधान्य बढ्छ र समाजमा मानसम्मान प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

श्रीस्थानको मन्दिर परिसरमा प्रवेश गर्दा एक प्रकारको शान्ति अनुभूति हुन्छ । यहाँको प्राकृतिक वातावरण, पहाडको हरियाली, स्थानीय संस्कार र पूजा प्रणालीले मन्दिरलाई विशिष्ट बनाएको छ । मन्दिरको वरिपरि धारा, पवित्र स्थान र परम्परागत पूजा स्थलहरू रहेका छन् । श्रीस्थानमा वर्षभरि विभिन्न पर्वहरूमा ठूलो मेला लाग्छ । विशेषगरी शिवरात्री, तीज, श्रावण महिना, दशैँ–तिहार र पूर्णिमा जस्ता पर्वमा टाढाटाढाबाट भक्तजन आउँछन् ।
योगी नरहरीनाथले श्रीस्थानलाई पञ्चकोशीको केन्द्रका रूपमा प्रचार गर्नुभयो । उहाँले यहाँका धार्मिक अनुष्ठानलाई व्यवस्थित गर्न सहयोग गर्नुभयो र यसको ऐतिहासिक महिमा उजागर गर्नुभयो । कोटिहोम जस्ता कार्यक्रमले श्रीस्थानलाई झनै राष्ट्रिय चर्चा दिलायो ।

 

२. नामिस्थान मन्दिरः नाम जप्ने भूमिको पवित्रता

‘नामि’ भन्नाले नामसँग सम्बन्धित अर्थात् देवताको नाम जप्ने, ध्यान गर्ने वा भक्तिले पूर्ण ठाउँ भन्ने बुझिन्छ । नामिस्थान मन्दिर दैलेखको अर्को अत्यन्त पवित्र तीर्थस्थल हो । यो स्थानलाई ‘जप–तपको भूमि’ भनेर पनि मानिन्छ । नामिस्थानको धार्मिक वातावरण अत्यन्त शान्त र ध्यान केन्द्रित गर्ने खालको रहेको बताइन्छ ।

नामिस्थानमा पूजा गर्दा विशेष गरी वाणी शुद्ध हुन्छ, मन एकाग्र हुन्छ, अध्ययन र ज्ञानमा वृद्धि हुन्छ, पारिवारिक कलह कम हुन्छ, कर्म शुद्ध हुन्छ भन्ने जनविश्वास छ । यस स्थानमा विशेष गरी साधु–सन्त, योगी, सन्यासीहरू बसेर ध्यान गर्ने परम्परा पनि रहेको भनाइ पाइन्छ ।

नामिस्थानसँग सम्बन्धित लोककथाहरू दैलेखमा धेरै प्रचलित छन् । स्थानीय बुढापाकाहरूले सुनाउने कथामा नामिस्थानलाई देवता प्रकट हुने स्थान वा ऋषि–मुनिहरूले ध्यान गरेको स्थानका रूपमा वर्णन गरिन्छ । यस्ता कथाहरूले यस स्थानलाई रहस्यमय र पवित्र बनाएको छ ।

योगी नरहरीनाथले नामिस्थानको महिमा उल्लेख गर्दै यसलाई पञ्चकोशीको अभिन्न अंगका रूपमा प्रचार गर्नुभयो । उहाँको कार्यले नामिस्थान केवल गाउँको थान नभइ ‘दैलेखको तीर्थ मार्ग’ को महŒवपूर्ण केन्द्रका रूपमा स्थापित भयो ।

 

३. धुलेश्वर मन्दिरः शिवको धुलोले पवित्र बनाएको भूमि

‘धुलेश्वर’ शब्द दुई भागबाट बनेको छ । पहिलो धुलो/धुल र दोस्रो ईश्वर । धुलेश्वर भन्नाले ‘धुलोमा वास गर्ने ईश्वर’ वा ‘धुलोले पवित्र भएको शिव’ भन्ने अर्थ लाग्न सक्छ । यो नाम आफैँमा रहस्यमय छ । यसले स्थानीय जनविश्वासमा एउटा विशेष कथा बोकेको छ ।

धुलेश्वर मन्दिर शिव आराधनाको प्रमुख केन्द्र हो । यहाँ शिवको पूजा गर्दा ग्रहदोष हट्छ, अकाल मृत्युको भय कम हुन्छ, जीवनमा साहस बढ्छ, व्यापार–व्यवसायमा प्रगति हुन्छ भन्ने मान्यता छ ।

