आज मतदान
सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत आज (बिहीवार) मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको छ । कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रका नौ सय ४१ मतदानस्थलमा तयारी भइसकेको जानकारी प्रदेश निर्वाचन कार्यालयले दिएको छ । कर्णालीमा १० लाख ३७ हजार दुई सय ५० जना मतदाता छन् ।
कुनै कारणले कतै पनि मतदान स्थगित भएन र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो भने फागुन २५ गतेभित्र सम्पूर्ण नतिजा सार्वजनिक गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले छिटोभन्दा छिटो मतगणना सम्पन्न गर्न तयार रहेको बताएका छन् ।
मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सुरुमा प्रत्यक्षतर्फ मतगणना गर्छ । अनि त्यसपछि समानूपातिकको मतगणना गरी प्राप्त मतहरूको संख्या निर्वाचन आयोगमा पु¥याउँछ । समानुपातिक मतको बाँडफाडपछि निर्वाचन आयोगले दलहरूबीच समानुपातिक सिटको बाँडफाँट गरिदिन्छ र दलहरूले निर्वाचित सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पठाउनुपर्नेछ ।’
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यही व्यवस्थालाई संकेत गर्दै आगामी फागुन मसान्तसम्म उक्त प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने दाबी गरेका हुन् । उनले गरेको दाबी अनुसार, काम सम्पन्न हुन नसके पनि ढिलोमा चैतको पहिलो साताभित्र आयोगले राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाउन सक्ने देखिन्छ । निर्वाचन आयोगबाट निर्वाचन परिणाम प्रतिवेदन पाएपछि राष्ट्रपतिलाई प्रतिनिधिसभा निर्वाचनको नतिजाको औपचारिक जानकारी भएको मानिन्छ ।
अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधवार रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुञ्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । यद्यपि, अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन् ।
आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार, राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनले भने, ‘फागुन २० गते राति १२ बजेबाट २१ गते मतदानको कार्य सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन आवागमनमा निषेध गर्नेगरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सोबमोजिम अतिआवश्यक सेवाका केही सवारीसाधनबाहेक अन्य सवारीसाधनहरू चलाउन नपाइने अवस्था हुन्छ ।’
मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । उनका अनुसार, आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेका अनुसार अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ ।
साथै, कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गरे ।
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।
कहिलेसम्म बन्छ नयाँ सरकार ?
आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ । महान्यायाधिवक्ता सविता भण्डारी बरालका अनुसार नतिजा सार्वनिक भएको एक महिनाभित्र संघीय संसद्को बैठक बोलाउनुपर्छ भने एक साताभित्र राष्ट्रपतिको हातमा प्रतिवेदन पुग्नुपर्छ । त्यसपछि संविधानको बहुचर्चित धारा ७६ को चरणवद्ध प्रक्रियाहरू सुरु हुन्छ ।
प्रतिवेदनमा कुनै दलले स्पष्ट बहुमत पाएको अवस्थामा राष्ट्रपतिले धारा ७६(१) बमोजिम त्यो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्छन् । त्यसका लागि सम्बन्धित दलको संसदीय दलको बैठक बसेर नेता चुन्नुपर्छ । संविधानको धारा ७६ (१) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’ तर कुनै दलले स्पष्ट बहुमत नपाएमा दुई वा बढी दलको समर्थन जुटाउने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । त्यसका लागि राष्ट्रपतिले सरकार गठनका लागि धारा ७६ (२) बमोजिम आह्वान गर्नुपर्नेछ र दलहरूले राष्ट्रपति कार्यालयमा निवेदन दिनेछन् ।
निर्वाचन आयोगबाट निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले संविधानको धारा ९३ (१) अनुसार, संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ । महान्यायाधिवक्ता बराल चैतको पहिलो साता बैठक बस्नेगरी संघीय संसद्को भवन तयार गर्ने काम चलिरहेकाले त्यसकै सेरोफेरोमा अर्को सरकार गठन हुनसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘निर्वाचन नतिजाअनुसार पनि प्रधानमन्त्री चयन र सरकार गठनका लागि समय लाग्ला । तर पनि एक÷डेढ साताभन्दा यताउता नहोला ।’
यदि चैतको पहिलो साता निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएमा चुनावपछि दलहरूले पाउने हैसियत अनुसार सरकार गठन प्रक्रियाले समय लिने देखिन्छ । यदि, कुनै दलले स्पष्ट बहुमत पाएमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सहज हुने देखिन्छ । तर, दुई वा बढी दलहरू मिलेर सरकार बन्ने अवस्था भएमा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने र त्यसले केही समय लिनसक्छ ।
प्रकाशित मितिः २१ फाल्गुन २०८२, बिहीबार ०५:०५

साझा बिसौनी ।