सडक मर्मतमा आफैँ जुटे स्थानीय

सुर्खेत: पटक–पटकको आग्रहपछि पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै वीरेन्द्रनगरका स्थानीय नागरिक आफै सडक मर्मतमा जुटेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ को शुभकामना टोलका स्थानीयले आफँैले बजेटको व्यवस्थापन गरेर सडक मर्मत गरेका छन् ।

वर्षाका कारण सडक बिग्रिँदा नागरिकलाई सास्ती हुँदै आएको थियो । पटक–पटक ध्यानाकर्षण गराउँदा वडा तथा नगरपालिकाले बेवास्ता गरेका कारण स्थानीय सडक मर्मत गर्नका लागि आफैँ जुटेका हुन् । प्रदेश राजधानीकै सडक नबनेपछि नागरिकहरूले रकम संकलन गरेर सडक मर्मत गर्ने गरेको स्थानीय टिकाराम पौडेलले बताए । चाडपर्वको मुखैमा सडक अव्यवस्थित बनेपछि रकम संकलन गरेर सडक मर्मत गरिएको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले वर्षायाम र चाडपर्वमा भने सडक सरसफाइको काम गर्ने गरेको छ । हरेक वर्षहरूमा नगरपालिकाले आश्वासन दिने गरेको भएपनि आफूहरूको समस्यामा बेवास्ता गरिरहेको स्थानीयको भनाइ छ । बजारसँग जोडिएको वडा भएपनि गुणस्तरीय सडक नहुँदा यात्रा गर्दा बाह्रैमास सास्ती खेप्नु परिरहेको स्थानीयहरू बताउँछन् ।

स्थानीय सरकारले बिग्रेको सडक स्तरोन्नतिमा चासो नदेखाएपछि आफूहरू सडक मर्मतमा जुटेको स्थानीय पदमबहादुर रावलले बताए । नगरपालिका र वडा कार्यालयले सडक मर्मतमा बेवास्ता गरेको उनको आरोप छ । स्थानीयवासीबाट चन्दा संकलन गरी जेसिबी मेसिन भाडामा लिएर एक किलोमिटर सडक मर्मत गरिएको हो ।

शुभकामना टोल(बी) बाट चाउमीन उद्योगसम्म गरी एक किलोमिटर सडक मर्मत गरिएको छ । अघिल्ला वर्षहरूमा पनि स्थानीयहरूले रकम संकलन गरेर सडक मर्मत गर्ने गरेका थिए । यो सडकमा २०८० वैशाखमा नगरपालिकाले एक सय २० मिटर सडकको ग्रावेल गरेको थियो । त्यसयता मर्मतका काम भएका छैनन् । बस्ती बढ्दै जाँदा सोही अनुसारका सडक संरचना नहुँदा नागरिकलाई आउँजाउँ गर्न समस्या हुनेगरेको छ । ‘नगरपालिकाले जनताको दुख नदेखपछि गाउँले मिलेर जुटाएको रकमबाट सडक मर्मत गरेर यात्रा सहज बनाउने प्रयास भइरहेको छ,’ रावलले भने ।

हिउँदमा जसोतसो गाडी आउजाउ गरेपनि वर्षायाममा नागरिकले निकै नै सास्ती खेपेर यात्रा गर्न बाध्य भएका छन् । सडक मर्मतका लागि करिब एक लाख ३० हजार रूपैयाँ संकलन गरिएको छ । पर्याप्त रकम नभएपनि सडक छेउका डाँडा काट्ने र खाल्डाखुल्डी पुर्ने काम मात्रै गर्न सम्भव भएको उनले जानकारी दिए ।

वीरेन्द्रनगर–३ का वडाध्यक्ष विनोदसिंह विष्टले सीमित स्रोत र साधन हुने वडाले सक्दो प्रयास गरिरहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा जेन–जी आन्दोलनका कारण कुनैपनि काम भएका छैनन् । आवश्यकताका आधारमा प्राथमिकरण गरेर योजना कार्यान्वयन गर्ने गरिएको उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले पनि नागरिकको सहजताका लागि सडक मर्मतका काम गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा समेत उक्त शीर्षकमा बजेट विनियोजन गरिएको छ । वडाबाट आएका सिफारिस र आवश्यकताका आधारमा योजना कार्यान्वयन गरिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।

यद्यपि, घर नजिकको सडक मर्मतका लागि स्थानीय आफँै जागरुक हुन थालेका छन् । सडक बनाएको तीन–चार महिना नबित्दै सडकहरूमा भ्वाङ पर्न थालेपछि स्थानीय युवाहरूले सडकका खाल्डाखुल्डी पुरेका छन् । खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भन्दै पिपिरास्थित मुस्लिम समुदायका युवाहरूको सक्रियतामा खाल्डाखुल्डी पुर्ने काम गरिएको छ । केही दिन अघि वीरेन्द्रनगरको मुख्य बजार बुद्धपथमा पनि स्थानीयले आफँै सडक मर्मत गरेका थिए । नयाँ निर्माण भएका संरचनाले साना सवारी साधन र पैदलयात्रीलाई सकस हुन थालेपछि स्थानीय मिलेर सहज आउँजाउँका लागि सडक मर्मत गरिएको स्थानीय कृष्ण रेग्मीले बताए । उनले भने, ‘बुद्धपथको बाटो कालोपत्रे हुनेमा स्थानीय खुसी थिए, तर विकासका नाममा गरिएको लापरबाहीका कारण धेरै समय नागरिकले सास्ती भोगे, यस अवधिमा धेरैलाई हारगुहार गरियो तर हाम्रो आवाज कसैले सुनेन, आखिर राजधानीमा पनि जनताका आवाज सुनिदिने कोहि नपाइदो रैछ अनि दुरदराजका के कुरा गर्नु, आफँैले सहज आउँजाउँका लागि अस्तव्यस्त सडक संरचनाको निर्माण गरेका छाैँ ।’

गुणस्तरीय काम नर्गदा एक वर्ष नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने र कालोपत्रे उप्कने गरेका छन् । त्यसले नागरिकलाई सास्ती दिइरहेको छ । प्रदेश तथा स्थानीय सरकार बेखबर बन्दा नागरिक आफँै जागरुक बनेर सडक मर्मको काम गरिरहेका छन् ।

प्रकाशित मितिः   ३ कार्तिक २०८२, सोमबार ०५:१०