कथा

बयान

‘अहिले विवाद चक्र्याछ यसलाई थोरै सेलाउन देउ यार…।’ कानमा मोबाइल फोन टाँस्दै उ भित्रपस्यो । श्रीमतीले उसको गाढानिलो रङ्गको कोट उतारेर ह्याङ्गरमा टङ्गाइन् ।

‘मेरो विश्वास छैन तिम्लाई ? अनि किन मन्त्री र पीएका कुरा गर्चौ त ? मैले भनेसी सक्यो त यार । तिम्रो म छु म गर्दिन्छु यार । तातै खाउँ जल्दै मरुँ नगर न यार… ।’ सेतो कमिज र कोटकै निलो पाइन्ट उतारेर उसले कालो ट्र्याकसुट लगायो ।

‘कसलाई के भअको हो र ?’ श्रीमतीले सोधिन् ।

‘कर्मचारीको सरुवा निर्णय अर्दा नयाँ निवेदनलाई पनि पुरानै मितिमा दर्ता अर्दिएचन् के बदमासहरूले… ।’ भन्दै उसले फोन पाकेटमा घुसा¥यो ।

‘पुरानो मितिमा पुरानै निवेदन दर्ता हुँदा हुन् नयाँ निवेदनलाई फेरि त्याँ कसरी थपे तनि ?’

‘दर्तामाथि क ख ग घ अर्दै नयाँ पनि घुसाइदिए दर्ता चलानी अर्नि हरामीहरूले । पैसा खान पाएसी आँखा कान बन्द अर्नि द्रव्यपिचासहरू । लोभले लाभ लाभले विलाप ।’

‘धान खानि मुसो चोट पाउनि बिरालो । बेकारमा हजुरलाई किन दुःख दिन खोजेको हो त तो अख्तियारले ?’

‘के कसो भअको हो भनेर सत्यतथ्य बुझ्न भनेर बोलाउँच के फाँटका कर्मचारीलाई पनि ।’

‘दर्ता चलानीका बदमास हुन् तिनलाई कारबाइ अर्नपर्च भनेर भन्दिसेला । कसैको लठारो बोक्न पर्दैन । जौना अम्लाँ विष लाउँच तेइ झर्च ।’

बाहिर रक्सी खाँदा बानी बिग्रन्छ भनेर मन्जुको दबाबमा मति सुधार्न गोपालले पछिल्ला दिनमा कोठामा नै पिउने गरेको थियो । लोग्नेलाई साथ दिने बहानामा मन्जुले पनि गफिदै पिउने गर्थिन् । दराजबाट आकर्षक कालो सीसा भएको विदेशी ब्रान्डको रक्सी झिकेर दुईवटा गिलासमा थोरथोरै खन्याइन् । आपसमा मुस्काउँदै दुवै जनाले सुस्त गिलास ठोके र ओंठमा जोते ।

‘आज त छोरो लामै पो सुतेच कत्थेर (कतिखेर) सुतेको ? उठाउन पर्लाकि अब ।’
‘सुतोस् जति सुत्च हरामी । एक चड्कन लाइदेकिम् रुदैँ सुतो ।’
‘कस्ती बेकुप (बेवकुफ) रैचौ त तिमी । किन कुटेको के छोरालाई ?’

‘के खती अरो हजुरको छोराले थाहा छ ? माथियाट तो गाडीवाला खेलौना तल फालेसि ब्याट्री हाल्ने ठाम् भ्वाक्कै उक्केर फुटो ।’
‘ओहो त्यो खेलौना ? बर्बाद भएन त ? थै !’
‘त्यत्रो बच्चालाई लाख लाख रूपैयाँ पर्नि खेलौना ल्याइदिनि त । त्यत्रो पैसा खेर गअन अब ?’

‘आमाले पो जतन अर्नपथ्र्यो । अनि सानो बच्चालाई कुटेर हुन्च त ? तागत छ भने मसँग भिड्न आए भैगोनी ।’ आँखो झिम्काउँदै गोपालले भन्यो ।
‘तागत अरे ! हेर्नि हो तागत ? हँ ? साँच्चै भिड्नी हो त ?’
‘खाएर भिडम्ला । जाउन डियर अलिकति फ्रुट सलाद लेराउ ।’

साना टुक्रा पारिएका फलफूल मञ्जुले किस्तीमा ल्याएर शोफा अगाडिको टि–टेबुलमा राखिन् ।
‘खानिबेला फोन नगरिस्यो भन्या होइन ? अनि किन ?’

