उम्मेदवारका ५ एजेन्डा

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीबाट जीतबहादुर रानाले प्रतिस्पर्धा गर्दैछन् । २०४७ देखि राजनीतिमा लागेका उनी पूर्वलडाकु कमाण्डर हुन् ।

पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका उनलाई हामीले ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत विभिन्न पाँचवटा विषयमा केन्द्रित योजना र प्राथमिकता के छन् भनेर सोधका छौँ । प्रस्तुत छ, रानाको जवाफः


 

 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

मैले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छु । पूर्वी सुर्खेतका कतिपय पालिकामा पुग्न अन्य जिल्ला भएर जानपर्ने बाध्यता छ । सिम्ता गाउँपालिकाका केही स्थानमा पुग्न सल्यान जिल्ला भएर तथा चिङ्गाड गाउँपालिकामा पुग्न दैलेख जिल्ला भएर केही स्थानमा पुग्ने गरिएको छ । एउटा वडादेखि अर्को वडा तथा पालिकामा पुग्न सहज होस् भनेर सडक पूर्वाधार निर्माणमा मैले जोड दिएको छु ।

मदन भण्डारी राजमार्गका सहायक सडक निर्माणको कामलाई पनि प्राथमिकतामा राखेको छु । ग्रामीण सडक स्तरोन्नतिको योजना बनाएको छु । विद्युत विस्तारमा मेरो जोड रहेको छ । कतिपय बस्तीमा अझैपनि विद्युत पुग्न सकेको छैन । ती बस्तीहरूमा विद्युतीकरण गरिनेछ । भेरी करिडोर निर्माणको कामलाई पनि सहज निर्माणका लागि पहल गर्नेछु । सिँचाइका आयोजना निर्माणका लागि योजना निर्माण गरेको छु ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

जीवनोपयोगी शिक्षामा मेरो जोड छ । मैले लामो समय शिक्षकको जिम्मेवारी निभाएको छु । साच्चिकै भन्नुपर्दा नेपालको शिक्षा नीति व्यावहारिक तथा जीवनोपयोगी छैन । सिक्दै कमाउँदै कार्यक्रममा प्रभावकारी बनाउन नीतिगत पहल थाल्नेछु । प्रत्येक पालिकामा आइटी कलेजको स्थापना गर्ने नीति लिएको छु । शिक्षालाई उद्यमशीलता, व्यावहारिक, नैतिक रूपमा अघि बढाउनेछु । अहिले व्यावहारिक ज्ञानको धेरै आवश्यकता देखिएको छ ।

पूर्वी सुर्खेतमा विशेषज्ञ सेवा प्रभावकारी छैन । मेहेलकुना अस्पताल निर्माणमै बिलम्व भइरहेको छ । उक्त अस्पताल निर्माण सम्पन्न गरेर सञ्चालनका लागि मैले पहल थाल्नेछु । पूर्वी सुर्खेतमा क्षेत्रीयस्तरको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर सञ्चालनको तयारी गर्नेछु । आधारभूत अस्पतालहरूलाई सुविधा सम्पन्न बनाएर जनताको सेवामूखि बनाउने योजना निर्माण गरेको छु ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

कृषि क्षेत्रको विकास र विस्तारमा जोड दिनेछु । यस क्षेत्रको विकास र विस्तार गरेर रोजगारी र आर्थिक अवसर सिजर्ना गर्न सकिने भएकाले प्रविधिमैत्री कृषि रणनीति योजना निर्माणमा मेरो जोड रहेको छ । उद्यमशीलता विकासमा मैले जोड दिनेछु । साना तथा मझौता उद्योगको स्थापना गरेर स्थानीयस्तरमै रोजगारीको व्यवस्था गर्ने योजना बनाएको छु । सम्भावित जलविद्युत आयोजनाहरूको अध्ययन निर्माण थालिएका आयोजनाहरूको निर्माण सम्पन्न र सञ्चालनका लागि पहल गर्नेछु, जसले रोजगारीका साथसाथै आर्थिक अवसरहरू वृद्धि गर्नेछ ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

सेवा प्रवाह जनमूखि र जनभावना अनुरूपको बनाउनुपर्नेछ । सरकारी संयन्त्रलाई सेवामूखि बनाउन पहल थाल्नेछु । सार्वजनिक सेवा सुधार नहुँदा निजी क्षेत्र फस्टाइरहेको छ । नागरिकले सेवाभावका अनुभव गर्न सकेका छैनन् । नागरिकको जनचाहाना अनुरूप कार्यालयहरूको सेवा अवधिको बारेमा नीतिमा नै परिवर्तन गर्नुपर्ने छ । कुनै कार्यालयहरू बेकामे रूपमा कडा भएका छन् । त्यहाँबाट नागरिकले कुनैपनि सेवा उपभोग गर्न सकेका छैनन् । नागरिकको सहज सेवा प्रवाहका लागि नीतिगत रूपमा परिवर्तन गरेर सेवा दिनेछु ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा विकास गर्नुपर्ने हुन्छ । जनताको अवस्था बदल्न आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्ने हुन्छ । नागरिकको रोजाइ र हितमा हुनेगरी काम गर्नुपर्ने हुन्छ । मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०८२, शुक्रबार १३:५१