कर्णालीको पहिलो जित

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा कर्णाली याक्सले पहिलो जित निकालेको छ । शनिवार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको हो ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएको थिए । ब्याटिङमा लुम्बिनीको प्रदर्शन मध्यम रह्यो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । ४३ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे । जे–जे स्मिथले १४ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाउँदा डार्शी शर्टले १३ बलमा चार चौकासहित १९ रन बनाए । रुबेन ट्रम्पलम्यानले तीन छक्का र एक चौकासहित २९ रन बनाउँदा शेर मल्ल सात रनमा नटआउट रहे । कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिँदा, सोमपाल कामी, गुल्शन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले एक÷एक विकेट लिए ।

एक सय ५७ रनको मध्यम लक्ष्य कर्णालीले तेह्रौ ओभरमै पूरा ग¥यो । १२ दशमलव २ ओभरमा मात्र एक विकेटको क्षतिमा कर्णालीले एक सय ६१ रन बनाएर एनपीएलको दोस्रो सिजनमा पहिलो जित हात पारेको हो ।

कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । एनपीएलको दोस्रो सिजनमा शतक हान्ने उनी पहिलो खेलाडीसमेत बने । मार्क वाटले मात्र ४१ बलमा १० छक्का र ६ चौका प्रहार गरी शतक प्रहार गरेका उनी ४४ बलमा एक सय १४ रनसहित अविजित रहे । विलियम बोसिस्टोले २० बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन बनाउँदा प्रियांक पाञ्चालले १० बलमा एक चौका र एक छक्कासहित १२ रन बनाए । बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले एक विकेट लिनुबाहेक अन्य कुनै पनि बलरले विकेट निकाल्न सकेनन् ।

एनपीएलको दोस्रो सिजनमा कर्णाली याक्सको यो पहिलो जित हो । आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो । दुई खेलमा एक खेल जित्दै दुई अंक जोड्न सफल भएको छ । लुम्बिनीले पनि दुई खेल खेल्दा एकमा जित र एकमा हार बेहोरेको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०८२, आईतवार १६:३९