बसपार्क निर्माण योजना अन्योलमा

सुर्खेत: बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले ‘कर्णाली बसपार्क योजना’ ल्यायो । आर्थिक वर्ष २०७९/०८० मा उक्त योजना ल्याएइको थियो । तर योजना कार्यान्वयन भएन, कागजमै सीमित बन्यो । आवश्यक बजेटको व्यवस्थापन गरिएको भएपनि योजना कार्यान्वयन हुन सकेन ।

त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा पनि बसपार्क निर्माण गर्ने योजना फेरि बुनियो । उक्त वर्ष पूर्वाधार विकास निर्देशनालय सुर्खेतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार ग¥यो । उक्त वर्षको नीति तथा कार्यक्रम र बजेटमा बसपार्क योजना समेटिएको थियो । तर डीपीआर निर्माणबाहेकका अन्य काम अघि बढेनन् । योजना अलपत्र प¥यो । सरकारले स्पष्ट आधार निर्माण नगर्दा योजना सफल बन्न नसकेको हो ।

वीरेन्द्रनगरको बढ्दो सवारी चापलाई ध्यानमा राखेर अघि सारिएको बसपार्क योजना अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाङ्गेसिमलमा बसपार्क निर्माण गर्नेगरी सामुदायिक वनको जग्गासमेत छनोट भइसकेको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने उक्त योजना हालसम्म पनि कार्यान्वयन हुनसकेको छैन । गत आर्थिक वर्ष २०८१/०८२ मा योजना निर्माणका लागि बजेट नै विनियोजन भएन । बढ्दो सवारी चाप व्यवस्थापनमा महŒवपूर्ण आयोजनाको रूपमा हेरिएको योजना सफल हुन सकेको छैन । सफल हुन नसकेको उक्त योजना अघि बढाउन प्रदेश सरकारले यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा पुनः समेटेको छ ।

राजधानीको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली बसपार्कको योजना ल्याएको हो । आयोजनाको डीपीआर निर्माण पूर्वाधार विकास निर्देशनालय सुर्खेतले गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डीपीआर निर्माण गरिएको हो । आइईई निर्माणको काम वीरेन्द्रनगर नगरपालिकाले गर्ने भएको छ । योजना कार्यान्वयनका लागि बजेट पूर्वाधार विकास निर्देशनालयमा गएको छ ।

अहिले उक्त योजना कार्यान्वयनमै समेत अन्योल देखिएको छ । डीपीआर पूर्वाधार विकास निर्देशनालयले निर्माण गरेको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइईई) वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्नेछ । वीरेन्द्रनगर नगरपालिकाको पहलमा कर्णाली बसपार्क निर्माणको योजना अघि बढाइएको हो । एउटै आयोजनाको दुईवटा निकायले अध्ययनका काम गर्दा समय धेरै लाग्ने तथा कार्यान्वयनमा चुनौती हुने देखिएको छ । यो वर्ष योजना कार्यान्वयनमा बजेट पूर्वाधार विकास निर्देशनालयमा गएको छ । कार्यक्रम कार्यान्वयनका लागि दुई करोड बजेट विनियोजन गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । न्यून बजेट र कार्यक्रमको दोहोरोपनाले कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष न्यूँन मात्र बजेट विनियोजन भएको छ, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइईई) वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्नेछ, एउटै कार्यक्रमको अध्ययन दुई निकायबाट गर्दा समय धेरै लाग्ने तथा एकरूपता नहुने देखिन्छ ।’

प्रदेश सरकारले हचुवाको भरमा कार्यक्रम घोषणा गर्दा कार्यान्वयनमा समस्या देखिने गरेको छ । प्रदेश राजधानीमा व्यवस्थित बसपार्क बन्न सकेको छैन । जसले गर्दा यात्रुहरूले दैनिक रूपमा सास्ती खेपिरहनु भएको छ । सुर्खेत बसपार्कमा यात्रुले सास्ती पाइरहेका छन् । त्यसैको समाधानका लागि अब बन्ने कर्णाली बसपार्क प्रविधिमैत्री बन्नेगरी निर्माण गर्ने योजना सारिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका निर्वतमान नगरप्रमुख देवकुमार सुवेदीले बसपार्क निर्माणको योजना ल्याएका हुन् । अहिले पनि पालिकाले प्रदेश सरकारको समन्वयनमा व्यवस्थित बसपार्क बनाउन लागि परेको छ । राजधानीको नगरपालिका भएकाले पनि दिनहूँ रूपमा उत्पन्न हुने समस्याको समाधान गर्नका लागि प्रविधिमैत्री बसपार्क निर्माणको योजना बुुनिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । अहिले सुर्खेत बसपार्क व्यवस्थित बन्न नसकेको भन्दै पालिकालाई प्रश्न उठिरहेको छ । नगरपालिकाले योजना कार्यान्वयन गर्ने भनेको भएपनि कार्यान्वयनमा समस्या देखिएको छ । पालिकाले भने प्रदेश सरकारसँग पहल गरिरहेको छ ।

प्रकाशित मितिः   २० कार्तिक २०८२, बिहीबार १०:१६