प्रदेशसभाको अधिवेशन सुरु
सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन सुरु भएको छ । आइतवार यो अधिवेशनको पहिलो बैठक बसेको छ । उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखेका छन् ।
भनाइ राख्ने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा विध्वंश गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए । उनले आन्दोलनमा घुसपैठ गरेर संविधानका आधारभूत स्तम्भहरू भत्काउन खोजिएको बताए । यद्यपि, पवित्र उद्देश्य बोकेर आन्दोलित युवाहरूले भने देशका लागि नयाँ पाठ सिकाएको मुख्यमन्त्री कँडेलको भनाइ थियो । ‘नवपुस्ताको आन्दोलनले हामीलाई पनि गम्भिर पाठ सिकाएको छ’ उनले भने, ‘युवा पुस्ता अब मौन रहन तयार छैनन्, अवसर, सहभागिता र जवाफदेहिताको माग गरिरहेका छन् ।’
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाहीले संघीय संरचना नागरिकको त्याग र तपस्याबाटै प्राप्त भएको भन्दै यसलाई जोगाउनुपर्ने बताए । जेनजी आन्दोलनमार्फत युवाहरूले अघि सारेको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षको आवाजलाई दलहरूले र सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमालेका प्रमुख सचेतक टेकराज पछाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोषी शाहीले पनि जनआकांक्षा पूरा गर्ने गरी नीति निर्माण र योजना कार्यान्वयनमा जोड दिए ।
प्रकाशित मितिः १९ माघ २०८२, सोमबार ०९:५१
साझा बिसौनी ।