उम्मेदवारका ५ एजेन्डा

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुर्खेत क्षेत्र नंं २ मा कविराम पुरी उम्मेदवार बनेका छन् । उनी अहिलेको संविधान खारेज, नयाँ संविधान निर्माण र राजसंस्थाको पुनस्र्थापनालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् ।
व्यवस्था परिवर्तन नगरेसम्म मुलुकका कुनै पनि समस्या समाधान हुन नसक्ने बताइरहेका पुरीलाई ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित उनका योजना र प्राथमिकता के छन् भनेर सोधका छौँ । प्रस्तुत छ, उनको जवाफ जस्ताको त्यस्तैः


 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

म भन्छु यो संविधान नै ठीक छैन । यो संविधान खारेज गरेर मात्र देशलाई निकास दिन जरुरी छ । देश किन अघि बढेन, विकास निर्माणका काम किन रोकिए भन्दा अहिलेको व्यवस्था ठीक नभएर हो । मेरो पहिलो एजेन्डा यो संविधान खारेज गरेर नयाँ संविधान निर्माण गर्नुपर्छ भन्ने हो । अनि मात्र देशमा विकास निर्माणका काम अघि बढ्नेछन् । अहिलेको संविधानमा टेकेर कुनैपनि विकास निर्माणका काम गर्न सकिने अवस्था छैन । पहिला संविधान संशोधन गर्ने अनि मात्र विकास निर्माणका योजना अघि बढाउने हाम्रो पार्टीको मूल मन्त्र रहेको छ । त्यसै अनुरुप मैले जनतालाई पनि विश्वास दिलाएको छु ।

जनतालाई विकास चाहिएको छ । अहिलेको संविधानको मर्म नागरिकको भावना विपरित रहेको छ । जसले गर्दा संघीयता कार्यान्वयनमा आएको लामो समयसम्म पनि जनताका इच्छा÷आकंक्षा पूरा हुन सकेका छैनन् । मेरो ऐजेन्डा यो संविधान खारेज गरेर नयाँ संविधान निर्माण गरेर सोही अनुरुपका विकास निर्माणका काम अघि बढाउने भन्ने नै हो ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

छ न त देशको शिक्षा, स्वास्थ्यमा ठूलो फड्को मार्न पर्नेछ । तर यो संविधानमा टेकेर यी कुरा पूरा गर्न सम्भव छैन । यो व्यवस्था बढी खर्चिलो छ । देशको अर्थतन्त्रले धान्न नसकिने छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम अघि बढ्न बाँकी छ । यो व्यवस्थाले नागरिकलाई चाहेअनुरुपको सेवा दिन सकिरहेको छैन । त्यसैले हाम्रो पार्टीले अहिलेको संविधानलाई खारेज गरेर नयाँ संविधान निर्माण गरी स्वास्थ्य शिक्षा क्षेत्रका समस्या पहिचान गरेर काम गर्ने नीति लिएको छ । व्यवस्था नै ठीन भएन भने नागरिकको अवस्था कुनैपनि हालतमा ठीक हुँदैन । जनताले पनि व्यवस्था परिवर्तनको अनुभूति गरिसकेका छन् । राजसंस्थाको पुनस्र्थापना गरेर शिक्षा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजना मैले आफ्नो ऐजेन्डामा राखेको छु । जनतालाई पनि सोही अनुरुपको बाँचा दिएको छु ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

धेरैजसो युवा शक्ति विदेशमा छन् । यो व्यवस्थाले युवालाई खाडीमा जान बाध्य बनाएको छ । नेपालमा रोजगारी छैन । ठूला दलले सबै क्षेत्र भष्ट्र बनाइसकेका छन् । नयाँ संविधान निर्माण गरेर रोजगारी र आर्थिक अवसर सिर्जना गरेर नयाँ युगमा परिवर्तन गर्ने योजना रहेको छ । त्यसै योजना अनुरुप मैले जनतामाझ आफ्ना योजना सुनाएको छु । जनताहरूले पनि व्यवस्था परिवर्तनको खाचो देखाइरहेका छन् । देशमा रोजगारीको व्यवस्था तबमात्र हुन्छ । जब गणतन्त्रको अन्त्य हुनेछ ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

पहिलो कुरा त यो संविधान परिवर्तन गर्नुपर्छ । यसका लागि व्यवस्था परिवर्तनको योजना मैले निर्माण गरेको यस कुरामा नागरिक सचेतीकरण गर्ने योजना छ । मेरो भूमिका दलदलमा फसेको यो व्यवस्थालाई सहि समयमा सही निर्णय लिएर परिवर्तन गर्नु हो ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

यो राज्यले अहिलेसम्म नागरिकको हितमा काम गर्नै सकेको छैन । जबसम्म संविधान रहिरहन्छ तबसम्म काम गर्न पनि सक्दैन ।

प्रकाशित मितिः   ९ फाल्गुन २०८२, शनिबार ०५:०५