ट्राफिक बत्ती प्रयोगविहीन

नगरपालिका बेखबर, ट्राफिक भन्छ, ‘मर्मत गर्नुपर्छ’

सुर्खेत: मंगलवार दिउँसो ठीक २ बजे । वीरेन्द्रनगरको व्यस्त वीरेन्द्रचोक । ट्राफिक लाइट बलिरहेको देखेर सोनम सिंहले आफ्नो गाडी रोके । विराटनगरबाट सुर्खेत आएका उनले ट्राफिक नियम पछ्याएर गाडी रोकेका थिए । तर नजिकैका स्थानीय व्यापारीले ट्राफिक लाइट सञ्चालनमा नरहेको जानकारी गराएपछि उनी छक्क परे र अन्य सवारी चालकसरह नै गाडी आफ्नो गन्तव्यतर्फ अघि बढाए ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक जडान गरिएको ट्राफिक लाइटले धेरैलाई यसैगरी अलमल्याउने गरेको छ । पोलमा बत्ति बलिरहेको हुन्छ, तर त्यसको पालना कसैले गरिरहेको हुँदैन । अझ रोचक कुरा के छ भने जतिबेला पनि पहेँलो बत्ति बलिरहेको हुन्छ । जसले गर्दा यात्रु र सवारी चालकलाई समेत अलमलमा पार्ने गरेको छ । वीरेन्द्रचोक नजिकै व्यवसाय गरिरहेका सुमित थापाका अनुसार दिनमा चार–पाँच वटा सवारीसाधन यसरी नै अलमलमा पर्ने गरेका छन् । उनले गत असोजदेखि नै ट्राफिक लाइट राम्रोसँग सञ्चालनमा नआएको जनाए । ‘असारदेखि एकदुई महिना केही चहलपहल थियो, अहिले अवस्था उस्तै छ, असारे बजेट सिध्याउन खर्चेको प्रतिफल होला’ उनले भने ।

वीरेन्द्रनगरमा दिनप्रति दिन सवारी चाप बढ्दो छ । पैदलयात्रुहरूको भिडभाड पनि बढ्दै गएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ । ट्राफिक व्यवस्थापनकै लागि भनेर गत असारमा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरेको हो । तर पछिल्लो समय प्रयोगविहीन छ । छेउमै ट्राफिक लाइट जडान गरेपनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

आवश्यक प्राविधिक परीक्षणपश्चात् २०८२ असारमा जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेकी थिइन् । त्यसयता करिब तीन महिना नियमित सञ्चालनमा रहेको ट्राफिक लाइट अहिले प्रयोगमा छैन ।

आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वीरेन्द्रचोकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाले झण्डै २५ लाख लगानीमा जडान गरेको हो । लागत अनुमान ३१ लाख गरिएपनि २४ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

प्रदेशको राजधानीमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले ट्राफिक लाइट जडान गरे पनि त्यो ‘सो पिस’ मा परिणत भएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । बत्ती जडान गरेपछि असोजबाट सञ्चालनमा नआएको स्थानीय व्यापारी मनोज शाहले बताए । उनले भने, ‘वीरेन्द्रचोकमा जडान गरिएको ट्राफिक लाइट सो पिसमा परिणत भएको छ, जतिबेला पनि पहेलो बत्ती मात्र बलिरहन्छ, यात्रुलाई नै अलमल बनाइरहेको छ ।’

अर्का स्थानीय व्यापारी अर्मान अन्सारीले जडान भएयता अहिलेसम्म आफूले राम्रोसँग बत्ती बलेको नदेखेको बताए । ‘मेरै पसलको छेउमा ट्राफिक लाइट जडान गरिएको छ, एक महिना धाैँ–धाैँ बल्यो त्यसपछि अहिलेसम्म त्यो बलेको देखेको छैन’, उनले भने, ‘लाइट लगाउँदा कम्तीमा कहाँ आवश्यक छ, त्यो हेरेर जडान गर्दा राम्रो हुन्थ्यो ।’

ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले ट्राफिक लाइट बिग्रेकाले अहिले बन्द रहेको बताए । उनले त्यो मर्मत भएपछि पुनः सञ्चालनमा आउने जनाए । अहिले लाइट पनि अफ नहुने र पहेँलो बत्ती बलिरहने भएकाले यात्रुहरूलाई अलमल हुने गरेको उनले बताए । यस विषयमा नागरिकले समेत चासो नदिएको, ट्राफिक जनशक्ति कम हुँदा व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ । मंगलवार कार्यालय प्रमुख शाहीले ट्रापिफक लाइटको अवस्थाबारे निरीक्षण गरेका थिए । उनले अफ गर्न खोज्दा पहेँलो बत्ती मात्र बल्ने तथा समय पनि नमिल्दो रहेको भन्दै अब मर्मत गरेर मात्र सञ्चालन गर्न सकिने जनाए ।

वीरेन्द्रनगर नगरपालिकाले भने ट्राफिक लाइटको समस्या समाधानका लागि मर्मत गरिने जनाएको छ । सम्बन्धित कार्यालयबाट यसको आधिकारिक समस्याबारे जानकारी आएको खण्डमा तत्काल समाधान गरिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘जेन–जी आन्दोलनपछि लाइट बिग्रेको जानकारी छ, यसबारे आधिकारिक जानकारी आए समाधान गर्छौं ।’

पहिलो पटक जडान गरिएको बत्ती नै प्रयोगविहीन भइरहँदा नगरपालिकाले भने अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाइरहेको छ । नगरप्रमुख ढकालले रत्न राजमार्गअन्तर्गत यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोकमा सडक विभाग र मुलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेगरी योजना निर्माण गरिएको छ । बिग्रेका ट्राफिक लाइट मर्मत गरिने भन्दै उनले यसको दिगो सञ्चालनका लागि आम नागरिकले समेत सहयोग गर्नुपर्ने बताइन् ।

प्रकाशित मितिः   ३० पुष २०८२, बुधबार ०५:०५