बँदेल आक्रमण बढेपछि अदालतमा रिट

सुर्खेत: बँदेलको आक्रमण बढ्न थालेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । पछिल्लो समय दैलेखमा मान्छेको ज्यान लिनेगरी बँदेलको आतंक बढेपछि विपद् संकट क्षेत्र घोषणासँगै मृत्यु भएकाहरूको क्षतिपूर्ति र घाइते भएकाहरूको उचापर खर्च उपलब्ध गराउनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो ।

अधिवक्ताहरू उपेन्द्रकुमार रावत, नमराज योगी, लोकप्रसाद गौतम र नमनकुमार शाहीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन दैलेखदेखि सम्बन्धित स्थानीय तह गरी २५ वटा निकायविरुद्ध रिट दायर गरेका हुन् । रिटममा दैलेखका दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका, आठबीस नगरपालिका, महाबु गाउँपालिका लगायतका सयौँ गाउँबस्तीमा विगत १० वर्षदेखि बँदेलले बालीनाली नष्ट गरेर हजारौँ किसानहरूलाई दुःख हैरानी दिएको उल्लेख छ । ‘पछिल्लो समय बँदेल दिनदहाडै मानव बस्तीमा प्रवेश गरी मान्छेको ज्यानसमेत लिएको छ,’ रिटमा भनिएको छ ।

बँदेल नियन्त्रण पश्चिम दैलेखकाका जनताले लामो समयदेखि बँदेल आतंक भोग्दै आएको हुँदा स्थानीय तहमार्फत सर्वसाधारण किसानहरूको बालीनालीमा पुगेको हानि नोक्सानीको लगत संकलन गर्नुपर्ने कुरा पनि रिटमा उठाइएको छ । साथै किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति दिनु÷दिन लगाउनु, उक्त समस्याको अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गरी बँदेल गर्न सरकारी निकायका नाममा उपयुक्त आज्ञा आदेश जारी गर्न पनि माग गरिएको छ ।

प्रकाशित मितिः   २९ माघ २०८२, बिहीबार ०९:५४