‘घडी मगाथेँ भोलि लिन आम्नुहोला भन्दै छ । अब मरिलानु के छ र माया ? एउटा ब्रान्डेड घडी लगाउनु परो भनेर नि ।’
‘सुनिस्यो न ! मलाई एउटा सारी असाध्यै मन प¥याछ केरे ।’
‘८० हजारको सारी त तिम्ले किनिसक्यौ त । यो दराजभरी सारी नै सारी छन् ।’

‘तो सारी चाडबाडमा लाउनि हो रनि । कसैको बिहे बर्तमन र पार्टीमा जाँदानि तेइ लाउनी त ? सारी प्यालेसमा एक लाख को कस्तो राम्रो छ । मलाई स्वामीजीको स्वीकृति मात्रै चाइया छ के । है ?’
‘आ जेसुकै अर चेपारे काली । ल गिलासमा थप अलिकति त्यसोभा ।’
‘कल्पनाले आज पनि फोन अरेइ थिइ, २५ लाख मात्रै भए पनि भन्दैथिइ ।’

‘छोड्देउ के ती कुरा सकिन्न भन्देउ न । आफ्नै पैसा त कता तिर लुकाउनु र थन्काउनु भाछ ह्याँ, अर्काका पैसा लगानी अर्दिनपर्नी तेसै बिनास्वादै ! नदुख्या टाउको डोरी लाअर दुखाउनि भन्या झैं ।’
‘अब खाना खानपर्च है ।’
‘ए जाउ जाउ छोरो उठो रुदै छ । लोट्ला है ।’

केही छोटो समयमा मारेको आर्थिक छलाङबाट राजधानीमा स्थापित भइ उन्नत जीवन यापन गर्न सफल भएकोले आफू हरू पनि भाग्यमानी रहेको ठम्याइ हुँदोहो गोपाल दम्पतीको । समाजमा आर्थिक प्रगतिले नै मान प्रतिष्ठा र पहिचान बढ्छ भन्ने आत्मविश्वास थियो । आन्तरिक काममा चासो राख्नु चनाखो बन्नु र खुसामद गरिरहनुको कारणले अर्थमन्त्रालय र गृह मन्त्रालयभित्रका आकर्षक कार्यालयमा मात्र उसको ओहोरदोहोर सरुवा भइरहन्थ्यो । चतुर खेलाडी भनि गोपाल शर्माको पर्यायवाची नाम बनिरहेको थियो ।

कम्मर पेटि, पर्स, साँचो र मोबाइल फोन गोपाल शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बाहिरै चेकिङ रुममा बुझायो । सिक्री औंठी र ब्रान्डेड नयाँ घडी उसले घरै थन्काएर आएको थियो । अख्तियारको भिजिटिङ कार्ड घाँटीमा झुण्डाउँदै सम्पर्क शाखाभित्र पस्यो । अनुसन्धान अधिकृत भुवन बिस्टसँग भेटेर सामान्य परिचय भयो । विष्टबाट मुद्दाको विषय थाहा पाउँदा गोपाल हैरान मात्र भएन, छाँगाबाट खसे झैं कायल पनि प¥यो । किनभने उसले त कर्मचारी सरुवामा दर्ताफाँटबाट कैफियत भएको सन्दर्भ नै होला भन्ने पूर्ण विश्वासमा थियो । तब तुरुन्त कलेटी परेको ओंठलाई घरीघरी जिब्रोले चाटिरह्यो । मुखमा थुक सुकेर खरो बनायो त्यसै बखत पिसाबले च्यापेर हैरान पो पा¥यो । आफ्नै मुद्दामा बयान दिनुपर्ने कारण थाहा भएको भए पहुँच रहेको शक्तिकेन्द्र सम्म भनसुन पु¥याएर त्यही बमोजिम तयारी गरेर आइन्थ्यो कि वा अरु बुद्धि झिकिन्थ्यो कि भन्ने चिन्तनले सताउन थाल्यो ।