धुलेश्वरको स्थान प्रकृतिसँग अत्यन्त नजिक रहेको मानिन्छ । पहाडको काख, वन–जंगलको शान्त वातावरण, चिसो हावा, चरा चुरुङ्गीको आवाज र मन्दिरको घण्टीको ध्वनिले भक्तजनलाई आध्यात्मिक अनुभूति दिलाउँछ । धुलेश्वरमा विशेष गरी जलाभिषेक, बेलपत्र अर्पण, धूप–दीप, रुद्रीपाठ र महामृत्युञ्जय जप गरिन्छ । श्रावण महिनामा यहाँ विशेष भीड लाग्ने गर्छ ।

योगी नरहरीनाथले धुलेश्वरको महिमा लेखन र प्रवचनमार्फत फैलाउनुभएको भनाइ पाइन्छ । उहाँले कोटिहोम र यज्ञ गर्दा धुलेश्वर क्षेत्रलाई समेत समेटेर धार्मिक यात्रालाई पूर्णता दिनुभयो । यसले धुलेश्वरलाई पञ्चकोशीको महत्त्वपूर्ण स्तम्भ बनायो ।

 

४. पादुकाः देवताको चरणचिन्ह रहेको पवित्र स्थल

‘पादुका’ शब्दको अर्थ ‘चरण’ वा ‘पाउको चिन्ह’ हो । हिन्दू धर्ममा पादुका विशेष महत्त्वको प्रतीक हो । पादुका स्थानलाई प्रायः देवता, ऋषि वा गुरुको चरण परेको स्थान भनेर मानिन्छ । दैलेखको पञ्चकोशीभित्रको पादुका स्थान अत्यन्त श्रद्धा र विश्वासको केन्द्र हो । यो ठाउँलाई भक्तजनहरूले देवताको प्रत्यक्ष उपस्थितिको प्रमाण मान्ने गर्छन् ।

पादुका स्थानमा पूजा गर्दा जीवनमा मार्गदर्शन मिल्छ, संकटबाट मुक्ति मिल्छ, यात्रामा सुरक्षा हुन्छ, गुरु कृपा प्राप्त हुन्छ भन्ने विश्वास छ । विशेष गरी विद्यार्थी, परीक्षार्थी, काम खोज्ने युवा र जीवनमा कठिनाइ भोगिरहेका मानिसहरू पादुकामा पूजा गर्न जाने परम्परा रहेको पाइन्छ ।

पादुका स्थललाई गुरु परम्परासँग जोडेर हेर्ने चलन छ । यगी, सन्यासी र साधु परम्परामा गुरुको पादुका पूजालाई अत्यन्त उच्च स्थान दिइन्छ । यही कारण पादुका क्षेत्रलाई ‘गुरु भूमि’ भनेर पनि मानिन्छ । योगी नरहरीनाथ आफैँ योगी परम्पराका महान साधक हुनुहुन्थ्यो । उहाँले पादुका स्थलको महŒव बुझेर यसलाई पञ्चकोशी यात्रामा अनिवार्य तीर्थका रूपमा समेट्नुभयो । उहाँको दृष्टिमा पादुका केवल ढुंगामा बनेको चिन्ह होइन, यो सनातन गुरु परम्पराको प्रतीक थियो ।

 

५. तल्लो डुंगेश्वर मन्दिरः रहस्यमय भूमिगत ग्यास र शिव उपासनाको केन्द्र

दैलेख जिल्लाको सबैभन्दा चर्चित र रहस्यमय धार्मिक स्थलमध्ये एक हो– डुंगेश्वर । विशेषगरी ‘तल्लो डुंगेश्वर’ मन्दिरलाई पञ्चकोशीको महŒवपूर्ण केन्द्र मानिन्छ । डुंगेश्वर नामले नै ढुंगा (डुंगा) र ईश्वर (शिव) को सम्बन्ध देखाउँछ । यो स्थानलाई ढुंगामा प्रकट भएको शिव वा ढुंगाबाट उत्पन्न शक्ति भनेर बुझिन्छ ।

तल्लो डुंगेश्वरमा शिवको पूजा गर्दा रोग–व्याधी हट्छ, भय र बाधा समाप्त हुन्छ, मनोकामना पूरा हुन्छ, परिवारमा सुख शान्ति हुन्छ, देवदोष र पितृदोष हट्छ भन्ने विश्वास छ । डुंगेश्वर क्षेत्र नेपालको त्यस्तो ठाउँ हो जहाँ भूमिगत प्राकृतिक ग्यास निस्कने चर्चा हुन्छ । धेरैले यसलाई चमत्कारका रूपमा हेर्छन् भने वैज्ञानिक दृष्टिले यसलाई भूगर्भीय संरचनासँग जोडिन्छ । तर स्थानीय धार्मिक विश्वासमा यो ‘शिवको अग्नि शक्ति’ को प्रतीक मानिन्छ । यस प्रकारको प्राकृतिक विशेषताले डुंगेश्वरलाई धार्मिक मात्र होइन, प्राकृतिक र वैज्ञानिक दृष्टिले पनि अनौठो बनाएको छ ।

