उम्मेदवारका ५ एजेन्डा

यातायात व्यवसाय र सामाजिक सेवामा सक्रिय रमेश सापकोटा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् ।

पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका उनी सुर्खेतको निर्वाचन क्षेत्र नं. २ मा पहिलो पटक आफूलाई जनअनुमोदन गराउने र रास्वपालाई जित दिलाउने योजनामा छन् । चुनावी अभियानमा व्यस्त सापकोटालाई ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित रहेर उनका योजना, एजेन्डा र प्राथमिकता के छन् भनेर सोधेका छौँ । प्रस्तुत छ, सापकोटाको जवाफ जस्ताको त्यस्तैः


 

 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

सडक पूर्वाधार मेरो पहिलो प्राथमिकतामा पर्छ । पश्चिम सुर्खेतमा अझै पनि ठूला र व्यवस्थित सडक छैनन् । नागरिकले सडकलाई विकासको प्रमुख मेरुदण्डको रूपमा लिएका छन् । चार वटा पालिका जोड्ने सडक विस्तारलाई अगाडि बढाउने छु । पश्चिम सुर्खेतका हरेक बस्तीमा अझै मोटरबाटो पुगेको छैन । विद्युत र खानेपानीदेखि स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास पर्याप्त छैन । त्यसैले बस्तीबस्तीमा खानेपानी, विद्युत, स्वास्थ्य र शिक्षाको पहुँच पुग्नेगरी विकासे योजना बनाएको छु ।

गाउँगाउँमा विकासका मूल फुटे मात्रै नागरिकले संघीयताको आभास गर्नेछन् । कृषिको सहज बजारीकरणका लागि साना तथा मझौला उद्योगको स्थापना गर्ने, खेल पूर्वाधार निर्माण गर्ने, अधुरा रहेका औद्योगीकरणका योजनालाई निरन्तरता दिने तथा पश्चिममा सञ्चालन गर्न थालिएको सिमेन्ट उद्योगलाई स्थापना गर्न नीतिगत रूपमा सहज वातावरण बनाइदिने योजना बनाएको छु ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

तीनवटा पालिका रहेको पश्चिम सुर्खेतमा स्वास्थ्य सेवा पाउन निकै मुश्किल छ । दुरीका हिसाबले टाढा–टाढा बस्ती हुनु, उपलब्धताका हिसाबले औषधी नपाइने अवस्था छ । त्यस्ता समस्याको अन्त्यका लागि नजिकको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई भरपर्दो र सुविधा सम्पन्न बनाउने योजना छ । स्वास्थ्यमा देखिएको दरबन्दीको समस्याका बारेमा समेत म जानकार छु । त्यसलाई समाधान गर्नका लागि समेत मैले पहल थाल्नेछु ।

सामुदायिक शिक्षा सवलीकरणका लागि गुणस्तरीय शिक्षामा जोड दिनेछु । आधाभूत तहबाट शिक्षाको जग बलियो हुने भएकाले अनुभवी तथा तालिम प्राप्त शिक्षक उत्पादन गर्ने योजना राखेको छु । शिक्षक दरबन्दी कायम गर्न दरबन्दी मिलान गर्ने तथा गुणस्तरी शिक्षा अभिवृद्धिका लागि शिक्षकहरूलाई बेला–बेलामा तालिमको व्यवस्था गर्ने कुरामा मेरो जोड रहेको छ । शिक्षक नियुक्तिमा हुने राजनीतिकरणलाई अन्त्य गर्ने, प्रतिस्पर्धी तथा क्षमतावान शिक्षक उत्पादनमा मेरो ध्यान केन्द्रित हुनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि पूर्वाधार क्षेत्रको विकासमा समेत मेरो योजना रहेको छ ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

युवालाई स्वरोजगार बनाउनु मेरो प्राथमिकता हो । त्यसका लागि अनुदानका कार्यक्रममा जोड दिने, सीप अनुरुपको रोजगारीको व्यवस्था गर्ने योजना मैले बनाएको छु । रोजगारी सिर्जना गरेर मात्र आर्थिक विकास हुने भएकाले स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई उद्योग स्थापना गरेर सञ्चालन गर्ने योजना छ ।

पश्चिम सुर्खेतमा कृषिमा राम्रो सम्भावना छ । त्यही अनुरुप कृषि यान्त्रिकरण, ब्याज अनुदानका कार्यक्रम तथा कृषक पाठशाला निर्माणको योजना रहेको छ । जडिबुटीको सहज बजारीकरणका लागि साना उद्योगको अवधारणा बनाएको छु । स्थानीय वनबाट लिन सकिने लाभलाई मध्यनजर गरेर प्राविधिक अवधारणा अनुरुपका योजना कार्यान्वयन गर्नेछु । नागरिकको आवश्यकतालाई ध्यानमा राखी खानेपानी, सडक पूर्वाधार र विद्युतसहितको ठूला उद्योग स्थापनाको परिकल्पना गरेको छु । जसले रोजगारीको सिर्जना गर्नेछ ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

सिंहदरबारको अधिकार गाउँमा आयो भनेर भनिएको छ । अझै पनि वडा कार्यालय, नगरपालिका वा गाउँपालिका तथा प्रशासनमा जाँदा नागरिकले दुःख पाएका छन् । शान्ति सुरक्षा र अमनचयन, व्यावसायिक सुरक्षा र विकासले गति लिए मात्रै संघीयताको महसुस हुनेछ । त्यसैलाई साकार पार्नका लागि मेरो उम्मेदवारी रहेको छ । मैले भष्ट्राचारको अन्त्य गर्ने, शान्ती सुव्यवस्था कायम गर्नेगरी कार्ययोजना बनाएर अघि बढेको छु ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरु के–के हुन् ?

सर्वप्रथम त राज्यले नागरिकलाई अनुभूति हुनेखालका सेवा दिनुपर्छ । जो अहिले पनि नागरिकको पहुँचमा पुग्न सकेको छैन । नागरिकको आवश्यकताको आधारमा योजना नीति कार्यक्रम र बजेट निर्माण गर्नुपर्छ । सरकारले नागरिकलाई सम्मानसहितको सेवा दिनुपर्ने हुन्छ ।

प्रकाशित मितिः   ४ फाल्गुन २०८२, सोमबार ११:०६