‘मलाई अकुत सम्पत्ति कमाएको भनी उजुरी अर्निहरू ती व्यापारी हुन कि कर्मचारी हुन त्यत्ति मात्रै भन्दिनुस न भुवन सर ?’
‘सरि सर त्यो पनि भन्न मिल्दैन । अब काम सुरु गरौँ ।’

‘मेरा विरुद्धमा लाग्नी यी शत्रुले मलाई बेकारमा घरीघरी दुःख दिन थाले । कस्ता बेलाँ जागिर खाएचु !’
‘के पहिला पनि यही विषयमा बयान दिनुभएको थियो र ?’

भुवनको औपचारिक प्रश्नमा गोपालले बयान दिएको कुरा बताए पनि अख्तियार कर्मचारीलाई खुसी बनाएर फाइल तामेलीमा हाल्न लगाएको गोप्यता उजागर गरेन । लिखित बयानको पहिलो बुँदामा सोधिएको प्रश्न त उसलाई कण्ठस्थ थियोे, जो सुन चाँदी चौपाया घर–घडेरी जग्गा जमिन बैंक मौज्दात शेयरमा लगानी सम्पत्तिको विवरण लेख्यो । तर तीनवटा बजनदार सवालहरूले भने उसलाई दिनभर सतायो खलखली पसिना निकाल्यो । तब तामेली फाइल खोलिएको मात्र होइन अरु उजुरी पनि थपिएका रहेछन भन्ने विश्वासले उ झन थला परिरहेको थियो ।

तीनवर्ष अगाडी गाउँमै पाँच लाखमा जग्गा खरिद गर्नु भएछ र छ महिना पछि सो जग्गा मोतीराम मल्ललाई ३० लाख बेच्नु भएछ । उक्त जग्गामा पक्की घर हालेर मल्लले सन्तबहादुर आलेलाई २५ लाखमा बेचेको लिखत कागजबाट देखिन्छ । के कारण त्यसो गरिएको हो भन्ने सवालमा, राजश्व तिरेर जग्गा किनबेच भएको हो । मबाट महँगोमा किनेको जग्गा आलेले किन सस्तोमा बेचे थाह छैन भन्ने उत्तर सन्तोषजनक पटक्कै नहुँदा स्वभाविक रूपमा अन्य प्रश्न पैदा भैरहे ।

दुई वर्षदेखि सिफ्ट गाडी चढ्नु भएको रहेछ कुन आयश्रोतले किन्नु भएको हो ? भन्ने प्रश्नमा गोपालको कनिकुथी जवाफ थियोे, कार मेरो दिदीसासुको छोरा सौगात केसीको हो उ स्कलरशिपमा पढ्न अस्ट्रेलिया गएपछि तेल हालेर मैले चलाउने गरेको हो । त्यो गोलमटोल जवाफले फेरि अनेक प्रश्न खडा भए । सामान्य खेतीपाती गर्ने किसानको छोराले अन्य आय आर्जन नभइ कार किन्ने हैसियत कसरी आयो ? अस्ट्रेलियाको सपना देख्ने युवकले कसलाई सजिलो पार्न कार किनेको होला ?

काठमाडौंमा श्रीमती मन्जुको नाममा घर किन्नु भएको रहेछ त्यसको श्रोत बताइदिनुस भन्ने सवालमा उसले अविलम्ब जवाफ दियो । घर त मेरी सासुले आफ्नी छोरीलाई बकसपत्र दिनुभएको हो । तीन छोरी मध्य तुलनामा आर्थिक अवस्था सबल भएकी माइली छोरी मन्जुलाई मात्रै बकसपत्र दिनु पर्ने कारण के हो र खासआम्दानीको स्रोत के रहेछ ? भन्ने अर्को प्रश्नमा, आम्दानी स्रोत थाहा छैन तर जसलाई बकसपत्र दिए पनि दिनेको इच्छा हुन्छ भन्ने ढंगको बनावटी जवाफ दिएको थियो । बयानका लागि सासूलाई पनि बोलाउने सवालमा उ आतंकित र नाजवफ भयो । प्रश्नमाथि प्रश्नले घेरेर कतैबाट उम्कन नसक्ने भएपछि उसको मनोबल भत्किरहेको थियो ।

