चार दशकदेखि अलपत्र चुनढुँगा खानी

सिमेन्ट उद्योग स्थापनाको योजना कार्यान्वयनमा ढिलाइ

सुर्खेत: चार दशकअघि नै पश्चिम सुर्खेतमा पत्ता लागेको चुनढुँगा खानी अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । वि.सं. २०३९ सालमा नै चौकुनेमा फेला परेको चुनढुँगा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने पुष्टि भएको थियो । तर सिमेन्ट उद्योग स्थापनाको योजना भने आजसम्म पनि अलपत्र परेको छ ।

पत्ता लागेको २७ वर्षपछि सिमेन्ट उद्योग स्थापनकाका लागि सरकारले अनुमति समेत दिएको थियो । यद्यपि, अनुमति पाएको समेत १६ वर्ष बितिसक्दासम्म आयोजना अघि बढ्न सकेको छैन । चौकुने चुनढुंगा खानीबाट सिमेन्ट उत्पादन योजना जग्गा विवादमै अल्झिएको छ ।

२०६६ सालमा मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिजले चौकुनेमा खानी उत्खनन् गरेर सिमेन्ट उद्योग सञ्चालन गर्न इजाजत लिएको थियो । तर निर्माण गरेर काम थालिनुपर्ने आयोजना जग्गा विवादमै रुमलिएको मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिले जनाएको छ । आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद प्रक्रिया थालिएको कम्पनीका कोअर्डिनेटर लोकबहादुर अधिकारीले बताए । प्रयास थालिएको लामो समयसम्म पनि आयोजनालाई आवश्यक पर्ने जग्गा कम्पनीको नाममा बनाउन सकिएको छैन । जग्गासम्बन्धी स–साना समस्याले नै काम अघि बढ्न नसकेको अधिकारीको भनाइ छ । उनले भने, ‘स्थानीयले तिरो तिर्नुपर्छ भने आफ्नै जग्गा पनि आफ्नो नाममा नराखेको रेकर्ड भेटिएको छ, बाउबाजेको नाममा जग्गा भएको देखिन्छ, नातीहरूको नाममा नामसारी भएको छैन । समस्या ठूलो छैन, वडा कार्यालयबाटै हुने काम वर्षाैंसम्म पनि अल्झिएको छ ।’ स्थानीय र प्रदेश सरकारको असयोगका कारण आयोजना निर्माणमा बिलम्व भएको अधिकारीले बताए । आयोजनाले करिब चार करोड लगानीमा पहुँच माग निर्माण गरेको छ भने केही रोपनी जग्गा पनि खरिद गरिसकेको छ ।

खानी विभागले २०३९ सालमा चौकुनेमा खानी भएको पत्ता लगाएको थियो । चौकुने डाँडाको करिब ११ हजार रोपनी क्षेत्रफलमा चुनढुंगा भएको दाबी गरिएको छ । विभागले २०३५ देखि २०३९ सम्म अध्ययन ग¥यो । गरिएको अध्ययनले चौकुनेको चुनढुंगा परीक्षण गरी सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । त्यसपछि मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिले उद्योग खोल्न प्रक्रिया थाल्यो । इजाजत लिएको लामो समयसम्म पनि आयोजनाले कुनै प्रतिफल योग्य काम गर्न सकेको छैन । सरकारकै असयोगका कारण काममा बाँधा पुगेको आयोजनाले जनाएको छ ।

मुक्तिश्री व्यवसायी अजय सुमार्गीको कम्पनी हो । उद्योग सञ्चालनको काम कम्पनी नवीकरणको काम भने भइरहेकै छ । लाइसेन्स लिएर काम सुरु नगरेपछि विभागले २०७४ मा रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि सुमार्गी अदालत गए । उच्च अदालत पाटनको आदेशपछि विभागले पुनः नवीकरण गरेको थियो ।

आयोजनाले सरकारले असयोग गर्दै आइरहेको जनाएपनि चौकुने गाउँपालिकाले काम गर्न चाहने आयोजनालाई सहयोग गर्ने गरिएको बताएको छ । अब भने काम नगर्ने कम्पनीको नविकरण रोक्ने नीति कडाईका साथ लागू गरिने चौकुने गाउँपालिकाका अध्यक्ष खडक विकले बताए । लाइसेन्स लिएर लामो समय होल्ड गर्ने तर उद्योग सञ्चालन नगर्ने नियत देखिएको भन्दै चौकुने गाउँपालिकाले कम्पनीको नवीकरण रोक्न पहलसमेत गरेको विकको भनाइ छ । खानी विभागमा नवीकरणका लागि खानी स्थलको जग्गाको तिरो बुझाएको हुनुपर्छ । त्यही कडी समातेर चौकुनेले कार्यपालिका बैठकबाटै निर्णय गरेर दुई वर्षदेखि कम्पनीको नाममा रहेको जमिनको राजश्व बुझेको छैन ।

उद्योग सञ्चालनका लागि चौकुने गाउँपालिकाले कम्पनीलाई बारम्बार ताकेता गरिरहेको छ । पालिकाले ११ भदौ २०८१ मा कम्पनीलाई अलपत्र रहेको उद्योग सञ्चालन गर्ने–नगर्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदै एक पत्र पठाएको थियो । कम्पनीले अहिलेसम्म खानी क्षेत्रमा ९५ रोपनीमात्रै जग्गा खरिद गरेको छ । खानी सञ्चालनका लागि थप साढे तीन सय रोपनी क्षेत्रफल जग्गा र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका करिब ६ सय रोपनी जग्गा आवश्यक रहेको प्रालिका अधिकारीले बताए । सरकारले राजश्व नै नलिनु ऐनविपरीत भएको भन्दै स्थानीय सरकारले सहयोग गरेको खण्डमा काम सुरु गरिने जनाए । विगतमा भौतिक पूर्वाधार लगायतको असुविधाले उद्योग सुरु गर्न नसकेको भन्दै उनले अब भने उद्योग सुरु गर्नेगरी सबै प्रक्रियागत काम गरिएको जनाए । ‘खानीसम्म पुग्न सडक, विद्युतलगायतको समस्याले गर्दा चाहेर पनि काम गर्न सकेका थिएनौँ,’ उनले भने, ‘अब छिटै उद्योग स्थापनाको काम थाल्ने तयारीमा छौँ, जग्गाको समस्याका कारण काम रोकिएको हो ।’

प्रकाशित मितिः   २४ चैत्र २०८२, मंगलवार ०५:०५