इनिसा हत्या प्रकरणः अनुसन्धानको जिम्मा सिआइबीलाई
सुर्खेत: इनिसा विक हत्याको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । घटनाको अनुसन्धान गर्न सिआइबीको टोली सुर्खेत आउँदैछ । सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सीआइबीसँग सहयोग मागेको छ । सीआइबीको टोली शुक्रवारसम्म वीरेन्द्रनगर आइपुग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए ।
सुर्खेत प्रहरीले बुधवार उक्त घटनाको थप अनुसन्धानका लागि सीआइबीसँग सहयोग मागेको थियो । शुक्रवारदेखि सीआइबीको टोलीले अनुसन्धान गर्नेछ । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली सुर्खेत आउन लागेको बुढथापाले जानकारी दिए । घटनाको सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको भन्दै थप अनुसन्धानका लागि विज्ञ टोली आउन लागेको उनले जनाए । ‘हामीले घटनाको थप अनुसन्धानको लागि सीआइबीसँग सहयोग मागेका थियौँ,’ डिएसपी बुढथापाले भने, ‘टोली शुक्रवारसम्म आइपुग्छ, भोलिदेखि नै सीआइबीको टोलीले थप अनुसन्धान थाल्छ, अहिले पनि अनुसन्धानको काम विभिन्न कोणबाट भइरहेको छ ।’
यस्तै फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै पक्षको मोबाइललगायत विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको बुढथापाले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको जनाइएको छ । जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोलीले पनि काम गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट, पोलियाग्राफी, कल डिटेल्सलगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाणहरू प्रहरीले अनुसन्धान गरिरहेको बुढथापाले जानकारी दिए ।
इनिसाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताइएको छ । पोस्टमार्टम प्रतिवेदनमा जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको देखिएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सकसहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको बताइएको छ ।
मृतकको पाठेघरसम्म घाउको धब्बा देखिएको चिकित्सकहरूले बताएका छन् । ‘पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको छ’ पोस्टमार्टममा सहभागी एक चिकित्सकले भने ।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
पुर्वी सुर्खेतको गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनलाई अस्पताल पु¥याउँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए ।
सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
इनिसाले न्याय नपाएसम्म शव नबुझने परिवारले जनाएका छन् । इनिशा विकका बुवा सुर्खेत आइपुगेका छन् । छोरीको हत्या भएको खबर पाएपछि उनी दुबईबाट भारत हुँदै सुर्खेत आएका हुन् । रोजगारीका लागि दुबईमा रहेका ४० वर्षीय इन्द्रबहादुर विकले छोरीको हत्या योजनाबद्ध रूपमा भएको दाबी गर्दै छोरीले न्याय नपाएसम्म शव नबुझ्ने बताएका हुन् ।
प्रकाशित मितिः २९ फाल्गुन २०८२, शुक्रबार ०५:००

साझा बिसौनी ।