‘त्यस्तो निराश नहुनुस न गोपाल सर । पानी खानुस फेरि । पानीभन्दा पनि एक मग विष दिए पिम्थेँ । म पनि तपाईं जस्तै कर्मचारी हुम् केरे । मन खोलेर फूल प्रसाद चढाउँछु, भोलि म पनि कतै काम लाग्न सकुम्ला । मलाई छुटकारा दिनुस् प्लिज् ।’

‘वरिपरि सीसीटिभी क्यामेरा देख्नुभएको छैन ? तपाईं के बोल्दैहुनुहुन्छ त्यस्तो ?’
‘सिसिटिभी पनि हामीजस्तै मान्छेले बनाका त हुनन् केरे सर । म थाकें, अब घर जान्छु बरु भोलि आम्ला ।’
‘काम नसकि तपाईं घर जान पाउनुहुन्न नी सर ।’
‘किन ? मैले औषधि खान परेन ?’
‘सुरुमा नै तपाईंले मेरो स्वास्थ्य अवस्था ठिक छ, कुनै पनि औषधि खाने गरेको छैन भन्नुभएको होइन ? बयानमा लेख्नु भएको छ त त्यो कुरा ।’
उसले कुनै जवाफ दिन नसकेपछि फेरि कुर्सीमा थचक्क बसि लामो सास फे¥यो । वरिपरि हे¥यो घोसोमुन्टो लगायो ।

कहिल्यै पनि फोन स्वीचअफ नहुने मान्छेको पटक पटकको सम्पर्कमा बेलुकासम्म स्वीचअफ नै भनेपछि मन्जुको मनमा हैरानी, त्रास र आक्रोश मिसिएको थियो । फोनमा एक्कासी गोपालको कल आएपछि उनी उज्याली भइन् ।
‘काँ होइसिन्छ के हजुर ? किन फोन स्वीचअफ अरिसेको ? कति सताउन जानिसेको त…..?’

‘म अहिले अख्तियारमा छु । मेरा कुरा सुनन् …’ हैरानीमा गोपाल सुस्त बोल्यो ।
‘नाइ किन हो र रातिसम्म अख्तियारमा ? आइस्यो के चाँडै घर, बाबा खोइ भनेर छोरो आत्तिरच ।’

‘मलाई अख्तियारले कस्टडीमा राखेको छ । ह्याँ बयान नसकिँदासम्म जान मिल्दैन भन्चन् ।’
‘मन्छेलाई तेसै कस्टडिमा राख्न पाइन्च र ? नाइँ आइस्यो घरै आइस्यो… ।’ मन्जुको अनुहार एकाएक अँध्यारो भयो ।

‘कस्टडीमा राख्ने पत्र थमाएका छन अनि ? सुन त भोलि बिहान मेरा कपडा साबुन मन्जन र चप्पल लिएर आउनु है । बयान नसक्केसम्म अरुलाई भेट्न नी नदिने भनेका छन् ।’
‘सुन त, चिन्ता नअर्नु नियास्रो लाए दिदीका घर जानु अरु कसैलाई केही नभन्नु है ।’
‘हे भगवान आज के सुन्न परेको यस्तो ? यो छोरालाई कसरी सम्झाउनी मैले … !’