तल्लो डुंगेश्वरमा विशेष गरी शिवलिंगमा जल अर्पण, धूप–दीप, बेलपत्र, रुद्री, महामृत्युञ्जय, बलि परम्परा (केही ठाउँमा प्रचलित) र भजन कीर्तनजस्ता गतिविधि गरिन्छ । विशेष पर्वहरूमा यहाँ ठूलो मेला लाग्छ । विशेष गरी शिवरात्रि र श्रावण महिनामा भक्तजनहरूको भीड अत्यधिक हुन्छ ।

योगी नरहरीनाथले डुंगेश्वर क्षेत्रलाई पञ्चकोशीको अनिवार्य तीर्थस्थलका रूपमा प्रचार गर्नुभयो । उहाँको कोटिहोम, प्रवचन र धार्मिक अभियानले तल्लो डुंगेश्वरको चर्चा कर्णाली मात्र होइन, देशभर फैलियो । उहाँले यस स्थानलाई ‘दैलेखको आध्यात्मिक ऊर्जा केन्द्र’ को रूपमा स्थापित गरिदिनुभयो ।

 

धार्मिक पर्यटन र सांस्कृतिक सम्भावना

पञ्चकोशी क्षेत्र नेपालकै महत्त्वपूर्ण धार्मिक पर्यटन क्षेत्र बन्न सक्छ । यहाँका मन्दिरहरू प्राचीन छन्, धार्मिक कथा छन्, प्राकृतिक सौन्दर्य छ, स्थानीय संस्कृति छ र यज्ञ–होम गर्ने परम्परा पनि जीवित छ । होटल तथा धर्मशाला विकास, सडक पहुँच सुधार, सूचना केन्द्र स्थापना, गाइड प्रशिक्षण, तीर्थ मार्ग व्यवस्थापन र धार्मिक मेला व्यवस्थित सञ्चालन गर्दै पञ्चकोशीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्र बनाउन सकिन्छ ।

 

स्थानीय अर्थतन्त्रमा योगदान

धार्मिक पर्यटनले स्थानीय जनतालाई रोजगारी, व्यापार, हस्तकला बिक्री, स्थानीय उत्पादनको बजार, यातायात र सेवा क्षेत्रको विकासजस्ता आर्थिक लाभ दिन्छ । पञ्चकोशी क्षेत्रमा मेला लाग्दा गाउँका किसानदेखि व्यापारीसम्म सबै लाभान्वित हुन्छन् ।

 

संस्कृति र पहिचान संरक्षण

पञ्चकोशी क्षेत्रको संरक्षण भनेको केवल मन्दिर बचाउनु होइन । यो त खस सभ्यता बचाउनु हो । कर्णालीको मौलिक भाषा–संस्कार बचाउनु, लोकगीत, भजन, नाचगान बचाउनु, जात्रा, पर्व, परम्परा जोगाउनु हो । त्यसैले पञ्चकोशी संरक्षण राष्ट्रकै सांस्कृतिक कर्तव्य हो ।

 

कोटिहोम अभियानको सामाजिक प्रभाव

धार्मिक जागरणः कोटिहोमले समाजमा धार्मिक चेतना जगायो । मानिसहरू आफ्नो मन्दिर, आफ्नो इतिहास र आफ्नो संस्कारप्रति जागरुक भए । धेरै युवाहरूले धर्मलाई पुरानो सोच होइन, आफ्नो पहिचानको आधार भनेर बुझ्न थाले ।

सामाजिक एकताः कोटिहोम जस्तो ठूलो अनुष्ठानमा सबै जात, वर्ग र समुदायका मानिस सहभागी हुन्छन् । यसले समाजमा एकता बढाउँछ । पञ्चकोशी क्षेत्रमा कोटिहोम हुँदा गाउँगाउँबाट मानिस आएर सेवा गरे, दान दिए, भजन गाए । यसले आपसी मेलमिलाप र सहकार्य बढायो ।

मन्दिर संरक्षणमा प्रेरणाः योगी नरहरीनाथको प्रेरणाले धेरै ठाउँमा मन्दिर मर्मत, सरसफाइ, मूर्ति संरक्षण र पूजा परम्परा व्यवस्थित गर्ने अभियान सुरु भयो । पञ्चकोशी क्षेत्रको संरक्षणको चेतना यही अभियानबाट फैलिएको मानिन्छ ।

