खेलकुदमन्त्रीसँग मुख्यमन्त्री कँडेलको असन्तुष्टी

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि संघीय सरकारले नै पर्याप्त तयारी नगरेको बताएका छन् । मंगलवार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँग सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै आफ्नो तर्फबाट तयारी गर्न सुझाव दिएका हुन् ।
दशौँ राष्टिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन पूर्णसहयोग हुने पनि उनले बताए । छलफलमा मुख्यमन्त्री कँडेलले पटक–पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकोमा असन्तुष्टी जनाए । उनले भने, ‘तपार्इंहरू खेलकुद खेलाउने गरि आउनुस्, हाम्रो तर्फबाट पूर्णसहयोग रहन्छ, तर पटक–पटक मिति तोकेर झुक्याउने काम नगर्नुस् ।’
मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामग्रीसमेत खरिद नगरेकोले फागुणमा कसरी खेल खेलाउनुहुन्छ भन्दै मन्त्री गुप्तालाई प्रश्नसमेत गरे । उनले भने, ‘अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहेनछ, एक महिनामा कसरी खेल खेलाउने गरि तयारी गर्नुहुन्छ ?’
मुख्यमन्त्री कँडेलले कर्णालीमा खेल उद्घाटन गरेर अन्त खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताए । पटक–पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोड्ने काममा असन्तुष्टी जनाए । उनले भने, ‘तपाईंहरूको कारणले प्रतियोगितको मिति सरिरहेको छ, जनतालाई ढाटने काम नगर्नुस् ।’
प्रकाशित मितिः ३० पुष २०८२, बुधबार ०५:०२
साझा बिसौनी ।