‘बाबा भोलि आइसिन्च भनन् । तिमी नरोए है ?’ सम्वाद नसकिंदै सम्पर्क विच्छेद मात्र भएन, पुनसम्पर्कमा पनि फेरि स्वीचअफ भयो । स्वीचअफ हुनुको कारण मन्जुले बुझिन् तब त सयौं तर्कना दौडिए मनमा । राजनीतिको आड लागेर श्रीमानको जागिरले दिन गुना रात चौगुना आर्थिक प्रगति गरिरहेको थियो । जीवनशैली विलासितामा रूपान्तरण मात्रै भैरहेको थिएन, उच्च खान्दानको आभास दिन केही संस्कार संस्कृति ,बोलीचाली भाषा र व्यवहारमा पनि जानी नजानी नक्कल उतार्नु परिरहेको थियो । अब उप्रान्त अख्तियारले डामेको भनेर छि छि र दूरदूर पनि गर्ने होलान् । जोरिपारिले मात्रै होइन भित्रभित्रै आफ्नाले पनि काखी बजाउन पाउने भए । कसलाई कति पटक जवाफ दिनु ! इज्जत गए पनि सम्पत्ति जोगाउन सकिएला कि सपना झै सबै मेटिएला भन्ने पीरले पिरल्यो । बेगवान चल्ने तर्कनाले भाउन्न बनायो । डर र त्रासले मन आत्तियो । मनको खैलाबैलाले पटक्कै निन्द्रा आएन बरु आँखामा रातभर अश्रुभेल चलिरह्यो ।

हारगुहारका लागि मन्जुले मन्त्री, मन्त्रीका पीए, र हाकिमहरू लाई भेट्न खोज्दा पनि सकिनन् । सम्बन्ध टुटेका कारणबाट आफन्त र नातागोताले पनि भाउ दिएनन् । हार थाक मन्जु झिनो आशा बोकि सानिमाकी छोरी कौशिला दिदीका घरमा पुगिन् । दिदीलाई छाँद हाली रुँदा थुम्थुम्याएर कौशिलाले सम्हाल्दै भनिन्, ‘नरो, भो बहिनी नरो । मन दरो बनाउन पर्च यस्ताबेला ।’

‘यो साल दशा रैचन् दिदी, वहाँलाई अख्तियारले थुनेको छ । कस्तो दुब्लाइसेको छ । पापी अख्तियारले घरमा छापा मारेर खानतलासी अरो । नगद थिएन सुनचाँदी पोको पारेर लओ । बाहिर मुख देखाअर हिन्न नसक्नी भैयो । अब कसरी बाँच्नी होला भन्नी पीर लाउँच दिदी !’

‘नरो अबभित्र हिन् । भिनाजु हुनुहुन्च सल्लाह अरम्ला ।’
‘मन्जु ल आउ बस, मन दह्रो बनाउ धेरै चिन्ता नलेउ । मैले हिजो मात्रै पो थाहा पाएँ । कति दिन भयो साँच्चै ?’

‘आज पाँच दिन भए भिनाजु । बयान नसकी अदालतमा लान्नन्अरे । चिनेका पुलिस, हाकिम, मन्त्री खोज्दै दगुरें यस्ता बेला सबैले मन्टो बटार्दा रैचन् । भिनाजु अब क्यार्नी होला ? बैंक खाता र घर जग्गा सबै रोक्कामा पार्दिए पापीहुर् ले ।’

‘म स्कुल पढाउने मान्छे । कुनै हाकिम र नेतासँग चिनजान छैन । मेरो एउटा साथी वकिल छ, उसँग कुरा गरेर कतै केही कानुनी उपचार छकी …. ।’
‘वकिलसँग त कुरा भैसक्याछ भिनाजु । अब मुद्दा विशेष अदालतमा आएसि छुटाउनी कुरा छन । तर मुद्दा आउनी पो कहिले !’

‘छुटाउने अरे ? कसरी छुटाउने ? अख्तियारले मुद्दा बलियो बनाइ ल्यायो भने विशेषले कसरी छुटाउँछ ?’

‘पैसा खान पाएसी छुटाइदिन्चन् भन्नी बुझेर मैले पैसा पनि दिएकी छु त भिनाजु ।’

‘कस्तो अचम्म ! कुन वकिललाई कति पैसा दियौ ?’ भिनाजुको शंकास्पद कुराले मन्जु भीरबाट खसे झैं भइन् । हतारको बेला कसैको उक्साहटमा परि त्यसो गरेको भन्न पनि सकिनन् । दायाँबायाँ कतै नहेरी के गर्दा राहत मिल्छ भन्नेमै एकोहोरिएर पैसा बुझाएकी थिइन् । २१ लाख दिँदा भरपाई तमसुक केही गरिएको थिएन, गरिने कुरा पनि भएन । काम सफल नभए पैसा फिर्ता पाउनेमा पनि अनिश्चित पो देखिन थाल्यो । किनकि कानुन आधार थिएन । पैसा फिर्ता पाउने भन्ने सर्त पनि थिएन । वकिल माग्न गएको होइन बरु उसलाई खोज्दै बुझाउन जानू परेको थियो । तब त चिन्ताको खाडल झन गहिरो हुँदै जान थाल्यो ।