 

पञ्चकोशी क्षेत्र संरक्षणका चुनौतीहरू

पञ्चकोशी क्षेत्र जति पवित्र छ, त्यति नै संवेदनशील पनि छ।आजको समयका केही चुनौतीहरू छन् । मन्दिरहरूको पुरानो संरचना बिग्रिँदै जानु, सडक र पूर्वाधार अभाव, धार्मिक स्थलमा फोहोर व्यवस्थापन समस्या, युवा पलायन, पर्यटन व्यवस्थापनको कमी, सरकारी तथा संस्थागत सहयोगको न्यूनता र ऐतिहासिक दस्तावेजको अभाव जस्ता चुनौती समाधान नगरे पञ्चकोशी क्षेत्रको वास्तविक महत्व भविष्यमा कमजोर हुन सक्छ ।

 

पञ्चकोशी क्षेत्र विकासका लागि सुझाव

धार्मिक तीर्थ मार्ग घोषणाः सरकारले श्रीस्थान–नामिस्थान–धुलेश्वर–पादुका–तल्लो डुंगेश्वरलाई जोडेर ‘दैलेख पञ्चकोशी तीर्थ मार्ग’ घोषणा गर्नुपर्छ ।

अनुसन्धान र अभिलेखिकरणः मन्दिरको इतिहास, लोककथा, शिलालेख, मूर्ति र पुरातात्विक वस्तुहरूको अध्ययन गरी दस्तावेज तयार गर्नुपर्छ । योगी नरहरीनाथज्यूको लेखन र अभिलेखलाई आधार बनाएर अनुसन्धान केन्द्र स्थापना गर्न सकिन्छ ।

वार्षिक पञ्चकोशी महोत्सवः पञ्चकोशी क्षेत्रलाई चिनाउन वार्षिक रूपमा पञ्चकोशी धार्मिक महोत्सव, वैदिक सम्मेलन, भजन प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनीजस्ता गतिविधि सञ्चालन गर्न आवश्यक छ ।
स्मृति संरक्षणः योगी नरहरीनाथज्यूले कोटिहोम र धार्मिक अभियान चलाएर यस क्षेत्रलाई चिनाउनुभएको योगदानलाई सम्मान गर्दै स्मृति पार्क, योगी नरहरीनाथ धर्म–संस्कृति केन्द्र, पुस्तकालय तथा संग्रहालय, शोध प्रतिष्ठान स्थापना गर्न सकिन्छ ।

 

निष्कर्षः दैलेख पञ्चकोशी–कर्णालीको अमूल्य धरोहर

दैलेखको पञ्चकोशी क्षेत्र कुनै साधारण धार्मिक स्थलहरूको समूह होइन । यो कर्णाली प्रदेशको आत्मा हो, दैलेखको पहिचान हो र नेपालको सांस्कृतिक धरोहर हो । श्रीस्थान, नामिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर यी पाँच तीर्थस्थलहरूले दैलेखलाई धार्मिक राजधानी जस्तै बनाएका छन् ।

यी स्थलहरूमा केवल पूजा हुँदैन, यहाँ इतिहास बोल्छ, सभ्यता झल्किन्छ, लोककथा बाँचिन्छ र धर्म संस्कार जीवित रहन्छ । यस्तो महान भूमिलाई चिनाउने काममा राष्ट्रगुरु योगी नरहरीनाथको योगदान अत्यन्त ऐतिहासिक छ । उहाँले कोटिहोम, प्रवचन, यात्राहरू र सांस्कृतिक अभियानमार्फत पञ्चकोशी क्षेत्रलाई कर्णालीबाट बाहिर नेपालभर फैलाउनुभयो । आजको पुस्ताले पञ्चकोशीलाई केवल दर्शन गर्ने तीर्थ होइन, संरक्षण गर्ने जिम्मेवारी ठान्नुपर्छ । मन्दिरहरूको संरक्षण, धार्मिक पर्यटनको विकास, स्थानीय संस्कृतिको प्रवद्र्धन र योगी नरहरीनाथको योगदानको अभिलेखिकरण गर्न सकियो भने दैलेख पञ्चकोशी क्षेत्र नेपालकै महान तीर्थस्थलको सूचीमा अझ उच्च स्थानमा पुग्नेछ ।
(लेखक धर्मराज शाही योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष हुन् ।)

प्रकाशित मितिः   १३ बैशाख २०८३, आईतवार १५:०४