क्षतिग्रस्त संरचना पुनर्निर्माणको तयारी
सुर्खेत: आन्दोलबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणको तयारी थालिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जीको आदोलनको क्रममा आगलागीबाट ध्वस्त पारिएका सरकारी संरचनाको पुनर्निर्माणको तयारी थालिएको हो ।
सबैभन्दा धेरै कर्णाली प्रदेशसभाका संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेशसभा पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । प्रदेशसभा पुनर्निर्माणका लागि कार्यव्यवस्था तथा परामर्श समिति बैठक बसेको थियो । सभामुख नन्दा गुरूङको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय गरेको हो । सभामा आगलागीपछि पहिलो पटक बसेको यो बैठकले सुरूवातमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।
कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा आगामी माघ २१ गते प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनुपूर्व नै नियमित बजेटबाटै पुननिर्माण सुरु गर्ने निर्णय भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । पहिलो चरणमा सचिवालय र प्रदेशसभामा सहभागी दलका पदाधिकारीको कार्यालय पुनर्निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए ।
यस्तै बैठकले काम गर्दै जाँदा बजेट अपुग भए प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको जनाइएको छ । आन्दोलनकारीले गरेको आगजनीबाट प्रदेशसभा बैठकस्थल, सचिवालय, दलका कार्यालय, विभिन्न समितिका कार्यालय ध्वस्त भएका छन् । माघ २१ गते हुने हिउँदे अधिवेशन सञ्चालनका लागि विकल्पका रूपमा अन्यत्रभन्दा अहिलेकै प्रदेशसभा परिसरभित्रै अस्थायी रूपमा संरचना बनाउनुपर्ने बैठकमा सहभागी दलका प्रमुख सचेतक र सचेतकहरूले सुझाव दिए । अस्थायी बैठकस्थल बनाएर आगामी हिउँदे अधिवेशन सञ्चालन गर्न सुझाव आएको सचिव बुढाथोकीले बताए ।
यस्तै नापी कार्यालय सुर्खेतको संरचनामा पनि क्षति भएको छ । कार्यालयका प्रमुख दिनेश भण्डारीले कार्यालयको पुनर्निर्माणको काम भइरहेको बताए । उनका अनुसार सेवाग्राहीलाई सेवा दिन अझै सकिएको छैन । अहिले कार्यालयमा २५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राहीलाई सुरुमा नक्सा वितरणको काम गर्न सकिन्छ कि भनेर सबै कर्मचारीलाई जग्गाको प्लट रजिस्टर पुनस्र्थापनाको काम गरिएको छ । आगजनीबाट महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि बचेका स्थानको प्लट रजिस्टरको पुनस्र्थापनाको काम गर्न सकिए सेवाग्राहीलाई नक्सा वितरण गर्न सकिने लक्ष्य लिइएको उनको भनाइ छ । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । आन्दोलनका क्रममा कार्यालय पूर्ण रूपमा ध्वस्त छ । कागजात तथा सर्भरहरू नष्ट छन् । जलेका कागजात हेर्दा पाँच प्रतिशत मात्रै काम लाग्ने खालका रहेको जानकारी दिँदै कार्यालय प्रमुख भण्डारीले अन्य सबै जलेर खरानी भएको उल्लेख गरे ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय सुर्खेतका संरचनामा पनि क्षति पुगेको छ । अहिले उक्त कार्यालय पुनर्निर्माण गर्ने तयारी गरिएको छ । अन्य सरकारी कार्यालयहरूले समेत पुनर्निर्माणको तयारी थालेका छन् ।
गत भदौ २४ गते जेन–जी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्यांकन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । यसमा राजनीतिक दलका कार्यालय र निजी घरको क्षतिको विवरण समावेश गरिएको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आएको तथ्याङ्कअनुसार संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण उल्लेख छ ।
सबैभन्दा धेरै क्षति वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । नगरपालिकाका सूचना प्रविधि शाखाका डिल भण्डारीका अनुसार वीरेन्द्रनगर नगरपालिका कार्यालय १ नम्बरदेखि १२ नम्बरसम्मका वडा कार्यालय र सिटी हलसमेत गरी ११ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ । सबै क्षतिको मूल्याङ्कन गरी करिब ११ करोड जति आएको उनको भनाइ छ । कर्णाली प्रदेशसभा सचिवालयको बढी क्षति भएको छ । यहाँ तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रूपैयाँ बराबरको क्षति भएको छ । नापी कार्यालयको दुई करोड ६३ लाख ६० हजार नौ सय ९० रूपैयाँको क्षति भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको एक करोड ३२ लाख १६ हजार ६१ रूपैयाँको क्षति विवरण प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री निवाससमेतको गरी एक करोड ७९ हजारको क्षति भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको एक करोड १४ लाख ६० हजारको क्षति भएको छ । जिल्ला समन्वय समितिको चार लाख तीन हजार, सडक डिभिजन कार्यालयको दुई लाख चार हजार, भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाको ६० हजार, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चार लाख १० हजार र सामाजिक विकास मन्त्रालयको तीन लाख ५९ हजार नौ सयको क्षति भएको छ ।
प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार ०९:३७
साझा बिसौनी ।