‘काम नभएसम्म अर्काका पैसा त्यसै पचाउन त पाइन्ननी भिनाजु ।’
‘काम नभए पैसा फिर्ता दिउँला भन्ने बाचा कबोल गरेको छ वकिलले ?’
‘त्यस्तो केही भाछैन तर मन्छेको इमान जमान त हुन्च केरे, हुन्न र ?’

‘पैसा दिन तिमीले हतार ग¥यौ कि साली ? विशेष अदालत मा गनाएका न्यायाधीशहरूलाई छानीछानी न्यायपरिषदले तानेर कारबाही पो गरिरहेको छ त ।’
‘अर्कालाई सताअर खानी अख्तियारका साइँदुवालाई कोले कार्बाइ अर्ला भिनाजु ?’

‘अख्तियार पनि पहिला जस्तो बदनाम छैन भन्छन् धेरै मान्छे र मिडियाहरू । अन्त कमाउने फेरि अख्तियारमा सरुवा भएर नुहाउने दुष्ट कर्मचारीहरू अहिले कारबाहीमा परिरहेका छन् । बदनाम आयुक्तहरू पनि तारीखमा छन् । कति हरामीहरू त परिवार छोडेर फरार छन । राजनीतिको खिचातानीले गर्दा पछिल्लो पटक स्वतन्त्र र योग्य व्यक्तिहरू आएर अख्तियार लाई बल्ल इज्जत दिएका छन् । जनतामा फेरि विश्वास बढ्न थालेको छ ।’
‘मन्त्री भनाउँदा असतीहरूले देश मारेर खाआका ठूला ठूला घुस के तिनका भुँडी चिरेर निकाल्न सक्च तो अख्तियारले ?’

भिनाजुले अख्तियारको बखान गरिदिएपछि मन्जुलाई तनाव को भारी थपियो । श्रीमानलाई छुटाउने आधार नभेटाउँदा मनमा निराशाको कुइरो झन झन मडारिन थाल्यो । उपाय बिहिन परिस्थितिले फेरि आँखा रसाएर बरर पोखियो सुर्ता ।

‘तपाईंको साला धर्मराज कार्की साहु ऋण काढेर साउदीमा परिश्रम गर्न गएको भन्नुभएको छ । कार्कीले आफ्नै श्रीमती का नाममा पैसा पठाएको पनि देखिन्छ । फेरि छुट्टै बैंकमा तिनै धर्मराजको खाता छ मासिक लाखौंको कारोबार हुन्छ । काठमाडौंबाट नै धेरै मान्छेले पैसा जम्मा गरिदिने गरेका छ्न । तपाईंबाट नै पटकपटक चेक सटही भैरहेको पनि देखिन्छ । एटीएम कार्डबाट तपाईंले नै नगद झिक्ने गरिरहनु भएको छ, त्यो के हो… ?’

यो प्रश्नले गोपालको सातोपुत्लो उडायो । अनुसन्धानले यतिसम्म खोतल्ला भन्ने अनुमान त के उसले कल्पना पनि गरेको थिएन । आफ्नो मनपेटले खाएको विश्वासिलो व्यक्ति का नाममा खाता खोलेर अनियमित रूपमा बर्सिन आउने आर्थिक लाभ जम्मा हुँदा कसैले सुइँको पाउन सक्छ भन्ने कतै कुनै शंका उपशंका केही थिएन । चेकबुकका सबै खाली पानामा खातावालाको सहि गराइ राखेर एटीएम कार्डसमेत लिएपछि आवश्यकता अनुसार ठूलो रकम चेकबाट र सानो रकम एटीएमबाट निर्बाधरूपमा भुक्तानी लिने उत्तम चलाखी गरिएको थियो ।

‘यसैगरी रामहरि पन्त भन्ने व्यक्तिको नाममा जम्मा भएको रकम तपाईंको श्रीमती मन्जुले चेकबाट भुक्तानी र एटीएम बाट नगद निकाल्ने गरिरहनु भएको देखिन्छ । ती व्यक्ति को हुन् र मन्जुले किन अर्काको पैसा त्यसरी झिक्ने गर्नु भएको छ… ?’

