दसौँ राष्ट्रिय खेलकुद फागुनमा

सुर्खेत: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीन पटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगिता नहुने निश्चित भएको थियो । नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्नेगरी झण्डा हस्तानतरण गरिएको थियो । तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पु¥याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
यसैबीच बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २० कार्तिक २०८२, बिहीबार १०:१९
साझा बिसौनी ।