राजमार्ग निर्माणमा ढिलासुस्ती

सुर्खेत: पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक निर्माणमा ढिलाइ भएको हो ।

सम्झौताअनुसार यो सडक २०८१ असार १५ मा सकिनुपर्ने हो । तर संघीय सरकारबाट बजेट नआएको कारण देखाउँदै प्रक्रिया नै पूरा नगरी प्रदेश सरकारले स्वामित्व लिएको यो आयोजना सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने देखिएको छ । प्रदेशका तत्कालीन अर्थमन्त्री विन्दमान विष्टले साढे १२ किलोमिटर सडक कालोपत्रे गर्न बजेट सुनिश्चित गरेका थिए । वनको कारण देखाउँदै निर्माण कम्पनीले काममा आलटाल गरिरहेको छ । बड्डीचौर–खम्बागाडे सडक खण्डको काम निकै सुस्त गतिमा भइरहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो ।

२०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि काम अझै अधुरै छ । अहिले म्याद थप गरिएको छ । २०८३ असारसम्मका लागि म्याद थपिएको हो । म्याद थप गरेर निर्माणको काम भइरहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार हालसम्म ३५ प्रतिशत प्रगति हासिल भएको छ । प्रक्रियागत ढिलाइसँगै ठेकदार कम्पनीको गम्भीर लापरबाहीका कारण काम लक्ष्य अनुरूप हुन नसकेको हो । अहिले भने काम धमाधम भइरहेको जनाइएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमा काम भइरहेको छ । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । यस्तै, विद्यापुर–बल्दे सडक खण्डमा अहिले काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । उक्त खण्डमा काम सन्तोषजनक भएको पाइएको छ । राजमार्गअन्तर्गत खम्बागाडे–विद्यापुर सडक खण्डको काम पनि भइरहेको छ । खम्बागाडे–विद्यापुर सडक खण्डको दश किलोमिटरको काम हुनेछ ।

केही दिनअघि मुख्यमन्त्री यामलाल कँडेलले मदन भण्डारी राजमार्गअन्तर्गत सडकको कामको अनुगमन गरेका थिए । मुख्यमन्त्री कँडेलले पदभार ग्रहण गरेदेखि नै विलम्ब भएका पुराना आयोजना सम्पन्न गर्न विशेष अग्रसरता देखाइरहेका छन् । ठेकदार कम्पनीहरूलाई पटक–पटक कार्यालयमा बोलाएर निर्देशन दिएका कारण अहिले सबै जिल्लामा आयोजनाहरूको काम विगतको तुलनामा सुधारात्मक देखिन थालेको मुख्यमन्त्री कँडेलले बताए । ‘हामी सरकारको नेतृत्वमा आएपछि आयोजनाबारे छलफल गर्ने, ठेकदारलाई ताकेता गर्ने र काम नगरे कारबाहीको चेतावनी दिनेजस्ता कदम चाल्यौँ,’ कँडेलले भने, ‘अहिलेको विषम परिस्थितिले सबैलाई प्रभाव पारेको छ, तर पनि विगतभन्दा यसपटक कामको गति बढेको महशुस गरेको छु ।’

आयोजना सञ्चालन गर्दा समस्या देखिएमा समाधान गर्दै जानुपर्ने मुख्यमन्त्री कँडेलले बताएका छन् । ‘बजेट छुट्टयाएर र कार्यक्रम तय गरेरमात्र हुँदैन, कार्यान्वयन गराउने निकायहरूले पनि तत्परता देखाउनुपर्छ,’ उनले भने, ‘समयमै काम सम्पन्न भएर जनताले सेवा पाएमात्र बजेटको सदुपयोग हुन्छ ।’ उनका अनुसार कतिपय बहुवर्षीय आयोजनामा अझै बजेट व्यवस्थापनको चुनौती छ । ‘मैले ठेकदार कम्पनीहरूलाई भनेको छु, तपाईंहरूले समयमै काम सक्नुभयो भने आवश्यक बजेट व्यवस्थापनमा सरकारले ध्यान दिन्छ,’ उनले स्पष्ट पारे । सरकारले पूर्वाधार योजनाहरूको खबरदारी गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २९ मंसिर २०८२, सोमबार १०:१७