हंसले ठाउँ छोड्यो । टाउको गरुङ्गो भयो, धपेडीमा झैं छाती फुटाल्ने गरि मुटु धड्कियो । चर्को धूपमा दौडे झैं ओठमुख ट्याप ट्याप सुक्यो । सोचे सम्झे झैं गरेर अथवा बनावटी कुरा गाँसेर जवाफ दिनु अब बेकार थियो । कसैले थाहा पत्ता नपाउन् भनी ती व्यक्तिका नाममा अवैध रकम जम्मा हुन्छ र गोप्य रूपमा निकाल्ने गरिन्छ भनी सत्य बोल्न गोपाललाई साह्रै सकस परिरहेको थियो, तब त उ ढुङ्गोजस्तै मौन थियो । मौनताले उसैलाई ज्यादा हानी गरिरहेको थियोे । किनकि बयान दिनानुदिन लम्बेतान भैरहेको थियो ।

दिन दिनका कठोर प्रश्नले मात्र हैरान पारेको थिएन,शेयरमा लगानी गरेको, नातेदारका नाममा घर– घडेरी राखेको, ठूलो रकम व्यापारीलाई व्याजमा लगानी गरेको लगायतका गोप्य कर्तुतहरू पनि एक एक पर्दाफास हुन्छन र उम्कने बाटो नै पाइँदैन भन्ने सन्त्रासले पनि सकस पारिरहेको थियो । लामो समयदेखि निगरानीमा राखेर गहिरो अनुसन्धान गरि अकाट्य प्रमाण जुटाएको रहेछ भन्ने आभास भएपछि गोपालको नौनाडी बस्यो । अनुहारमा रङ्ग उड्यो, शरीर कर्कलो झैं फत्रक्क गल्यो ।

‘आजसम्मको तलब भत्ता र तपाईंको पैतृक सम्पत्ति बाहेक जागिर खाएको ६ वर्षमा १८ करोड रूपैयाँ कसरी कमाउनु भयो भन्ने प्रश्नको उचित जवाफ नदिएसम्म तपाईंको बयान सकिंदैन है गोपालजी । त्यसकारण तपाईं मौन रहनुको अर्थ केही हुँदैन ।’

‘आफ्नो टाउको फुटे मीतको टाउको बेलै सरि ।’ अनुहार कठोर पारेर उखान हाल्यो । विष्टसँग आँखा जुधाउँदै उ फेरि बिस्तारै बोल्यो ।

‘अब दिन्छु सत्य र साँचो बयान । ती द्रव्यपिचासहुर् ले मेरी श्रीमतीसँग भेट्न पनि मानिरहेका छैनन् अरे । मैले जे जति कमाएको छु, त्यसको दोब्बर र चौबर कमाउने कमिसनखोर अरु पनि छन सर । ती देशमाराले सम्पत्ति कुन कुन दुलामा दबाएका छन् मलाई एक एक थाहा छ । तिनलाई घिसारेर तिनको पनि लिनुपर्च बयान ।’

‘तपाईं सत्यतथ्य बोल्नुस त्यसको चिन्तै नगर्नुस् । के हामी सुरु गरौं त बयान ?’
‘हुन्छ सर ! अब धक फुकाएर बोलिन्च सबै कुरा ।’ भित्र बयान चलिरहँदा बाहिर कालो बादलले आकाश ढाकेको थियो । निरन्तर बिजुली चम्कँदै घनघोर आवाजमा मेघ पनि गर्जिरहेको थियो । तुफान आउने संकेतमा हावा सुसाइरहेको थियो ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २७ मंसिर २०८२, शनिबार १०:४१